यस्ता छन् श्रममन्त्री श्रेष्ठका रेमिटान्स बढाउने दर्जन प्रस्तावहरू

  २०७८ चैत २४ गते १६:४३     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे विभिन्न प्रस्ताव गरेका छन् ।

अर्थमन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिटान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले राखेका प्रस्तावहरू यस्ता छन् :

  • वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने ।
  • विदेशबाट पैसा पठाउदा लाग्ने सेवाशुल्क हटाउनुपर्ने
  • विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने ।
  • विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने ।
  • औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने ।
  • औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुन: श्रम स्वीकृति लिंदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने ।
  • वार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने ।
  • औपचारिक माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेहरूलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने ।
  • नेपाल फर्केर उद्यम गर्नेहरूलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विनाब्याज उपलब्ध गराउने ।
  • वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने ।
  • सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने ।
  • वैदेशिक रोजगारीमा जान विद्यमान प्रकृयालाई सहज र सरल बनाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.