शिवपुरीको लालिगुराँस र राइडर कोरियन चन्द्रबहादुरको नेपाली भाषा

  २०७८ चैत १४ गते १७:०७     राजिव न्यौपाने

काठमाडौं । शनिबार साप्ताहिक विदा हुने गर्छ । तर, पत्रकारिता पेशामा के विदा, के कार्यालय दिन । शनिबारकै लागि मोटरहेड बाइकको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले एउटा निम्ता पाठाएको थियो । राइडरलाई सहभागी गराएर एड्भेन्चर राइड गर्ने कार्यक्रम मोटरहेडको रहेछ ।

एडभेन्चर राइडमा सहभागी हुने मौका पाएको थिइनँ । त्यसैले साप्ताहिक विदाको दिन भए पनि जान्छु भन्ने लाग्यो । र, गत शनिबार मोटरहेडको एडभेन्चर राइडमा सहभागी हुने भइयो ।

शनिबार विहान ७ बजेतिर मोटरहेडको शोरुम धोविघाटमा पुगें । म पुग्दा केही राइडरहरू आइपुगेका थिए, केही आउने क्रममा ।

मोटरहेडका महाप्रबन्धक उज्ज्वल जोशीसँग र केही राइडरसँग परिचय भयो । केहीबेरमा सबै राइडरहरु आइपुगे । राइडर आइपुगेपछि यात्राको बारेमा जेनेसिस एड्भेन्चर टुरका प्रबन्धक रूपक रोक्काले ‘ब्रिफिङ’ गरे । उनी पनि राइडर नै रहेछन् ।

म राइडर लेखनाथ पौडेलको बाइकमा बसें । बिहान ८ बजे धोविघाटदेखि मेलम्चीको चिसापानीसम्मको हाम्रो यात्रा सुरु भयो । यो रोमाञ्चक मोटरसाइकल यात्रामा ८ जना राइडर र म सहित ११ जना निस्क्यौं ।

बिहानीको खाजा जेनेसिस क्याफेमा खाने योजना थियो । उक्त क्याफेमा हामी पुग्यौं । सो क्याफेले राइडको व्यवस्थापन गरेको रहेछ । विहानीको खाजा खाएर हामी गन्तव्यतिर लाग्यौं ।

राइडर लेखनाथ पौडेल र मेरो दोस्ती जम्यो । यात्रामा रमाइला–रमाइला गफ हान्दै अघि बढ्यौं । हामी अघि परेछौं । अरू राइडरहरू पनि पछिपछि आउँदै थिए । हामी दुईको गफगाफको क्रममा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पुग्यौं ।

शिवपुरी क्षेत्र हाइकिङको लागि प्रसिद्ध छ । त्यसैले हाइकिङ जानेहरूको पनि सो क्षेत्रमा निकै भिड थियो । सायद शनिबारको दिन भएकोले होला, भीड अलि बढी नै देखिन्थ्यो । निकुन्ज क्षेत्रमा पस्न टिकट लिनुपर्छ । आयोजकले टिकट लिउन्जेल हामी एकापसमा गफियौं ।

एकजना राइडर कोरियन रहेछन् । २५ वर्षदेखि नेपालमा बसेका ती कोरियन साथीको नेपाली नाउ पनि रहेछ । उनलाई सबैले चन्द्रबहादुर लिम्बु भनेर चिन्दा रहेछन् । उनले बोलेको नेपाली भाषामा बेग्लै मिठास थियो । खासमा भन्ने हो भने म उनको फ्यान भइसकेको थिएँ, उनको नेपाली बोल्ने शैलीले गर्दा ।

भित्र पस्ने पास आयो । मख्ख पर्दै राइडर पौडेलको पछाडि बसेँ । निकुञ्जभित्रको बन र फुलेका लालिगुराँसले मन लोभ्यायो । किन हो किन फुलेको लालिगुराँस देखेपछि मेरो मन बेग्लै किसिमले पुलकित हुने गर्छ । यो यात्रामा पनि त्यस्तै भयो ।

ठाउँ ठाउँमा बस्दै, रमाइलो गर्दै अघि बढ्यौं । निकुञ्ज क्षेत्रको त्यो रमाइलो यात्रा कत्ति चाढै सकियो जस्तो लाग्यो । दिउँसोको साढे १२ बजे मेलम्ची नगरपालिकाको चिसापानीमा पुग्यौं । त्यहीको एउटा होटेलमा खाना खाइयो ।

चिसापानी पुग्दा थकित भइसकेका थियौं । धुलाम्मे कच्ची बाटो । मोटरसाइकलको यात्रा । यात्रा त वास्तवमै अविष्मरणीय भइसकेको थियो । कोरियन राइडरले त एक ठाउँमा बाइक पल्टाए पनि । उनलाई चोट नलागेकोले उनी लडे पनि हाम्रो लागि रमाइलै गरेजस्तै माहोल सिर्जना भयो । चिसापानीको होटल पुग्दा धुलोले अनुहार नदेखिने जस्तो भएको थियो धेरै जनाको । कच्ची बाटोमा बाइकको यात्रामा जे जे हुने गर्छ, सबै भयो ।

आफ्नो त जन्मस्थान भोजपुर । मेलम्ची पुगेको थिइनँ । त्यसमा पनि मोटरसाइकल राइडरसँगको पहिलो यात्रा थियो मेरो । त्यसैले बढी रोमान्चित थिएँ । नयाँ ठाउँ भएकाले उत्साहित थिएँ । होटलकी दिदीलाई सोध्दै होटेलको छतबाट देखिने दृश्यको अवलोकन गर्न चुकिनँ ।

खाना खाइसक्दा दिउँसोको १ बजिसकेको थियो । खाना खाएर केही समयपछि साथीहरू फोटा खिच्न व्यस्त भए । दिउसोको २ बजेपछि हामी काठमाडौं फर्किन लाग्यौं । चैतको घाममा चिसो हावा, पहाडि भेगको धुलौटे बाटोमा मोटरसाइकलको यात्रा, यात्रामा आइपर्ने रोमाञ्चक चुनौती, शिवपुरी राष्ट्रिय निकुन्जभित्रको लालिगुराँस । मेरो मनमा यस्तै यस्तै मात्रै घुमिरहेको थियो ।

बेलुकाको ५ बजे काठमाडौंको जेनेसिस क्याफेमा आइपुग्यौं । उक्त क्याफेमा आएर बेलुकीको खाजा खायौं । खाजा खादै यात्राको बारेमा गफ हुन थाल्यो ।

खाजा खाएर यात्राका अनुभव सुनाउँदै प्रबन्धक सुरेन्द्र कार्की भने – हामीलाई आशा छ, यो यात्राले राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरूबीच अद्वितीय भातृत्वको विकास गराउने छ, सडक र रमणीय स्थानहरूले निश्चित रूपमा मोटरहेड मोटरसाइकलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ ।

राइडर विकास केसी आफ्नो अनुभव सुनाउन तम्सिए । मुसुक हास्दै भने– आजको यात्रा अविस्मरणीय रह्यो, यस्तो यात्रा तय गर्नाले विभिन्न ठाउँको अवलोकन गर्न सकिनेछ, बेला बखतको यो रमाइलो यात्राले मन पनि हर्षित भएको छ ।

कोरोनाकालमा दैनिक जीवनयापन, व्यावसायिक गतिशीलताका विषयमा अन्तरक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धन र सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिबार उक्त राइड कार्यक्रम आयोजना गरिएको मोटरहेड कम्पनीका प्रतिनिधि सुनाउँदै थिए । र, कार्यक्रम पनि करिब टुंगिदै थियो ।

कार्यक्रम सकियो । छुट्यौं । यात्राको बारेमा मनमा धेरै कुरा खेल्दै थिए । र, मोटरसाइकलका बारेमा पनि कुरा खेले मनमा । फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स । मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुने देखियो । मोटरहेडका बिक्री प्रबन्धक सुरेन्द्र कार्कीले मोटरसाइकलको बारेमा बताएको सम्झदा मलाई पनि यही मोटरसाइकल किनौं किनौं लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.