हिरो मोटोकर्पले उद्घाटन गर्यो एसेम्बली प्लान्ट, तीन महिनाभित्र १०० बढी आउटलेट खोल्दै

  २०८१ वैशाख ९ गते १९:३८     विकासन्युज

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनी हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ । नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको हो ।

हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सप्लस २०० ४भी, सुभर स्प्लेन्डर, स्प्लेन्डर प्सल मोटरसाइकल र जुम ११० स्कुटर बजारमा ल्याएको छ । अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ ।

हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ । सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व-स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्वपूर्ण बजार हो ।’

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं ।’

यस नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ जसले गर्दा उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्ने कम्पनीको दावी छ । साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू सम्बोधन गरिएको सुनिश्चित गर्नेछ । सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने कम्पनीको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.