राष्ट्र बैंकले कडाइ गरे पनि आयात घटेन, फागुनमा साढे १ खर्बको आयात

  २०७८ चैत ७ गते १८:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै विभिन्न ४७ वस्तुको आयातमा कडाइ गरे पनि वस्तु आयत भने बढेको बढ्यै छ । राष्ट्र बैंकले २ पटक परिपत्र जारी गर्दै विभिन्न वस्तुको आयातमा कडाइ गरेको थियो । तर, अझै पनि आयात बढिरहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको फागुनको तथ्यांक अनुसार १ खर्ब ६१ अर्ब २७ करोड बढीको आयात भएको छ । गत माघ महिनामा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

बैंकले गत माघ २६ गते २७ र माघ ५ गते २० वस्तु गरी ४७ वटा होर्मोनिक (एचएस) कोडबाट एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । बैंकको कडाइपश्चात माघ महिनामा आयातमा केही कमी आएता पनि फागुन महिनामा आयातमा कडाइको असर देखिएको छैन् ।

पछिल्लो समय रुस युक्रेन युद्धका कारण अधिकाशं आयातित वस्तुको मूल्यमा वृद्धि हुँदा आयातमा असर नदेखिएको भन्सार विभागका अधिकारीहरू बताउँछन् ।

बैंकको कडाइको असर माघ महिनामा देखिए पनि फागुन महिनामा आयात उच्च भएको हो ।

गत पुस महिनामा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख रुपैयाँ, मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोड ३९ लाख रुपैयाँ, कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड १० लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

यस्तै, असोजमा १ खर्ब ६४ अर्ब ६१ करोड, भदौ महिनामा १ खर्ब ६३ अर्ब ७८ करोड ५३ लाख र साउन महिनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

राजश्वमा वृद्धि

बैंकले कडाई गरेपछि आयातसँगै राजश्व संकलनमा समेत वृद्धि भएको छ । फागुन महिनामा मात्रै ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । गत माघ महिनामा ३६ अर्ब ७ करोड बराबरको राजश्व संकलन भएकोमा फागुन महिनामा ३ अर्ब बढीले राजश्व संकलनमा वृद्धि भएको हो ।

गत पुस महिनामा ४० अर्ब २७ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो । यस्तै, चालु आर्थिक वर्षको सुरुको महिना (साउन) मा मात्रै ३९ अर्ब १९ करोड बढी राजश्व संकलन भएको थियो ।

राष्ट्र बैंकले चकलेट, चुइङगम, इनर्जी ड्रिंग्स, चुरोट, अत्तर, श्रृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्तिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा सतप्रतिशत र गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो ।

यस्तै, बैंकले समुन्द्री जीवका माछा मासु, दुधको धुलो, अण्डा, गुलाफलगायतका फून, सु्केको तरकारी, सुपारी, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर, अचार सोया सस, जुस, कुकुरका खानालगायत पिठो, प्लास्टिकको सामान, ट्वाइलेट सप र अन्य, मेडिकल पञ्जा, एप्रोन र अन्य, ह्यान्ड ब्याग, कार्पेट, पर्दा, ब्लयाङ्केट, सुनका गरगहना, घडीलगायत अन्य वस्तुको आयातमा कडाइ गरेको थियो ।

One comment on "राष्ट्र बैंकले कडाइ गरे पनि आयात घटेन, फागुनमा साढे १ खर्बको आयात"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.