काठमाडौंको फोहोरलाई उर्जामा परिणत गर्दै सरकार, २० वर्षसम्म फोहोरको सकस नहुने

  २०७८ चैत ३ गते १३:०३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका भित्रको फोहोरलाई प्रशोधन गरेर ऊर्जा उत्पादन गरिने भएको छ । उपत्यका भित्रको फोहोरबाट ऊर्जा अन्तर्गत ग्यास र प्राङ्गारिक उत्पादन गर्न लागिएको हो ।

नेपवेस्ट नामक निजी कम्पनीले फोहोरबाट ग्यास उत्पादन गर्ने योजना बनाएको काठमाडौं महानगरका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापाले बताए ।

थापाका अनुसार लगानी बोर्डबाट नै उक्त कम्पनीलाई छनोट गरी ग्यास, मल र फोहोरको व्यवस्थापन पनि गर्ने भनेर प्रक्रिया अगाडि बढेको छ । तर निर्माण प्रक्रिया र निर्णय गर्नमा बोर्ड अलमलिएको छ ।

लगानी बोर्डले निर्णय गर्न नसकेपछि अहिले काठमाडौं महानगरपालिकाले नै निर्णय गर्ने जिम्मा सुम्पिएको र फाइल पनि पठाएको थापाले जनाए ।

‘महानगरपालिकामा निर्णय गर्ने फाइल आइपुगेको छ, महानगरपालिकाले पनि अरू छिमेकी पालिका समन्वय र निर्णय गरी बोर्डलाई पठाउने भनेर छलफल चलिरहेको छ,’ उनले भने ।

फोहोरको संकलन, ढुवानी र प्रशोधन गर्ने कामलाई परिवर्तन गरी फोहोरलाई ऊर्जाको रूपमा विकास गर्न सो परियोजनाको काम अगाडि बढाउन लागिएको हो ।

उक्त कम्पनीले बन्चरे डाँडामा नै व्यवस्थापन गरी ग्यास निकाल्ने योजना बनाएको छ । बन्चरे डाँडामा नै सहरी विकास मन्त्रालयले पनि ल्यान्डफिल्ड साइडको पहुँचमार्गको निर्माण गरी रहेको छ ।

‘नेपाल सरकाले उक्त कम्पनीलाई साइटको उपलब्ध गराइदिनु पर्ने हुन्छ, साइट उपलब्ध गराए पश्चात् सो कम्पनीले लगानी गरी ग्यास उत्पादन गर्ने र मल बनाउने लगायतका संरचनाहरू बनाउँछ, उपत्यका भित्रको फोहोरको व्यवस्थापन पनि उसैले गर्छ,’ उनले भने ।

उक्त काम नहुन्जेल महानगरपालिकाले बन्चरे डाँडामा नै फोहोरको व्यवस्थापन गर्ने खोजेको र फोहोर व्यवस्। थापन गर्ने काममा पनि हाल स्थानीयले विरोध गरिरहेको थापाले बताए ।

उक्त कम्पनीलाई लगानी बोर्डले स्वीकृति दिएपछि निर्माणको काम सुरु हुने पनि थापाले जनाए । सो स्वीकृति पाएपछि कम्पनीले ग्यास उत्पादन गर्ने आवश्यक तयारी थाल्ने छ । अव्यवस्थित फोहोर प्रयोग गरी ऊर्जा उत्पादन गर्ने उद्देश्यले राखेको थापा बताउँछन् । यस विषयमा सरकारी विभिन्न निकायसँग छलफल महानगरले छलफल गरिरहेको छ ।
काठमाडौं महानगरपालिका भित्र वषैंनी फोहोरको समस्या आइरहन्छ । महानगरले फोहोरको व्यवस्थापन गर्न नसक्दा सडकका धेरै ठाउँमा फोहोरको थुप्रो लाग्ने गरेको छ । फोहोर व्यवस्थापन तथा संकलनको पारदर्शिताको अभावमा काठमाडौंवासी प्रत्येक बिहान दुर्गन्धित हावामा स्वास फेर्न बाध्य छन् ।

निश्चित डम्पिङ साइट नहुँदा वर्षौदखी आलोचित बन्दै आएको महानगर प्लान्ट सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुनेमा ढुक्क छ । महानगरले विगत लामो समयदेखि दीर्घकालीन फोहोर व्यवस्थापनमा चासो देखाए पनि पूरा हुन सकेको थिएन । फोहोर व्यवस्थापनमा महानगरलाई सकस नै परिरहेको देखिन्छ ।

महानगरले फोहोरको व्यवस्थापन गर्न नसक्दा वर्षींनी आलोचना पनि खेपिहेको छ ।

बन्चरेडाँडामा ल्यान्डफिलसाइट निर्माण तीव्रता

नुवाकोट र धादिङ जिल्लामा पर्ने बन्चरे डाँडामा बनिरहेको ल्यान्डफिल साइट निर्माणले गति लिएको छ । समयमै काम सक्न तीव्र गतिमा काम भइरहेको सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले बताए ।

शर्माका अनुसार बन्चरे डाँडामा निर्माणाधीन अवस्थामा रहेको ल्यान्डफिल्डसाइटको निर्माण असार भित्रमा निर्माण सम्पन्न हुनेछ । निर्माण कम्पनीको ठेक्काका समय अवधि पनि सकिन केही महिना बाँकी रहेको छ ।
‘केही समय अगाडि स्थानीयको विरोधका कारण काम अगाडि बढाउन सकेका थिइनौं, हाल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माण हुँदै गरेको ल्यान्डफिल्ड साइटको कार्य द्रुत गतिमा बढी रहेको छ,’ उनले भने ।

केही समय अगाडि सहरी विकास मन्त्रालयकी मन्त्री रामकुमारी झाँक्री पनि उक्त क्षेत्रमा पुगि साइटको काम छिटै सक्न निर्देशन दिएकी थिइन् ।

१५ वर्ष अघि देखि निर्माण सुरु सो योजनाको काम हालसम्म पनि सकिएको छैन । कोभिड र स्थानीय बासिन्दाको विरोधका कारण चाडै काम नगर्न नसकेको मन्त्रालयले जनाउँदै आएको छ ।

बन्चरे डाँडाको स्यानेटरी ल्यान्डफिल्डको निर्माणका लागि सरकारले स्थानीयको १७ रोपनी जग्गा अधिग्रहण गरेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको सो ल्यान्डफिल्ड साइटमा २० वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने छ ।

तर, स्थानीय भने बन्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलन गर्दै आएका छन् । सरकारले नुवाकोटलाई फोहोर फाल्ने ठाउँ मात्रै बनाएको तर त्यहाँको विकास निर्माणमा चासो नदिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

सरकारले उक्त ल्यान्डफिल्ड साइटसम्म पुग्ने बाटो पिच गरेको तर नजिकैका अन्य सडकको स्तरोन्न्तीमा चासो नदिएको नागरिकको गुनासो छ । सडकका साथै विकासका अन्य पूर्वाधार निर्माणमा पनि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.