सुनको अण्डा दिने कुखुरा मार्न खोजे उद्योगी व्यापारीले- उपेन्द्र पौडेल

  २०७८ फागुन १८ गते १५:४०     विकासन्युज

पछिल्लो समय अर्थतन्त्रमा संकटको सूचक देखिएका छन् । विदेशी मुद्राको संचिति घटेको छ । रेमिट्यान्स आय पनि घट्न थालेको छ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । वित्तीय क्षेत्रमा कर्जा लगानीयोग्य पुँजीको अभाव छ । बैंकहरुले निक्षेप १२ प्रतिशतमा लिइरहेका छन् । कर्जाको व्याजदर वृद्धि गरेको भन्दै उद्योगी व्यवसायीले बैंकिङ क्षेत्रको आलोचना गरिरेका छन् । प्रस्तुत छ यसै सन्दर्भमा नविल बैंकका अध्यक्ष, नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष, ३ दशकभन्दा बढी बैकिङ क्षेत्रमा काम गरेको अनुभवी बैंकर्स उपेन्द्र पौडेलसँग गरिएको विकास वहस यस पटक ।

तपाईंको व्यक्तिगत र पेशागत जीवन धेरैको लागि पछ्याउन लायक छ । तपाईंको पारिवारिक जीवन कस्तो छ ?

मैले सरल जीवन बिताइरहेको छु । परिवारमा दुई छोरीहरु र श्रीमती छन् । भाईहरु र प्यारेन्ट (अभिभावक) सँगै बस्दै आएको छु ।
म उमेरले धेरै ठूलो भइकसेपछि विद्यालय गएँ । सुरुमा मैले मामा घरको हजुरबुवासँग गुरुकुल शिक्षा लिएँ । उहाँसँग बसेर नै पढेँ । एकैचोटी ६ कक्षामा भर्ना भएँ । मैले स्नातक गएपछि केही कुरा ‘क्याचअप’ गरेँ । मेरो पढाईको बेस खासै राम्रो रहेन । तर मैले राम्रो संस्कार पाए । नैतिक शिक्षा धेरै सीकियो । मेरो व्यक्तिगत विकासमा पनि यसले धेरै सहयोग पुग्यो । मेरो ‘ग्रोथ’ सकारात्मक हिसावबाट नै भयो ।
एसएलसी पढेपछि डाक्टर बन्ने योजना थियो । तर, जम्मा ८ जनाको कोटाको कारण नाम निकाल्न सकिएन । त्यसपछि कमर्स नै पढेँ । सुरुमा सोल्टी होटलमा ६ वर्ष जति काम गरेँ । त्यसपछि बैंकमा काम गर्नु पर्छ भन्ने मानसिकताका साथ एउटा सरकारी (वाणिज्य) बैंकमा काम सुरु गरेँ । त्यहाँ पनि १÷२ महिना मात्रै काम गरेँ । त्यस बैंकमा काम गर्ने वातावरण पनि राम्रो थिएन । सिक्ने मौका पनि नपाएपछि त्यहाँबाट बाहिरिएकोह हुँ । म फेरि सोल्टी होटलमै फर्केँ ।

सोल्टी होटललमा काम र कल्चर पनि सिकियो । त्यसपछि फेरि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम सुरु गरेँ । त्यहाँ निरन्तर १४ वर्ष काम गरेँ । त्यहाँ पनि छोडेर नेपाल मर्चेन्ट बैंकिङ (एनएमबी)मा आएँ । त्यतिबेला एनएमबी फाइनान्स कम्पनी थियो । हामीले फाइनान्स कम्पनीलाई स्तरवृद्धि गरेर एनएबबी बैंक बनायौं ।

त्यतिखेर धेरै चुनौति थिए । त्यतिखेर धेरै बैंक समस्यामा परेका थिए । धेरैले अब पालो एनएमबीको पनि भनेको सुनिन्थ्यो । तर, हामीले हतार गरेनौं । मलाई थाहा थियो एनएमबीको अवस्था कस्तो थियो भनेर । बैंकहरुले आफ्नो वयवसायलाई आक्रमक रुपमा देखाउँथे । तर, म त्यो बेला पनि बैंकिङ सेवा भनेको अल्पकालीन नभएर दीर्घकालिन व्यवसाय हो भन्ने गर्थें । त्यतिखेर मेरो आलोचना पनि भयो होला । तर, म के गरिरहेको थिएँ मलाई मात्रै थियो । मलाई विदेशी बैंकहरुको कल्चर र अभ्यास पनि थाहा थियो । फेरि हामी मर्जरमा गयौं । मर्जर सँगसँगै भ्यालु बेस बैंकिङको सदस्य पनि भयौं । अहिले पनि एशियन प्यासिफिक रिजनबाट मैले प्रतिनिधित्व गरिरहेको छु ।

नेपाल मर्चेन्ट बैंक स्तरोन्नतीको वर्षहरुमा वित्तीय क्षेत्रमा ठूलो संकट आएको थियो । किष्ट, नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, गोर्खा विकास बैंक, विभोर विकास बैंक, पिपुल्स फाइनान्स जस्ता धेरै संस्थाहरु संकटमा परे । । एउटा वित्तीय कम्पनीबाट वाणिज्य बैंक बनेको नेपाल मर्चेन्ट बैंक पनि समस्यामा पर्न सक्छ भन्ने तपाईंलाई कहिल्यै लाग्यो कि लागेन ?

मलाई त्यस्तो कहिल्यै लागेन । हामीले अपग्रेड गर्नुभन्दा अगाडि पनि कमर्सियल बैंकबाट ४/५ जना मानिस ल्याइसकेका थियौं । अनुभवी मान्छेहरु थिए । सबै सेटअपका लागि हामी तयारी अवस्थामा थियौं । विस्तारै विकास गर्दै अगाडि बढ्दा हामीलाई समस्या आएन ।

तर, लगानीकर्ताबाट दवाव त थियो नि ?

हो, दवाव अवश्य थियो । तर, उहाँहरुको मप्रति विश्वास थियो । त्यतिबेला एनएबी फाइनान्सको सेयर पुँजी १३ करोड रुपैयाँ थियो । अपग्रेड हुँदा १३ करोडबाट २० करोड बनायौं । फेरी १ बराबर ४ हकप्रद सेयर जारी गरेर पुँजी १ अर्ब बनाएका थियौं । २० करोडबाट पूँजी बढाएर १ अर्बको पूँजी पुुुुुुुुग्दाको पुरानै अवस्थामा झै लाभांश बाँड्न सकिदैन भनेको थिएँ । सबै योजना अगाडि नै क्रिटल क्लिएर थियो । त्यतिखेर बैंकहरुको घरजग्गामा बढी लगानी थियो । हामीले त्यसो गरेका थिएनौं । बैंकिङ नै दीर्घकालीन लगानी हो भनेर मलाई राम्रोसँग थाहा थियो । हामीले शुरुदेखि नै उत्पादन मुलक क्षेत्रमा लगानीमा जोड दिएको थियौं । विदेशी साझेदार एफएमओको स्ट्याण्डर्डमा रहेर हामीले राष्ट्र बैंकले निर्देशन दिनु अघि नै उत्पादन मुलक क्षेत्रमा लगानी वृद्धि गर्दै लगेका थियौं ।

१७ वर्ष एनएमबी बैंकमा काम गर्दा तपाईं आफ्नो काम र भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ ? वा कतै चुकेँ जस्तो लाग्छ ?

म पुरै सन्तुष्ट छु । मैले बैंकलाई जुन ठाउँमा पुर्याउँछु भनेर योजना बनाएको थिएँ । त्यो भन्दा माथि पुरयाएँ । अर्को महत्वपूर्ण कुरा, कुनै संस्थामा नेतृत्व परिवर्तनपछि त्यो संस्थामा समस्या आयो भने त्यो नेतृत्वको असफलता हो । कुनै लिडरले संस्था छोडेर गइसकेपछि त्यो संस्थाले राम्रोसँग ग्रोअप गर्छ भने त्यो लिडरको सफलता हो । राम्रो काम गर्न सकेन भने त्यसको समस्या हो । एनएमबी बैंकका नयाँ लिडरसिपले पनि राम्रोसँग काम गरेकोमा म खुशी छु ।

तपाई अहिले नविल बैंकमा अध्यक्ष हुनुहुन्छ । १७ वर्ष एनएमबीमा सीईओ भएर काम गर्नु भयो । यी दुई संस्थामध्ये एउटा संस्थालाई छनोट गर्दा कसलाई रोज्नुहुन्छ ?


यो प्रश्नको उत्तर गाह्रो नै हुन्छ । नेपाली बैंकिङ क्षेत्रमा नबिल बैंकले ठूलो भूमीका खेलेको छ । मैले हाफ्नो कुर्सीमा बसेर मेरो दायित्व निर्वाह गरेको छु । जुनसुकै संस्थामा पनि गभरनेन्सको महत्वपूर्ण भूमिका हुन्छ । त्यो कर्तव्य मैले निर्वाह गरेको छु । यति भन्दै गर्दा आफूले लामो समय काम गरेको संस्थाको माया उतिकै हुन्छ नै । तर, यी दुई बैंक मेरो नजरमा समान छन् । यी संस्थामा मेरो आफ्नै किसिमको लगाव छ । अब नबिल बैंकलाई पनि अहिलेको लेभलबाट अर्को लेवलमा लैजाने मेरो आकांक्षा छ ।

नबिल बैंक अलग ढंगबाट जान्छ । बैंकले सस्टेनेवेल बैंकिमा जोड दिएको छ । नबिल स्कुल सोसिअल इन्टरपेनरको रुपमा पनि खडा भइसकेको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्व विद्यालयसँग पनि सम्झौता भइसेको छ । नाफा मात्रै होइन नेपाली बैंकहरुले अर्थतन्त्र र समाजमा ठूलो योगदान गरिरहेका छन् । तर, त्यसलाई हामीले सञ्चार गर्न सकेका छैनौं । यहाँ नाफाकै मात्रै चर्चा छ ।

बैंकहरुले असामान्य अवस्थामा पनि सामान्य अवस्थामा कमाए भनेर आलोचना पनि भैरहेको छ । बैंकमा ठूलो सेयर पुँजी छ, कोर क्यापिटल धेरै छ । विजनेश ठूलो छ । पुँजी र विजनेशको तुलनामा नाफा कम छ, लाभांश दर कम छ भनेर बैंकहरुले पनि सम्बन्धित सरोकारवालासँग भन्न/बुझाउन सकिरहेनका छैनन् नि ?

हामीले भनिरहेका नै छौं । बैंकको नाफाको बारेमा अरु देशमा पनि यस्तो कुरा आउँछ । तर नेपालमा धेरै भएको छ । तर उद्योग, व्यापार वा अन्य सेवा क्षेत्रले गरेको नाफाको तुलनामा बैंकको नाफा कम छ । लगानीकर्ताले पाउने प्रतिफल अरु क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रमा कम छ । तर, हाम्रो जस्तो सानो मुलुकमा बैंकहरुले कमायो भनेर निकै नकरात्मक रुपमा गरिने गरेको छ । यो बुझाइको कमी पनि हो ।

बैंकहरुले भन्दा उद्योग, व्यापार र सेवाका अरु क्षेत्रले बढी नाफा गरेको देखिन्छ । यूनिलिभर, डावर, सूर्य नेपाल, एनसेल, गोर्खा बुअ्ररी लगायत कम्पनीहरुको लाभांश बैंकहरुको तुलनामा बढी छ । तर बैंकहरुको नाफामा मात्र किन आलोचना हुन्छ ?

बैंक हामी हरेक व्यक्ति र क्षेत्रसँग ठोक्किन्छौं । बैंकिङको इम्प्याक्ट धेरै ठूलो छ । अरु क्षेत्र आफ्नो उपभोक्तासँग मात्रै जोडिन्छ । सूर्य नेपालको कुरा गर्ने हो भने चुरोट खाने मान्छेले मात्रै सरोकार राख्छ । तर, बैंक हरेकसँग जोडिएका छन् । यहाँ काम गर्ने कर्मचारी, नेतृत्वहरु बैंकका लागि नै मरिमेटी काम गरिरहेका छन् । लगानी त्यति धेरै छ । तर, सबै विषयहरु कसैले हेर्दैनन् । अब बैंकहरुले सोसियो–इकोनोमिक इम्प्याक्ट रिपोर्ट पनि दिनु पर्छ भनेर आइरहेको छ । सस्टेनेवल रिपोर्ट नबिल बैंकले पनि सुरु गर्दैछ । यसले अर्थतन्त्र, रोजगारी र अन्य क्षेत्रमा कति योगदान गरेको छ भन्ने तथ्यांक त्यसमा हुन्छ ।

नेपालमा नाफालाई नकारात्क ढंगले हेर्ने सोच, संस्कार किन विकास भैरहेको छ ?

यसमा एउटै कारण छ । समाजमा हुने र नहुनेबीचको विवाद भएर हो । हुनेहरु धेरै छैनन् । नहुने धेरै छन् । अमेरिकामा कसैले पैसा कमायो भने अरुले रिस गर्दैनन् । त्यहाँ हुने धेरै छन् । नहुने कम छन् । जापानमा पनि कसैले धन कमायो भनेर अरुले रिस गर्दैनन् । हुने र नहुनेबीचको ग्याप हामीले चिर्दै जानुपर्छ ।

नेपाल बंगलादेश बैंकलाई प्राप्तिसँगै अन्य बैंकसँग पनि मर्जर गर्ने केही योजना छ नबिल बैंकले ?

त्यो योजना पनि छ । हामीले पहिले एक चरणमा एनसीसी बैंकसँग पनि छलफल गरेका थियौं । त्यतिखेर हामीले एनसीसी र एनबी बैंक लिने कुरा गरेका हौं । दुइटै बैंकलाई लिने हाम्रो प्रयास थियो । अहिले पनि कोही आयो भने हामी तयार छौं ।

नबिल बैंकको विजनेसप्रति बैंकको प्रमुख लगानीकर्ता विनोद चौधरी नै असन्तुष्ट हुनुहुन्छ भनिन्छ नि ?

कसरी सन्तुष्ट नहुने कुरा आउँछ । हामीभन्दा ठूलो भोलुम र नेटवर्क भएको बैंकको लेभलमा हामी विजनेस गरिरहेका छौं । यसप्रति हामी सन्तुष्ट हुनुपर्छ । मसँग उहाँले भन्नु भएको छैन । हामी हरेक सूचकमा अगाडि जाने कुरा गरिहरेका छौं । अब मर्जरमा जाँदैछौं । नेपाल बंगलादेश बैंकसँग सम्झौता गरेर अगाडि बढिसकेका छौं । यसमा विभिन्न संयन्त्रहरुले काम गरिरहेका छन् । हामी भोलुम भन्दा पनि नम्बर वान र असल बैंक बन्ने हो । अहिले पनि नबिलको भोलुम पनि पुगिसकेको छ ।

नबिल बैंकको बार्डको संरचना पनि फरक खालको छ । हालका सीईओसहित ५ जना सीईओहरु बोर्डमा छौं । सबै प्रोफेसनल मान्छे छौं । अब हरेक बैंकमा पनि यो अभ्यास लागु गर्न जरुरी छ ।

पोफ्रेशनल व्यक्तिहरु बैंकको बोर्डमा जान केले रोकेको छ र ?

अहिले केही विषयहरु बाफियाले पनि रोकेको छ । यस विषयमा मैले राष्ट्र बैंकका गभर्नर ज्यूसँग पनि सल्लाह गरेको छु । अब यो वातावरण सिर्जना गर्नु पर्छ । बोर्डमा प्रोफेशनल डाइरेक्टरहरुलाई कसरी राख्ने भन्ने विषय सोच्नु पर्छ । विश्वका अन्य देशमा भएको अभ्यासलाई पनि हामीले हेर्नुपर्छ । भारतमा पार्टटाइम डाइरेक्टका रुपमा पनि काम गरिरहेका छन् । प्रोफिटको निश्चित रकम सञ्चालकलाई दिने अभ्यास पनि छन् । सञ्चालकले केही जोखिम अवश्यनै लिन्छन् । सल्लाहकार अर्थात व्यवस्थापनलाई केही खुराक दिने किसिमका व्यक्तिहरु सञ्चालकमा हुनु पर्छ । उनीहरुका लागि केही सहुलियतको व्यवस्था भने हुनुपर्छ ।

तपाईंको बैंकिङ करिअरमा धेरै संकटहरु आए होलान् । ती विविध संकटहरुमध्ये सबैभन्दा ठूलो संकट कुन थियो ?

अहिलेको यो अवस्था नै सबैभन्दा ठूलो संकट भएको मैले महसुस गरेको छु । अहिले बैंकिङको मात्रै भन्दा पनि माइक्रो इन्डिकेटरको समस्या हो । विदेशी विनिमय सञ्चिति ६ महिना आयात धान्न सक्ने अवस्थामा झरिसक्छ । राजनीतिक अन्डरस्टाण्डिङ सधैं कम छ । हामीले बुझाउन खोजेपनि अर्कै अर्थ लाग्छ । बैंकिङ बुझ्नै चाहिरहेका छैनन् । अहिले असहज अवस्थामा पनि बैकले कमाए भनिन्छ । तर किन र कसरी कमाए भन्ने विषय बुझ्न पनि चाहेनन् । एक ठाउँको गल्तिलाई सबै ठाउँमा जोड्ने प्रवृति छ । अहिलेको इकोनोमीको स्ट्रक्चरले गर्दा मलाई डर लागिरहेको छ ।

अहिले अर्थतन्त्रका हरेक सूचकहरु कमजोर बन्दै गइरहेका छन् । विजनेस कम्युनिटी तथा ऋणीहरुले पनि बैंकहरुको खुलेर आलोचना गरिरहेका छन् । यस्तो अवस्था कसरी आयो ?

त्यो गर्नु भनेको उहाँहरुले सुनको अण्डा दिने कुखुरीलाई मार्न खोज्नु हो । कुनै पनि व्यापारी मसँग तर्क गर्नु हुन्छ भने म तयार छु । उहाँहरु हिजो कहाँ हुनुहुन्थ्यो र अहिले कहाँ हुनुहुन्छ भन्ने कुरा मैले राम्रोसँग देखेको छु । आज बैंकलाई गाली गर्न कतिको न्यायोचित छ भन्ने कुरा बुझ्न आवश्यक छ । हिजो कर्जाको व्याज ६ प्रतिशत हुँदा अर्कोले साढे ५ प्रतिशत दिन्छ, तपाई के गर्नुहुन्छ भनेर बैंकसँग वार्गेनिङ गर्ने पनि उहाँहरु नै हो । हामीले ६ प्रतिशतमै निक्षेप संकलन गर्दा र ६ प्रतिशतमै कर्जा दिँदा त उहाँहरुले केही भन्नुहुन्न । राष्ट्र बैंकले ५ प्रतिशत स्प्रेडदर भने पनि बैंकहरु अहिले साढे ३ प्रतिशतमा काम गरिरहेका छन् । यस्तो हुँदा पनि उहाँहरुलाई चित्त बुझ्दैन । अब हामीले के गर्न सक्छौं । बैंकहरुले ११ प्रतिशतमा निक्षेप लिएका छन् । त्यसमा ८० प्रतिशत मात्रै लगानी गर्न पाउँछन् । त्यसको कष्ट कति आउँछ पनि हेर्नु पर्छ । कर्मचारीहरुलाई पनि पाल्नु पर्छ । अनि बैंकलाई मार्ने त ?

बढ्दो आर्थिक संकटको असर बैंकिङ क्षेत्रमा कस्तो पर्ला ?

यसले बैंकहरुमा प्रत्यक्ष असर पर्छ । पफर्मेनसमा पनि असर पर्छ । व्याजदर ससटेनेवलका लागि काम गर्नु पर्छ । बण्ड, ऋणपत्र, बचतपत्र लगायतका उपकरणहरु ल्याउनु पर्छ । सिस्टमलाई स्टेवल राख्नका लागि हामीले पनि केही कुराहरु छोड्नु पर्छ ।

One comment on "सुनको अण्डा दिने कुखुरा मार्न खोजे उद्योगी व्यापारीले- उपेन्द्र पौडेल"

  • सर्बसाधारण लगानीकर्ता says:

    आफुलाई फाइदा हुँदा खुला अर्थतन्त्रको दुहाई दिने अनि आफुलाई अफ्ठ्यारो पर्दा नियन्त्रित अर्थतन्त्र खोज्ने दुइ जिब्र ब्यापारीहरुको कारण नेपालको अर्थतन्त्र दुर्घटना उन्मुख भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X