एमसीसीले महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नेछ: महासंघ

  २०७८ फागुन १६ गते १७:१०     विकासन्युज

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा सभाको बैठकले अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन गरेपछि निजी क्षेत्रका व्यवसायीहरु उत्साहीत बनेका छन् ।

निजी क्षेत्रका उद्योगी व्यवसायीको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघले सोमबार विज्ञप्ती जारी गर्दै एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदनले व्यवसायीहरु उत्साहित भएको जनाएका छन् ।

ऊर्जा र सडक पूर्वाधार निर्माणमा अमेरिकाले दिने ५० करोड अमेरिकी डलर अनुदान लिनेसम्बन्धी कम्प्याक्ट सम्झौता आइतबार प्रतिनिधिसभा बैठकले अनुमोदन गरेको थियो ।

महासंघले प्रतिनिधिसभाबाट केही वूदाहरुमा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएपछि केही विषयमा रहेका सबै भ्रमहरु चिरिने जनाएको छ ।

नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौता अनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम संघीय संसदबाट सम्झौता अनुमोदन पश्चात शुरु हुनेछ । सम्झौता अनुमोदन पश्चात अव यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने महासंघको विश्वास लिएको छ ।

‘नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ’, महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन सकेको छैन । सम्झौता कार्यान्वयन हुदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्नेछ ।’

एमसिसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने महासंघले अपेक्षा गरेको छ ।

तीन दर्जन बढि मुलुकमा एमसिसि अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको भन्दै महासंघले पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि वहानामा प्रभावित हुन नहुने महासंघको भनाई छ ।

सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको संदेश विश्व समुदायसम्म पुुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने विश्वास महासंघको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.