मैले गरेजति काम अब आउने कुनै पनि मेयरले गर्न सक्दैनः मेयर शाक्य (भिडियो सहित)

  २०७८ फागुन १५ गते १२:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको ५ वर्षे कार्यकाल पूरा हुन अब करिव ३ महिना मात्र बाँकी छ । कार्यकाल सकिनै लाग्दा मेयर शाक्यको दौडधुप पनि बढेको देखिन्छ । मेयर शाक्यले चुनावी घोषणापत्र अनुसार काम नगरेको, जनप्रतिनिधिको आवश्यकता महसुस गरिएको ठाउँमा उनी देखा नपरेको जस्ता आरोप पनि खेपेका छन् । तर, उनी आफ्नो टीमले धेरै राम्रो काम गरेको दावी गर्छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मेयर शाक्यको ५ वर्षे कार्यकाल कस्तो रह्यो, उनले के कस्तो काम गर्न सके र संघीयतापछिको काठमाडौं महानगरको मेयरको रुपमा उनको अनुभव कस्तो रह्यो भन्ने लगायतका विषयमा विकासन्युजले गरेको विकास वहसः


स्थानीय तहमा जनप्रतिनिधिको रूपमा निर्वाचित हुन भएको ५ वर्ष पूरा हुनै लाग्यो । स्थानीय तहको निर्वाचन पनि घोषणा भइसकेको छ, तपाईंको कार्यकाल तपाईं आफैले समीक्षा गर्दा कसरी कस्तो पाउँनु हुन्छ ?

समीक्षा २ किसिमको हुन्छ । परीक्षार्थी आफैले समीक्षा गर्दा जाँचमा पास वा फेल भन्ने एउटा होला । अर्काे, परीक्षा लिने व्यक्ति वा संस्थाले यसको समीक्षा गर्ने भन्ने विषय भयो । मैले समीक्षा गर्दा मेरो कामबाट सबै नागरिक सन्तुष्ट हुन् भन्ने तरिकाले नै काम गरेको छु । हामी निर्वाचित भएर आइसकेपछि महानगर भित्र धेरै कामहरू गरिसकेका छौं । हामीले महानगरवासी खुसी हुने गरी काम गरिसकेका छौं ।

तपाईंले खुसी हुने काम गरेँ त भन्नु भयो । तर,सामाजिक सञ्जाल लगायतका संयन्त्र हेर्याे भने आलोचना धेरै सुनिन्छ नी ?

सामाजिक सञ्जाल पनि अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो । मलाई माया गर्ने यहाँ हजारौं छन्, गाली गर्ने १० जना हुन्छन् । सबैको प्रक्रिया आ–आफ्ना छन् । राम्रो प्रक्रियालाई ग्रहण गरी अगाडि बढ्नु पर्छ । मुख नै छाडेर हिँड्ने उसको मानसिकता त्यस्तो छ भने त्यसतालाई बढी प्राथमिकता दिनु हुँदैन । सबैको ध्यान नराम्रो नै प्रतिक्रिया तिर जान्छ । बौद्धिक र तार्किक भन्दा पनि मुख छाडेकोलाई तपाईँहरू बढी हेर्नु हुन्छ । यसमा हामी सबैको स्वभाव पनि फेरिनु जरुरी छ । मिडिया समाजको ऐना हो । ऐना पहिला सफा हुन पर्याे । त्यसपछि प्रतिविभेद हुने छाया पनि स्पष्ट देखिन्छ ।

५ वर्षको कार्यकालमा तपाईं मिडियामा त्यति धेरै आउनु भएन, सार्वजनिक रूपमा तपाईंको आलोचना गर्नेहरूको पनि टिक्का-टिप्पणी गर्नु भएन, तर अहिले तपाईं मिडियादेखि रिसाउनु पो भएको रहेछ की के हो ?

म कोहीसँग पनि रिसाएको छैन । मलाई विभिन्न विषयमा जोडेर मुख छाडेर के गर्नुहुन्छ । यस्ता कुरालाई सपार्ने हो भने सही आलोचना गर्नुपर्छ । उसलाई मुख छाड्ने हैन ।

एक सय दिने कार्यकालमा यो-यो काम गर्छु भनेको घोषणापत्र थियो, त्यो कत्तिको पुरा गर्न सफल हुनु भयो ?

म एउटा पार्टीको उम्मेदवार हुँ । हरेक पार्टीको चुनावी घोषणापत्र छ । चुनावमा जाँदा सबैले प्रतिबद्धता जनाएका छन् । म व्यक्तिबाट हैन पार्टीबाट उमेदवारमा उठेर निर्वाचित भएको हुँ । नेकपा एमाले पार्टीबाट उम्मेदवारी भई मेरो पार्टीले मेरो नेतृत्वमा तयार पारेको घोषणापत्र हो । जनताको बिचमा जाँदा हामी निर्वाचित भयौं भने यो-यो काम अगाडि बढाउँछौं भनेर तयार यो एउटा भिजन हो । त्यो अनुसार नै हामीले महानगर भित्र काम गरेका छौं । हामीले धेरै काम गरिसकेका छौं ।

तपाईं संलग्न हुन भएको पार्टीको अध्यक्ष प्रधानमन्त्री पनि हुनुभयो, उहाँले पनि रेलको कुरा गर्नु हुन्थ्यो, तपाईंको घोषणापत्रमा पनि रेलको कुरा थियो, जुन कुरा हामीले अलि बढी गरेछौं है ?

होइन, हामीले सही कुरा गरेका हौं । हामीलाई हतार भयो । यहाँको यातायात व्यवस्थापन गर्नको लागि माेनो रेल भनेका थियौं । मेरो र पार्टीको घोषणापत्रमा माेनो रेल छ । राजनीति गर्ने मानिसले एउटा सपना देख्नु पर्छ । त्यो सपना कहाँ पुर्याउने हो भनेर सोच त चाहियो नि । मैले भने जस्तो विकल्प अर्को सँग छ ? छ भने त्यो मलाई बताइदिनुहोस् । काठमाडौं महानगरपालिका भित्रको यातायात व्यवस्थापन गर्नको लागि यो भिजन चाहियो । भिजन भन्नाले एकै चोटि धेरै मानिस सवारी हुन सक्ने विकल्प चाहिन्छ । त्यसको विकल्प हामीले माेनो रेल भनेर ल्यायौं । मेट्रो रेल, केबलकार, बस चलाउने भन्ने पनि घोषणापत्रमा छ ।

यहाँको आवश्यकतालाई मध्यनजर गर्दै यहाँको सम्भाव्यता तथा अवसरको पहिचान गरी यसको सदुपयोग गर्ने हो । माेनो रेल भनेर कसैले पनि आपत्ति जनाउनु आवश्यक छैन । यो सबैको घोषणापत्रमा छ । अहिलेको सरकारले जसरी काम गरी रहेको छ त्यसमा काठमाडौं महानगरपालिका सहमत छैन । गाडी कसले थप्छ हामीलाई थाहा छैन । हरेक वर्ष थपिन्छ, तपाईको घरमा पनि ३/४ वटा गाडी होला गाडी काहाँ राख्ने ठाउँ छैन । ठाउँ-ठाउँमा गाडी तथा मोटरसाइकलका स्वरुमहरु छन् । यहाँ वर्षको लाखौं सवारीसाधनहरू बिक्री हुन्छन् । यी सवारी चलाउने ठाउँ कहाँ ? यसको विकल्प खोज्नको लागि माेनो रेल भनेर प्रस्ताव गरेका थियौं ।

अहिलेसम्म बनेका सहरलाई नभत्काइकन नयाँ बनाउने ठाउँमा पहिला नै सोचौं । तर, बनिसकेको शहरमा फेरि पनि सडकलाई भत्काएर चौडा गरी त्यहाँ पार्किङ बनाउँदै हिँड्ने हो भने हामीलाई यसले समाधान दिँदैन । यो नेपालको राजधानी हो । राजधानीमा यत्रो मानिसहरू बसको ठाउँमा संघीय सरकारको योजना खोइ ? गाडी थप्ने उहाँहरूले समाधान सबै हामीले दिन सकिन्छ । माथिबाट धारा खोलिदिने तल सोरेर समाधान हुँदैन । यसको समाधान गर्नको लागि सबै निकायहरू बिच सहकार्य गरी अगाडि बढ्नु पर्छ ।

सवारी सधानको व्यवस्थापन गर्नको लागि माेनो रेल योजना घोषणा पत्रमा राखेका हौं । यो भन्दा राम्रो प्रस्ताव छ भने छलफल गरौं । विरोधले मात्र समाधान हुँदैन । हामी अगाडि बढ्न खोज्छौं हामीलाई पछाडि तान्छन् ।

माेनो रेलको विरोध कसले गर्यो, खोइ त काम शुरु भएको ?

माेनो रेल सञ्चालन गर्नको लागि मैले सम्झौता गरे । सम्झौता गरे पश्चात् यसको सम्भाव्यताको अध्ययन गर्यौं । त्यसको रिपोर्ट आउना साथ मिडियाहरूले लखेट्न थाले । यसमा मिडीयाहरूले विभिन्न आरोप पनि लगाए । सकारात्मक सोच नभएपछि हामी कसरी अगाडि बढ्न सक्छौं ? यस्तो राम्रो काममा त मिडियाले पनि मद्दत गर्नु पर्ने हो ।

मिडियाले खेदेको कारण रेलको काम अगाडि नबढाउनु भएको हो त ?

यसको वातावरण बनाउने काम मिडियाको पनि हो । मिडियाले नराम्रो कुरा मात्र लेख्नु पर्छ भन्ने मात्र हैन । मिडियाले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्दा पुग्छ । माेनो रेल काठमाडौं भित्र उपयुक्त हो भनेर हामीले भन्यौं । हामीले त्यो बेला काठमाडौंको रिङ्ग रोडमा रेल सञ्चालन गर्ने भनेर अध्ययन गरेका हौं । त्यसको प्रारम्भिक रिपोर्ट हामीसँग छ । रिङ्ग रोडमा रेल सञ्चालन गर्ने भनेका थियौं । रिङ्ग रोड हाम्रो पाटो नै परेन । अब हामीले रेल कहाँ सञ्चालन गर्ने ? यसमा हामीलाई के दोष । रिङ रोड सञ्चालन गर्ने त हाम्रो जिम्मा हैन । रिङ्ग रोडमा रेल सञ्चालन गर्ने भनेका थियौं, रिङ रोड नै नबनेका कारण हामीले त्यहाँ रेल सञ्चालन गर्न सकेनौं । यसको लागि जसले रिङ्ग रोड चलाउने जिम्मा लिएको छ त्यसले रिङ्ग रोड छिटो बनाइ दिनु पर्यो । त्यसपछि रिङ रोड भित्र रेल सञ्चालन गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई हो ।

सामूहिक यातायातको व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा हुन्छ ?

सार्वजनिक यातायात हुन्छ । तर, त्यसलाई कुनै निजी क्षेत्रले नै सञ्चालन गर्छ । भएका सबै सवारी सडकका आउने हो भने सडकले सवारीको चाप थेग्न सक्छ की सक्दैन भनेर यसको बारेमा कसले अध्ययन गरेको छ ? मलाई लाग्छ यो कसैले अध्ययन गरेको छैन । त्यसको लागि हामी सबैले सवारी चढ्न नपर्ने सबैले एकै चोटि सवारी गर्न सकोस् भनेर हामीले रेलको कल्पना गरेका हौं । त्यो भएपछि हामीलाई गाडी किन्ने आवश्यकता नै परेन । त्यस पछि हुने र नहुने बिच विभेद पनि भएन ।

एउटै डिब्बामा तपाईं हामी सँगै यात्रा गर्ने सकिने भएपछि विभेद पनि भएन । अहिले विभेद जस्तो देखियो । कोही हिँडेर जाने, कोही गाडी, कार, मोटरसाइकलमा जाने भएकाले विभेद जस्तो पनि देखियो । यसको विकल्प जसले पनि कार्यान्वयन गरे पनि हुन्छ । कुनै निजी क्षेत्र आएर हामी बनाउँछ सरकारलाई घाटा हुँदैन भन्यो भने त्यो परियोजनालाई अगाडि बढाउनको लागि कन्जुस्याईं गर्नु हुँदैन । सामूहिक यातायातको काम निजी क्षेत्रलाई दिए हुन्छ ।

भूकम्पपछि भत्किएका पुरातात्विक संम्पदाहरुको पुनर्निर्माण राम्रोसँग भएको छ, तर, यहाँका पुराना वस्ती कला, संस्कृति र सदियौंदेखि मान्दै आएका संस्कृतिको संरक्षण गर्न नभ्याउनु भएको हो ?

भूकम्पपछि काठमाडौं भित्र जताततै अस्तव्यस्त भएका घरहरू देखिन्थे । टेका नै टेका लगाको सहरको रूपमा थियो । सडकका खाल्डा नै खाल्डा थिए । त्यो बेला मोटरसाइकलमा चढेर बिहान निस्कियो भने बेलुका घर फर्किदा आफ्नो अनुहार आफैले नचिन्ने स्थिति थियो । तर, हामी निर्वाचित भएर आएपछि यसलाई हामीले धेरै सुधार गरिसकेका छौं । मलाई लाग्छ हाम्रो कार्यकालमा जति काम भएको छ सायद यति काम भोलि दिनमा पनि हुँदैन होला ।

किनभने हामीले धेरै काम गरिसकेका छौं, थोरै काम मात्र गर्न महानगर भित्र बाँकी छ । त्यी कामको पनि शिलान्यास भइसकेको छ । त्यस कामलाई सम्पन्न गर्न मात्र बाँकी छ । यो कार्यकालमा शिलान्यास भएको काम सम्पन्न भएन भने पनि अर्को कार्यकालमा त्यी कामहरू सम्पन्न हुन्छ । निजी घरहरूको कतिपय टेका लगाएका छन् । ति घरको मर्मत गर्नको लागि घर नै भत्काउनु पर्छ । राज्यले देश नै भर एउटै निति बनायो । त्यो एउटै नीतिले सबै ठाउँमा काम हुँदैन । पुरानो र नयाँ सहरको फरक फरक निति बन्नु पर्छ । मेयरलाई काम गर्न लगाउने हो धेरै बोल्न लगाउने होइन ।

संघीय सरकारले अझै पनि स्थानीय तहलाई हेर्ने दृष्टिकोण चाहिँ म अन्तर्गतको सानो निकायको हो भनेर आदेश तामेलीको रूपमा मात्र हेरेको हो ?

जो जहाँ रह्यो आफै ठूलो भन्दो रहेछ । विभिन्न ठुला पार्टीका व्यक्तिहरु छन् माथिल्लो निकायमा पनि । त्यही व्यक्ति ठूलो ठाउँमा पुग्दा सोचाइ अर्कै हुँदो रहेछ । जस्तै तपाई कुनै कम्पनीमा काम गर्नु हुन्छ त्यो कम्पनीको बारेमा बोल्नु हुन्छ । त्यो कम्पनीलाई छाडेर अर्को कम्पनीमा जानु भयो भने त्यसको बारेमा बोल्न छोड्नु हुन्छ । हाम्रो राजनीति भित्र पनि त्यस्तै रह्यो । त्यो कुरा सुधार हुनु पर्छ । संघ, प्रदेश र स्थानीय सरकारको आआफ्नै काम रहेको छ । पूर्वाधारको काममा दोहोरोपनको काम भयो है भनेर पटक–पटक भन्दै आएका छौं ।

माथिल्लो निकायले ठुलो परियोजनामा हात हालिदियोस् । नाम नै ठुलो छ संघीय सरकार । सबै भन्दा माथिको सरकारले ठुलो परियोजनामा हात हाल्नु पर्याे । साना काम गर्न स्थानीय तह छदैछ । जसले जे भने पनि अंकुस चाहिँ संघीय सरकारको छ ।

चुनाव फेरी पनि लड्नु हुन्छ ?

हिजो पनि म स्वतन्त्र उमेदवार थिइन । जति तर जुन उम्मेदवार भएर लडेँ त्यो पनि जितेँ । म व्यक्तिगत उम्मेदवार को रूपमा उठ्दिन । पार्टीले अगाडि बढ् भन्यो भने पार्टीको तर्फबाट पुनः उम्मेदवारको रूपमा उठ्ने हो । आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामीले जित्ने गरेर तयारी अवस्थामा छौं । मेरो व्यक्तिगत बिचार भन्दा पनि पार्टीको निर्णय आधिकारिक हुन्छ । पार्टीको निर्णयलाई पर्खनुहोस् ।

तपाईं जुन पार्टीको उम्मेदवार बनेर काठमाडौं महानगरपालिकाको मेयर बन्नु भयो, ५ वर्षको अवधिमा एमालेको शाखा कतिको बढ्यो ?

अब आउने वैशाख ३० गतेको निर्वाचनले यसको परिणामले देखाउँछ । नेकपा एमाले पार्टी काठमाडौं महानगरपालिकामा अत्याधिक बहुमतका साथ जित्छ । हामीले सबैको चित्त बुझाउन नसके पनि भनेका सबै काम गर्न नसके पनि महानगरवासी खुशी हुने काम हामीले गरेका छौं ।

भिडियाे: 

One comment on "मैले गरेजति काम अब आउने कुनै पनि मेयरले गर्न सक्दैनः मेयर शाक्य (भिडियो सहित)"

  • आम नेपाली says:

    मेयर ज्यू कोटेश्वरबाट एयरपोर्ट तर्फ जाँदा तीकुने पार्कमा सायद हजुरले राखेको होला गैँडाको मुर्ती त्यसको टाउको नदेखिएको करीव १ वर्ष भन्दा बढी भइसक्यो भीआइपीहरु पनि त्यस बटोबाट सयौ पटक ओहर दोहर गरिसके होलान् । के नेपालको वास्तविकता देखाइरहेको हो ?
    यस्तो लाग्छ मेयर कै टाउको मात्र फोटो यस चिपकाउँदा के होला ?????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.