राष्ट्र बैंकको नीतिले आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन्छः सीबीफीन

  २०७८ फागुन ११ गते १६:२०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले राष्ट्र बैंकको नीतिले आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने जनाएको छ ।

मौद्रिक नीति २०७८/०७९ को अर्थवार्षिक समिक्षामा संस्थागत धारणा व्यक्त गर्दै सीबीफीनले सो कुरा बताएको हो । सीबीफीनले नेपाल राष्ट्र बैंकसमक्ष पेश गरेको सुझावहरुलाई समेटेर मौद्रिक नीतिको समिक्षा भएको भन्दै यसकाे स्वागत गरेको छ ।

सिबिफिनले गरेको अध्ययन तथा अनुसन्धानका आधारमा बुझाइएका गहन सुझावहरुबमोजिम समग्र अर्थतन्त्रलाई दिगोरुपमा चलायमान बनाउनका लागि उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य क्षेत्रभन्दा कम हुने गरी कार्यान्वयनमा ल्याइने, विशेषज्ञताको आधारमा तोकिएका क्षेत्रअन्तर्गतका कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पुनरावलोकन गरिने जस्ता सकारात्मक प्रावधानहरुले आयातमा भएको वृद्धिलाई न्यूनीकरण गर्दै विदेशी मुद्राको भुक्तानीमा सन्तुलन कायम गर्न र सवल एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणतर्फ नेपाल राष्ट्र बैंक उन्मूख रहेको संकेत देखिएको सीबीफीनले जनाएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा गरेको कडाई, गैर आवासीय नेपालीसँग रहेको ठूलो धनराशी भित्र्याउनका लागि गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिनेसम्बन्धी व्यवस्थामा पुनरावलोक र विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत् स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पुनरावलोकन गरिने लगायतका व्यवस्थाले हाल देखिएको तरलता अभावको समस्या न्यूनिकरण गर्न सहयोग पुग्ने सीबीफीनले जनाएको छ ।

यस्तै, सीबीफीनले ब्याजदर स्थिरता कायम गर्न नेपाल राष्ट्र बैंकले उचित उपकरणहरु प्रयोग गर्दा उद्योग तथा व्यवसायको स्थायित्व, दिगोपन र उत्पादनको मूल्यमा समेत प्रभाव पर्ने भन्दै ब्याजदरको स्थायित्वतर्फ नियामक निकायले सम्बन्धित सरोकारवालाहरूसँग परामर्श गरी दीर्घकालीन रणनीति अपनाउनुपर्ने टड्कारो आवश्यकता रहेकाे औल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.