साढे १२ खर्बको आयात हुँदा सवा खर्बको निर्यात, ३८ प्रतिशतले बढ्यो व्यापार घाटा

  २०७८ फागुन १० गते १३:४०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) आयात सँगै निर्यातमा समेत बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयातसँगै निर्यातमा बृद्धि भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो सात महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात ४२.७८ प्रतिशतले बढेको छ । गत पुससम्म ९५.४८ प्रतिशतले आयात बढेकोमा माघ महिनामा आयात घटेको हो ।

सात महिनाको अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख वरावरको वस्तु आयात भएको छ । यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

सात महिनाको अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

यस्तै, चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको थियो ।

सात महिनामा वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको छ । चालु आवको ७ महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.