राजश्वमा एनटीसीको योगदान महत्वपूर्ण छ, नाफा अझै बढ्छः वैद्यको विचार

  २०७८ माघ २२ गते १६:४२     प्रतिभा वैद्य

बिक्रम सम्बत २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो स्थापनाको गौरवमय १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला प्रदान गर्नुहुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल सरकारका निकायहरु, संचालक समिति, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, बिबिध सेवा सञ्चालनमा सहयोग पु¥याउने आपूर्तिकर्ताहरु, डिलरहरु, व्यावसायिक साझेदारहरु लगायत विभिन्न निकायहरु, बिभिन्न मिडिया तथा पत्रकारहरू, कम्पनीका कर्मचारीहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु ।

विगत दुई वर्षदेखि कोरोना भाइरसको महामारीको कारणले विश्व नै आक्रान्त भइरहेको र सो को असर निःसन्देह मुलुक र कम्पनीलाई परिरहेको अवस्थामा समेत कम्पनीको सेवाहरुलाई अबिच्छिन्न रुपमा संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरु, व्यावसायिक साझेदारहरु, आपूर्तिकर्ताहरु तथा डिलरहरूबाट प्रदर्शित जिम्मेवारी बोध सहितको सहयोग एवम् ग्राहकवर्गबाट प्राप्त अपार माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

कम्पनीको प्रगतिको

१८ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा, २०७८ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

यसैगरी कोरोनाबाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७७/७८ मा कम्पनीको कुल आय रु ४२ अर्व २१ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु ७ अर्व १३ करोड भएको छ । चालु आ व को पौष मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजश्व प्राप्त गरेको छ, जुन गत आ.व. को पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले बृद्धि भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पु¥याएको योगदान हेर्ने हो भने आ.व. २०७७/७८ मा आय कर, मूल्यअभिवृद्धि कर, दूरसञ्चार सेवा शुल्क, अनरसिप ट्याक्स, कस्टम ड्युटी, रोयल्टी, आरटीडीएफ, लाभांश कर, सम्पत्ति र सवारी क लगायतका कर तथा गैह्रकर गरी कम्पनीले रु २७ अर्व ७३ करोड रकम योगदान गरेको थियो भने यस आ. व. मा समेत उक्त योगदान बढ्ने अपेक्षा गरिएको छ ।

सेवा विस्तार सम्बन्धमा

भ्वाइस सेवातर्फ; २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख भन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमए सेवाका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख २९ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक १ लाख ७४ हजार तथा एफटीटीएच.डाटा सेवाका ग्राहक १ लाख ५९ हजार रहेका छन् । २०७८ कार्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ ।

इन्टरनेट डाटा सेवातर्फ २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता कुल २ करोड २० लाख ९७ हजार भन्दा बढी पुगेका छन् । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १६ लाख ४५ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ३१ हजार ७ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता १ लाख ५९ हजार र वीम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम फोरजीतर्फ हालसम्म करिव ८१ लाख ७४ हजार ग्राहक पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको छ ।

फोरजी एलटीई आयोजना सम्बन्धमाः कम्पनीले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाइ आफ्नो बजार हिस्सालाई मजबुत गरी ब्याबसायिक उदेश्य हासिल गर्न सेवा बिस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिंदै आइरहेको छ । यसै सन्दर्भमा कम्पनीले वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटीई सेवालाई देशब्यापी रुपमा संचालन एवं विस्तार गरिरहेको छ । हालसम्म ७७ जिल्ला तथा ७२० स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने कुल ४,१८६ स्थान मध्ये ३,८१६ (९१ प्रतिशत) स्थानमा आयोजनाको कार्य पुरा भैसकेको छ । कोर नेटवर्क तर्फ कुल भौतिक प्रगति ९५ प्रतिशत छ । यसै आयोजना अन्तर्गत ६४० नयाँ टावरमध्ये ५०१ टावरको जडान सम्पन्न भई सो मध्ये ४५१ टावरबाट सेवा संचालनमा आइसकेको छ ।

फोरजी एलटीई नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय बृद्धि भएको छ र डाटा सेवामा टुजी, थ्रीजी सेवामा भन्दा फोरजी सेवाको हिस्सा बढ्दो क्रममा रहेको छ । फोरजी भ्वाइस अर्थात् भोल्टी सेवा परीक्षणको रुपमा संचालन गरी ग्राहक आधार १० लाख भन्दा बढी पुगिसकेको छ । जसमा सक्रिय ग्राहक १ लाख ६० हजार भन्दा बढी छ ) र बजारमा भोल्टी सर्पोट गर्ने ह्याण्डसेट को बृद्धिसँगै यसको ग्राहक पनि बढ्दै जाने अपेक्षा गरिएको छ । कम्पनीको १८ औं बार्षिकोत्सवको उपलक्ष्यमा आजैबाट भोल्टी सेवाको व्यवसायिक संचालन गरिंदैछ ।

फाइभजी तर्फः फाइभजी सेवा परिक्षणकोलागि नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृति प्राप्त भई परिक्षण सम्बन्धी कार्यविधि बमोजिम सेवा परिक्षणको लागि आपूर्तिकर्ताहरुसंग समन्वय भईरहेको छ ।

फाइवर टु द होम (एफआईटीएच) आयोजना सम्बन्धमाः कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने फाइवर टु द होम सेवाको योजनालाई चालु आर्थिक वर्षमा निरन्तरता दिदै सेवा विस्तार तीव्र रुपमा गरिरहेको छ । हालसम्म यो सेवा ६३ जिल्लामा पुगिसकेको छ । नेपाल टेलिकमले चा.लु. आ.ब. ०७८÷७९ लाई फाइवर टु द होम बर्ष घोषणा गरी करिब ४ लाख लाइनको वितरण योग्य नेटवर्क विस्तार तथा माइग्रेसन र नयाँ गरी २ लाख २६ हजार फाइवर टु द होम लाइन वितरण गर्ने लक्ष्य लिएको छ । चालु आ.व. को पौष मसान्त सम्मको ६ महिनाको अवधिमा करिब १ लाख ९९ हजार वितरण योग्य नेटवर्क तयार गरिसकिएको छ । सेवा वितरण तर्फ यसै आ.व.मा करिब ६१ हजार ८ सय थप ग्राहकलाई एफआईटीएच नेटवर्कमा आबद्ध गरिसकेको छ ।

पूर्वाधार विकास तर्फ

मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म १ हजार १ सय १२ किमी (५९.१६%) कार्य सम्पन्न भएको, २६ स्थानमा हाई क्यापासिटी सिस्टम जडान भई २४ स्थानमा संचालनमा ल्याइसकेको तथा सम्पूर्ण ४७ स्थानमा कोर राउटर जडान कार्य सम्पन्न भइसकेको छ्र । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । उक्त क्षेत्रमा हालसम्म १०० किमी फाइबर विस्तार भएको, २२ स्थानमा डीडब्लूडीएम सिस्टम जडान भई १६ स्थानमा संचालनमा ल्याउने कार्य जारी रहेको र कोर राउटर जडान कार्य समेत शुरु भएको छ ।

यस पूर्बाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न महत्वपूर्ण योगदान दिने बिश्वास लिएको छु ।

मोबाइल बैङ्किङ तर्फ

नेपाली नागरिकहरुलाई वित्तीय पहुँच सहज रुपमा पु¥याउने उदेश्यले नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सहायक कम्पनी स्थापना गरी ‘नमस्ते पे’ सेवा संचालनमा ल्याइसकेको छ । प्रथम चरणका सेवाहरुको रुपमा बैंकबाट वालेटमा टपअप गर्ने, दूरसञ्चार सेवाको रिचार्ज गर्ने, बिद्युत तथा खानेपानीको महसुल तिर्ने लगायतका सेवाहरु उपलब्ध भइसकेका छन् । हाल यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरु थप गर्ने कार्य भइरहेको छ । आगामी दिनमा बस तथा हवाईजहाज टिकट खरिद गर्ने, इन्टरनेट, टिभी, स्कुल कलेजको बिल तिर्ने लगायतका सेवाहरु थप्ने कार्य योजना रहेको छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, क्लासलेस समूदायको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्नमा यसले महत्वपूर्ण योगदान दिनेछ ।

कर्मचारी विनियमावली तर्फ

कम्पनीका कर्मचारीहरुको बृत्ति बिकास तथा सेवा सुबिधा सम्बन्धी व्यवस्था समाबेश भएको कम्पनीको नयाँ कर्मचारी बिनियामवाली, २०७८ कार्यन्वयनमा आएको छ । कम्पनीको नयाँ सांगठनिक संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत भएको र यससँगै बिगत चार वर्षदेखि रोकिएको पदपूर्तिको प्रक्रिया अघि बढेकोले कर्मचारीहरुलाई बृत्तिबिकासको अवसर प्राप्त भएको छ । आगामी दिनमा दरबन्दी बमोजिम कर्मचारीहरुको पदस्थापन गर्ने, कार्य सम्पादनको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, तालिम/ वर्कसप/सेमिनार आदिमा सहभागी गराउने, पदपूर्तिको लागि समय तालिका बमोजिम बिज्ञापन गर्ने र कर्मचारीलाई प्रबिधिमैत्री बनाउने कार्ययोजना रहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वतर्फ कम्पनीले निम्न कार्यक्रमहरु तय गरेको छ:

१. सातै प्रदेशका एक एक वटा अनाथाश्रम र बृद्धाश्रमहरु छनौट गरी (जम्मा १४ वटा) आश्रममा फाइवर टु द होम १ बर्षको लागि निःशुल्क सेवा उपलब्ध गराउने र १४ वटा टीभी सेट समेत जडान गरी दिने र बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको लागि स्वास्थ्यमा सघाउ पुग्ने खालका सामाग्री जस्तै अभ्यास गर्ने मेसिन उपलब्ध गराउने । कर्णाली प्रदेश लगायत पिछडिएका क्षेत्रहरुका सरकारी र सामुदायिक बिद्यालयहरुमा महिला स्वास्थ्यमा सहयोग पुग्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने ।

२. सातै प्रदेशका कम्तिमा एक एकवटा सरकारी र सामुदायिक बिद्यालयहरुमा खेलकुद सामग्री बितरण गर्ने । कम्पनीको एफआईटीएच पुगेका स्थानका ५० वटा सरकारी र सामुदायिक बिद्यालयमा एक बर्षको लागि २५ एमबिपीएसको स्पीडको एफआईटीएच इन्टरनेट निःशुल्क उपलब्ध गराउने ।

३. अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता सम्बन्धी महासंघको सिफारिशमा सीटीईभीटी सँग समन्वय गरी सीपमूलक तालीम संचालन गर्ने ।

४. सातै प्रदेशका एक एक वटा धार्मिक, साँस्कृतिक सम्पदा वा सार्वजनिक क्षेत्रमा सरसफाई कार्यका लागि प्रयोग हुने सामग्रीहरु आदि सहयोग गर्ने जसमा प्रदेश १ को पाथीभरा मन्दिर, मधेश प्रदेशको जानकी मन्दिर, बाग्मती प्रदेशको पलाञ्चोक भगबती, गण्डकी प्रदेशको मनकामना मन्दिर, लुम्विनी प्रदेशको स्वर्गद्वारी, कर्णाली प्रदेशको सुर्खेत स्थित देउतीबजै, सुदूरपश्चिम प्रदेशको टिकापुर पार्क रहेका छन् । साथै सदर चिडियाखाना, जावलाखेलमा रहेका एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ बर्ष सम्म आहाराको प्रायोजन गरिने छ ।

(नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक वैद्यले टेलिकमकाे १८औं वार्षिकोत्सव कार्यक्रममा राखेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.