कर्मचारी संचय कोषसँग राष्ट्र बैंक रुष्ट, क्रस होल्डिङमा कडाई गरिदै

  २०७८ माघ १६ गते १२:२६     विकासन्युज

काठमाडौं । आफ्नो महत्वाकाक्षी योजनाको रुपमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरमा बाधक बनेपछि कर्मचारी संचय कोषसँग नेपाल राष्ट्र बैंक रुष्ट बनेको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जरलाई राष्ट्र बैंकले आफ्नो सफलतासँग जोडेर हेरेको थियो । राष्ट्र बैंकले लामो समयदेखि भन्दै आएको विग मर्जर हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जरबाट पुष्टी गर्ने अभिप्राय राष्ट्र बैंकको थियो ।

तर, हिमालयन बैंकको १४ प्रतिशत संस्थापक सेयरधनी रहेको कर्मचारी संचय कोष नै इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान तयार नभएपछि मर्जर भाडिएको छ । मर्जर भाडिएको दोष कर्मचारी संचय कोषलाई लगाउदै राष्ट्र बैंक कोषप्रति नकारात्मक बनेको छ ।

कोषले विभिन्न बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरधनी हुन छुट पाएको तर राष्ट्र बैंकको योजना अनुसार बैंक तथा वित्तीय संस्थाहरु ‘कन्सोलिडेसन’ हुन खोज्दा कोष वाधक बनेकोले नयाँ व्यवस्था गर्न आवश्यक देखिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

‘कर्मचारी संचय कोषले ११ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकको १ प्रतिशतदेखि १५ प्रतिशतसम्म संस्थापक सेयर हाल्ने छुट पाएको छ, धेरै बैंक वित्तीय संस्थाको संस्थापक सेयरधनी नै राष्ट्र बैंकको योजना र लक्ष्य विपरित गतिविधि गर्न लाग्यो, हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर भाड्ने नै कर्मचारी संचय कोष हो, त्यसैले कोषलाई क्रस होल्डिङ गर्न किन दिने भन्ने प्रश्न उठेको छ, नयाँ केही व्यवस्था गर्नुपर्छ होला,’ राष्ट्र बैंकका ती अधिकारीले भने ।

उनले अरु लगानीकर्तालाई क्रस होल्डिङ गर्न रोक लगाइए पनि कर्मचारी संचय कोषले क्रस होल्डिङ राख्न पाउने सुविधा प्राप्त गरिरहेको र पछिल्ला दिनहरुमा त्यस्तो सुविधाको दुरुपयोग हुन थालेको आरोप लगाए ।

‘क्रस होल्डिङ गर्न नपाइने नियम भएपनि कर्मचारी संचय कोषले विशेष सुविधा पाएको थियो, अव त्यो सुविधाको दुरुपयोग हुन थाल्यो, त्यसैले कर्मचारी संचय कोष वा नागरिक लगानी कोषले पनि क्रस होल्डिङ राख्न नपाउने व्यवस्था गर्ने कि भनेर आन्तरिक तयारी गर्दैछौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

कर्मचारी संचय कोषको हिमालयन बैंकमा १४ प्रतिशत, एसबीआई बैंकमा १५ प्रतिशत, बैंक अफ काठमाडमा १५ प्रतिशत, एनएमबी बैंकमा ६ प्रतिशत, सिभिल बैंकमा ८ प्रतिशत, प्रभु बैंकमा ४ प्रतिशत, नेपाल बैंकमा ४ प्रतिशत, सानिमा बैंकमा २ प्रतिशत, कुमारी बैंकमा ३ प्रतिशत, इन्भेष्टमेन्ट बैंकमा करिब १ प्रतिशत र सनराइज बैंकमा १ प्रतिशत संस्थापक सेयर छ । यस्तै, सिन्धु विकास बैंकमा ६ प्रतिशत र महालक्ष्मी विकास बैंकमा १ प्रतिशत संस्थापक सेयर छ ।

नागरिक लगानी कोष पनि चेपुवामा

राष्ट्र बैंक र कर्मचारी संचय कोषबीच विग्रिएको सम्बन्धको बेफाइदा नागरिक लगानी कोषलाई भएको छ । राष्ट्र बैंकले कर्मचारी संचय कोषको कारण क्रम होल्डिङ गर्न नपाइने व्यवस्था गर्दा त्यसको असर नागरिक लगानी कोषलाई पनि पर्ने भएको छ ।

नागरिक लगानी कोषले बैंक अफ काठमाण्डूमा १७.९८ करोड रुपैयाँ, सिटजन्स बैंकमा २८.२१ करोड, एनसीसी बैंकमा ३६.६४ करोड, लक्ष्मी बैंकमा ६७.३७ करोड, इन्भेष्टमेन्ट बैंकमा ३७.४९ करोड र एनआइसी एसिया बैंकमा ३.०६ करोड रुपैयाँ बराबरको संस्थापक सेयरमा लगानी गरेको छ ।

सम्बन्धित समाचार

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

One comment on "कर्मचारी संचय कोषसँग राष्ट्र बैंक रुष्ट, क्रस होल्डिङमा कडाई गरिदै"

  • Bhim Chand says:

    १ वर्षमा संस्थापक शेयर स्वामित्व निश्चित सीमा भित्र कायम राख्न कोषहरुलाई नेराबैंले उर्दी जारी गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.