एग्रेसिभ रुपमा व्यवसाय विस्तार नगर्न बैंकहरुलाई गभर्नरको सुझाव

  २०७८ माघ १० गते १६:४३     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आक्रामक रुपमा व्यवसाय विस्तार नगर्न बैंकहरुलाई सुझाव दिएका छन् । सोमबार राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रमममा आफ्नो धारणा राख्दै उनले अहिले कोरोना भाइरसको जोखिम पुनः बढेकोले व्यवसाय विस्तारमा एग्रेसिभ नहुन सुझाव दिएका हुन् ।

उनले अहिले पनि पहिलेको जस्तै आफु बाँच्ने र अरुलाई बचाउने नीति बैंकहरुले अवलम्बन गर्नु पर्ने बताउँदै शाखा विस्तार वा सेवा विस्तारमा नआत्तिन अनुरोध गरेका हुन् ।

‘पहिले कोरोनाको समयमा पनि हामीले आफु पनि बाँचने र अरुलाई पनि बचाउने रणनीति लियौं, अर्थतन्त्रलाई टिकाउन हाम्रो महत्वपूर्ण भूमीका हुन्छ, अहिले एग्रेसिभ्ली जाने समय होइन, ब्रान्च खोल्दा वा सेवा विस्तार गर्दा नआत्तिनु होला, अफ्ठ्यारो समय आउँछ, सुरक्षित रुपमा अगाडि बढ्नु होला, म्यानेजरको काम नै म्यानेज गर्ने हो, राष्ट्र बैंक तपाईंहरुसँग नै छ,’ उनले भने ।

यस्तै, उनले बैंकहरुलाई कर्जा प्रवाहमा पनि सतर्क रहन सुझाव दिएका छन् । ‘धेरै मानिसमा बैंकको म्यानेजर मेरै साथी त हो भनेर १÷२ लाख रुपैयाँ ऋण पाइहालिन्छ भन्ने भ्रम हुन्छ, कतिपय बैंकले पनि दिएको भेटाउँछौं, तर एउटा म्यानेजरको सही निर्णयले वा सही मान्छेलाई कर्जा दिँदा देशले एउटा राम्रो उद्यमी पाउँछ, त्यसैले यसमा सतर्क रहनुहोला,’ गभर्नर अधिकारीले भने ।

साँच्चिकै व्यवसाय गर्ने मानिसले बैंकले दिने कर्जाले प्रोत्साहन हुने बताउँदै उनले बैंकहरुले पनि सही र गलत व्यक्ति छुट्याउन सक्नु पर्ने उनको भनाई छ । बैंकहरुले पब्लिकको पैसा चलाउने भएकोले गलत प्रवृति बैंकमा छिर्न दिन नहुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.