ओमिक्रोनले ज्यान लिनसक्छ लापरवाही नगरौँ: डा. रक्षा गौतम

  २०७८ माघ ५ गते १२:२१     विकासन्युज

काठमाडाैं । मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनको पछिल्लो भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ । आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ ।

अल्का अस्पताकी चिकित्सक डा. रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको हेर्नु पर्ने बताइन् । यदि ज्वरो आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पिसिआर गराउन उनले सल्लाह दिइन् । डा. गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आम मानिसमा लापरवाही बढेको बताइन् । ओमिक्रोनको संक्रमण ४/५ दिन रहनेछ भनेर लापरवाही गर्न नहुने बताइन् ।अमिक्रोनसँगको सानो लापरवाहिले ज्यान नै जान सक्ने उनी बताउँछिन् । प्रस्तुत छ अल्का अस्पताकी चिकित्सक डा. रक्षा गौतमसँग गरेको कुराकानीको सम्पादित अंश ।

अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?

मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ । गत दुईहप्ता देखि हाम्रो ओपिडिमा बिरामीको चाप तिन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड-१९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौं । दिनदिनै बढेको देखिरहेका छाैं ।

अहिले मनिसहरु एकदमै अल्मल्लिएको जस्तो देखिन्छ, एउटा मौसमी फ्लु भयो । अर्को कोभिड-१९ डेल्टा भेरियन्ट, अनि आमिक्रोम भाइरस संक्रमण कसरी छुट्याउने ? कसरी उपचार गर्ने ? सबैको उस्तैउस्तै खालको लक्षणहरु देखिन्छन् । लक्षणका आधारमा आम सर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पिसिआरका लागि जाने ?

मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो । कमन कोल्डको सामान्य लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा  बिरामीलाई ज्वरो आउँदैन । यसमा सामान्य जिउ दुख्ने, रुघाखोकी एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भए प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।

ओमिक्रोन, डेल्टा, इन्फ्लुएन्जा  सबै फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुएन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । याे सय वर्ष अघिदेखिको फ्लु हो । इन्फ्लुएन्जा र कोभिड फ्लुमा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौं । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नुपर्छ । फ्लुमा पनि इन्फ्लुएन्जा हो कि, डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहिँ अलिक गाह्रो छ ।

तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहिँ फ्लु भएका र इन्फ्लुएन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने पाएका छाैं भने प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहिँ कोभिडमा मात्रै देखिरहेको छ । अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाँटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपिडिमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघा लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्युएन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सक्दैनाैं । पिसिआर गर्नैपर्छ ।

मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?

मौसमी परिवर्तनले हुने कमन कोल्डमा सामान्य घरमा भएका पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, मन तातो पानि खाने, पानीको मात्रा शरिरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने गरे नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन ।

जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो । फ्लु भनेको भाइरसले गर्दा हुने हो । फ्लुमा चाहिँ ज्वरो पनि आउँछ । दुई, तिन दिन ज्वरो आउँछ । प्रायः हामीले प्याटर्न हेर्दाखेरी बिरामीलाई तिन दिनसम्म ज्वरो आएको, तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । यसमा पनि प्यारासिटामाेलहरु प्रयाेग गर्दा हुन्छ ।

तर यदि तिन दिनभन्दा बढी ज्वरो आइरहेकाे छ, ज्वरो १०२, १०३ भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरी पनि ज्वरो घटेको छैन, जिउ दुखिराखेको छ, छाती भारी भइराखेको छ, खोकी बढिराखेको छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ, बिरामीले खाना पटक्कै खानु भएको छैन भने उहाँलाई तुरुन्तै ओपिडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ? 

हाम्राे यहाँ दुइथरी बिरामीहरु हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै आउनुहुन्छ त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । रेस्ट गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छ । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरेपनि धेरैलाई निको भइराखेको छ । अर्काेतर्फ चाहिँ बिरामीहरु धेरै गाह्रो भइसक्दा पनि अस्पताल आउनु भएको छैन । श्वास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दिर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातिको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

सक्रमणमा हाम्रो अस्पतालहरुमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?

कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीहरुलाई र नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ । यस्तै लक्षणहरु सबै मिल्छ कोभिडसँग तर आरटी पिसिआर गर्दा नेगेटिभ आयो भने उहाँहरुलाई अलग राख्ने व्यवस्था छ । सबै पोजेटिभ बिरामीहरुलाई हामीले भर्ना गर्ने गरेका छैनौं । सामान्य लक्षण भएकाे अवस्थामा काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधीहरु दिएर घर पठाइराखेका छौं । अक्सिजन पर्याप्त मात्रामा शरीरमा पुगेको छैन भन्नेजस्तो हामीलाई शंका लाग्ने बित्तिकै हामीले बिरामीलाई भर्ना गरेर दुई, चार दिन उहाँहरुलाई क्रिटिकल केयर तथा छाती विशेषज्ञ र फिजिसियन हामी तिन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौं । धेरै निको भएर जानुभएको छ । पहिला पहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इर्मजेन्सीमा बेड नै नभएको, अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ ।

अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?

सुझाव म के दिन चाहान्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पिसिआर गरेर छुट्याउन सक्दैनौँ । डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने जनमानसमा गलत धारणा छ । हामीले पेसेन्टको लक्षण हेरेर केर्ही भन्न सक्दैनौँ । अर्को गलत धारणा सिटी भ्यालुलाई लिएर छ । पिसिआरको रिपोर्टमा भएकाे सिटी भ्यालुकाे आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आइसियूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्याउन सकिँदैन । त्यसमा कन्फ्युजनमा नपर्नुस् ।

पिसिआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिँदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरुको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ  ओपिडिमा आउनुहोला ।

९० प्रतिशत बिरामीहरुको अहिले लक्षण माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आइसियु, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा लापरबाही गर्नु भएन । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरु नराम्रो अवस्थामा गएको पनि हामीले देख्या छौं । त्यहीँ भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने गराैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.