बैंकमा राखेको पैसा २० वर्षसम्म पनि लिन नगए के हुन्छ ?

  २०७८ पुष २९ गते १४:४५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको रकम ग्राहकले दाबी नगरेमा नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्ने भएका छन् । ग्राहकले २० वर्षसम्म निक्षेप लिन बुझ्न नआएका तथा दावी नगरेमा बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय बैंकको उक्त कोषमा जम्मा गर्ने भएका हुन् ।

राष्ट्र बैंकले पुस २९ गते एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त निर्देशन दिएको हो । यससँगै, कुनै पनि बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्ने निक्षेपकर्ताले बीस वर्षसम्म उक्त रकमको दावी गर्न नगएमा सम्बन्धित कम्पनीले राष्ट्र बैंकको बैंकिङ्ग विकास कोष (अनक्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्ने छ ।

उक्त कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रकृया पुरा गरी यस बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकतांको कानूनी हकवाल बाट सम्पूर्ण कानूनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित यस बैंकमा दाबी पेश गर्नु पर्ने र आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विनाव्याज रकम फिर्ता गर्नु पर्ने छ ।

यससँगै उक्त कोषमा जम्मा भएको रकम बैंकिङ्ग विकासमा प्रयोग हुने समेत राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपकर्ताको मृत्यु भएमा के हुन्छ ?

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप उपर सो निक्षेप राख्ने व्यक्ति बाहेक अरु कसैको पनि हक दाबी लाग्दैन । यदि निक्षेप राख्ने व्यक्तिको मृत्यु भएमा निजीले कसैलाई इच्छाएको भएको त्यस्तो इच्छाएको व्यक्तिको दाबाी लाग्ने छ । र, त्यस्तो इच्छाएको व्यक्तिको पनि मृत्यु भएको रहेछ वा कसैलाई इच्छाइएको रहेनछ भने जीवित रहेका व्यक्तिमध्ये जो बढी निकटको छ उसकै पहिलो हक दाबी लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.