एनबी बैंक अक्वायर गर्ने अन्तिम चरणमा नविल, आईएफआईसीलाई ४० करोड लाभ

  २०७८ पुष २९ गते १३:५८     विकासन्युज

काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक अक्वायर गर्ने अन्तिम तयारी गरेको छ । नविलले एनबी बैंकको सेयर प्रतिकित्ता ४३ रुपैयाँमा अक्वायर गर्न लागेको हो ।

दुबै बैंकले गठन गरेको समितिले अक्वायर गर्ने मूल्य तय गरिसकेको छ । हिजो (बुधबार) नविल र एनबी बैंकले गठन गरेका समितिले प्रतिकित्ता ४३ रुपैयाँका दरले अक्वायर गर्ने सहमति गरिसकेको छ । समितिमा सहमति भइसकेकोले अब दुबै बैंकका संचालक समिति बैठक बसेर निर्णय गर्ने तयारी भएको छ ।

‘नविल बैंकले एनबी बैंक अक्वायर गर्न लागेको हो, सेयर मूल्य प्रतिकित्ता ४३ रुपैयाँ कायम हुने प्रारम्भिक सहमति भएको छ, सम्भवतः आज (विहीबार) दुबै बैंकको संचालक समिति बैठक बसेर आजै समझदारीपत्र (एमओयु) मा हस्ताक्षर हुन्छ,’ एनबी बैंक स्रोतले विकासन्युजसँग भन्यो ।

एनबी बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँको हारहारीमा छ । अक्वायरपछि एनबी बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले नविल बैंकको ४३ कित्ता सेयर पाउने छन् । प्रारम्भिक सहमति अनुसार एनबी बैंकको तर्फबाट बैंक संचालक समिति सदस्य रहने छैनन् भने नाम पनि नविल नै हुनेछ ।

नविल बैंकको अहिले चुक्ता पुँजी १८ अर्ब ३७ करोड रुपैयाँ छ । एनबी बैंकको १० अर्ब ८ करोड रुपैयाँ छ । प्रतिकित्ता ४३ रुपैयाँको दरले एनबी अक्वायर गरेपछि नविल बैंकको चुक्ता पुँजी २२ अर्ब ३७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

आईएफआईसीको सेयर विक्रीको च्याप्टर क्लोज

एनबी बैंकलाई नविल बैंकले अक्वायर गर्ने भएपछि एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको संस्थापक सेयर विक्री प्रक्रिया तत्कालको लागि रोकिएको छ । आईएफआईसीको स्वामित्वमा रहेको एनबी बैंकको करिब ४१ प्रतिशत संस्थापक सेयर खरिद गर्नको लागि व्यवसायीहरुबीच प्रतिस्पर्धा भएर पनि विवाद अदालतसम्म पुगेपछि ७ दिनको लागि रोकिएको छ ।

आईएफआईसीको स्वामित्वमा रहेको सेयर सनराइज बैंकको संचालक समिति अध्यक्ष समेत रहेका मोतिलाल दुगडको समुहले खरिदका लागि गत अप्रिल २ मा नै सहमति गरिसकेको दाबी सो समुहको छ । पछिल्लो समय सो सेयर खरिद गर्न व्यवसायी विनोद चौधरीले आईएफआईसीसँग सहमति गरेपछि विवाद अदालतसम्म पुगेको छ ।

दुगड समुहले सो सेयर खरिदका लागि आफूहरुले करार गरिसकेको र करार बमोजिम सेयर खरिद विक्री गर्न गराउनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले विपक्षीहरु एनबी बैंक, आईएफआईसी लगायतलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न र सो समयसम्म सेयर खरिद विक्रीको प्रक्रिया अघि नबढाउन आदेश दिएको छ ।

अदालतको सोही आदेशका कारण आईएफआईसीको सेयर कम्तिमा पनि ७ दिनसम्म खरिद विक्रीको प्रक्रिया अघि बढाउन पाइदैन । यस्तै, सोही विषयमा पाटन उच्च अदालतमा पनि दुगड समुहले रिट निवेदन दिएको छ । यद्यपि, सो निवेदनको बारेमा प्रारम्भिक सुनुवाई पनि भएको छैन ।

तर, आईएफआईसीको सेयर विक्री प्रक्रिया अदालतको कारणले मात्रै रोकिदै छैन । अब प्रक्रियागत कारण र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) का कारण पनि रोकिदैछ ।

आईएफआईसीको सेयर खरिदका लागि दुगड र चौधरी समुह प्रतिस्पर्धामा उत्रिए पनि सो सेयर खरिद गर्नको लागि दुगड र चौधरी समुह योग्य भइसकेका छैनन् । किनभने आईएफआईसीले सेयर विक्री गर्नको लागि संस्थापक सेयरधनीहरुलाई मात्रै अहिलेसम्म प्रस्ताव गरेको छ । दुगड वा चौधरी एनबी बैंकको संस्थापक सेयरधनी होइनन् ।

दुगड वा चौधरीले आईएफआईसीसँग सेयर खरिद गर्नको लागि दोस्रो चरणको प्रक्रिया सुरु हुनुपर्छ । एनबी बैंकका संस्थापकहरुले सेयर खरिद नगर्ने जानकारी गराएपछि बैंक संचालक समितिले संस्थापक सेयरधनी बाहेकलाई सेयर खरिदका लागि सार्वजनिक सुचना प्रकाशित गर्नुपर्छ । यो प्रक्रिया अहिलेसम्म सुरु नै नभएकोले दुगड र चौधरी सेयर खरिदका लागि योग्य नभएका हुन् ।

एउटा बैंकका संस्थापक सेयरधनीले अर्काे बैंकको संस्थापक सेयर धारण गर्न पाइदैन । यस्तो व्यवस्था १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनीको हकमा लागू हुन्छ । यस्तै, एउटै व्यक्ति वा संस्थाले बैंक वित्तीय संस्थाको निश्चित प्रतिशतभन्दा बढी सेयर धारण गर्न पाइदैन । यस्ता कारणले दुगड र चौधरी दुबै समुह आईएफआईसीको सेयर खरिदका लागि अहिलेसम्म योग्य छैनन् ।

तर, नविल बैंकले एनबी बैंक अक्वायर गरेको अवस्थामा भने आईएफआईसीको स्वामित्वमा रहेको सेयर खरिदका लागि चौधरी समुह पहिलो हकदारमध्येको हुनेछ । किनभने अक्वायर गरिसकेपछि एनबी बैंक नै रहने छैन । त्यस्तै, आईएफआईसी पनि नविल बैंककै संस्थापक सेयरधनी हुनेछ ।

त्यस्तो अवस्थामा आईएफआईसीले नविल बैंकको संस्थापक सेयर विक्री गर्ने हो । यसको अनुमति नविल बैंकको संचालक समितिले दिनुपर्छ । र, आईएफआईसीको स्वामित्वको सेयर खरिदको पहिलो हकदार नविल बैंककै संस्थापक सेयरधनीहरु हुनेछन् ।

अहिले पनि नविल बैंकमा चौधरी ग्रुपको ५० प्रतिशतभन्दा बढी सेयर छ । एनबी बैंकलाई नविलले अक्वायर गरिसकेको अवस्थामा नविल बैंकको बोर्डमा चौधरी ग्रुपको बहुमत कायम रहने छ ।

‘अब आईएफआईसीको सेयर दुगडले किन्ने कि चौधरीले किन्ने भन्ने विषय नै रहेन, किनभने एनबी बैंक नै नविल बैंकले अक्वायर गर्ने तयारी भइरहेको छ, त्यसपछि नविल बैंकको संस्थापक सेयरको रुपमा रहेको आईएफआईसीको सेयर उसले विक्री गर्ने कि नगर्ने भन्ने निर्णय पहिला आईएफआईसीले गर्नुपर्यो, विक्री नै गर्ने हो भने कुन संस्थापकले किन्ने भन्ने जस्ता विषय आउँछन्, एनबी बैंकलाई नविलले अक्वायर गरिसकेपछि आईएफआईसीले संस्थापक सेयर विक्री गर्ने प्रक्रिया अघि बढायो भने चौधरी त्यसको प्रमुख हकदारमध्ये हुन्छन्,’ एनबी बैंकका एक संचालकले भने ।

उनले आईएफआईसीको स्वामित्वमा रहेको सेयर विक्री गर्ने कि नगर्ने भन्ने विषय अलि लामै समयको लागि च्याप्टर क्लोज भएको बताए ।

आईएफआईसीलाई ४० करोड लाभ

सनराइज बैंक संचालक समिति अध्यक्ष मोतिलाल दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको स्वामित्वको सेयर प्रतिकित्ता १५७ रुपैयाँमा खरिद गर्ने सहमति गरेका थिए । तर, चौधरीले भने प्रतिकित्ता १५० रुपैयाँमा खरिद गर्ने सहमति गरेको बताइएको छ ।

सरसर्ती हेर्दा आईएफआईसीले चौधरीलाई प्रतिकित्ता ७ रुपैयाँ सस्तोमा सेयर विक्री गरेको देखिन्छ । तर, यथार्थमा चौधरीलाई सेयर विक्री गर्दा आफूलाई ४० करोड ५१ लाख रुपैयाँ थप लाभ हुने देखेपछि आईएफआईसी चौधरीलाई सेयर विक्री गर्न तयार भएको जानकारहरु बताउँछन् ।

‘दुगडसँगको सहमतिमा प्रतिकित्ता १५७ रुपैयाँमा विक्री गर्ने भनिएको रहेछ तर, बोनस सेयर दुगडले नै पाउनु पर्ने दाबी गरिरहेका रहेछन्, चौधरीले प्रतिकित्ता १५० रुपैयाँका दरले सेयर किन्ने सहमति गरेछन् र बोनस सेयरको मूल्य पनि आईएफआईसीले पाउने चौधरीसँग सहमति भएको रहेछ, चौधरीलाई सेयर विक्री गर्दा आईएफआईसीलाई ४० करोड ५१ लाख रुपैयाँ थप लाभ हुने देखिन्छ,’ एनबी बैंक स्रोतले भन्यो ।

एनबी बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । आईएफआईसीको ४१ प्रतिशत (३ करोड ६८ लाख २७ हजार कित्ता) संस्थापक सेयर छ । आईएफआईसीले दुगड समुहलाई प्रतिकित्ता १५७ रुपैयाँका दरमा सेयर विक्री गर्दा उसले ५ अर्ब ७८ करोड १८ लाख रुपैयाँ पाउने छ ।

बैंकले गतवर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिएको छ । बोनस सेयर थप भएपछि एनबीमा आईएफआईसीको सेयर संख्या ४४ लाख १९ हजार कित्ता थपिएर ४ करोड १२ लाख ४६ हजार कित्ता पुग्छ ।

चौधरीले आईएफआईसीसँग प्रतिकित्ता १५० रुपैयाँमा सेयर खरिद गर्ने सहमति गरेका छन् । यो मूल्यका आधारमा आईएफआईसीले चौधरीलाई ६ अर्ब १८ करोड ६९ लाख रुपैयाँमा सेयर विक्री गर्नेछ । जुन, दुगडलाई विक्री गर्दा भन्दा ४० करोड ५१ लाख रुपैयाँ बढी प्राप्त हुनेछ । यद्यपि, दुगड वा चौधरीमध्ये कसले आईएफआईसीको सेयर खरिद गर्छन्, कति रुपैयाँमा अन्तिम सम्झौता हुन्छ, बोनस सेयरबारे के कस्तो सहमति बन्छ भन्ने कुराले मात्रै अन्तिम परिणाम दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.