साधारण सभाको मुखैमा अर्को सूचना जारी गर्दै कम्पनीहरु

  २०७८ पुष २८ गते १३:१०     विकासन्युज

काठमाडौं । अधिकांश कम्पनीहरुले साधारण सभाको मुखैमा धमाधम थप अर्को सूचना जारी गरिरहेका छन् । दोश्रो पटकसम्म सूचना जारी गरी भौतिक रुपमा सभामा जान ताम्तयार भएर बसेका कम्पनीहरु थप अर्को सूचना जारी गर्न बाध्य भएका छन् ।

कारण एउटै हो कोरोनाको उग्र रुप । विश्वभर जस्तै नेपालमा पनि केहीदिन यता कोरोनाको संक्रमणदर बढेको छ । यो दर बढेसँगै नेपाल सरकारले महामारी रोकथाम तथा नियन्त्रण गर्नको लागि २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

यससँगै सरकार तथा नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंक तथा वित्तीय संस्था लगायत अन्य कम्पनीहरुले भर्चुअल रुपमा गर्न सभाको मुखैमा अर्को सूचना जारी गरेका हुन् । यसअघि उनीहरुले भौतिक रुपमा साधारण सभा गर्ने जानकारी गराएका थिए । तर दिनप्रतिदिन संक्रमणको दर उच्च भएसँगै उनीहरु भर्चुअल रुपमा सभा गर्न बाध्य भएका हुन् ।

सरकारले पुस २८ गतेदेखि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएअनुसार कम्पनीहरुले सेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेका छन् । हालसम्म चन्द्रागिरी हिल्स, मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, गुडविल फाइनान्स, सिभिल बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र हिमालयन पावर पार्टनरले भर्चुअल माध्यमबाट सभा गर्ने जानकारी गराएका छन् ।

जसमध्ये चन्द्रागिरी हिल्सले पुस २९ गते दोश्रो वार्षिक साधारणसभा गर्दै छ । कम्पनीले बिहान ११ बजे आफ्नै कार्यालय थानकोटमा भर्चुअल माध्यमबाट गराउन लागेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीले पनि आफ्नो आठौं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट गरिने जानकारी गराएको छ । कम्पनीले उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंङक्वेट्मा जुम मार्फत गर्दै छ ।

त्यस्तै, पुस ३० गते नै हुन लागेको सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा पनि अनलाइन बाटै हुने भएको छ । कम्पनीले पुस ३० गते बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट क्याफे एण्ड बैंङक्वेटमा जुम एपमार्फत गर्न लागेको हो ।

गुडविल फाइनान्सले २७औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ः३० बजे काठमाडौंको रबिभवनस्थित होटल क्राउन इम्पेरियलमा गर्दै छ । उक्त सभा जुमबाटै हुने फाइनान्सले एक सूचना मार्फत जानकारी गराएको छ ।

सिभिल बैंकले पनि अनलाइन माध्यमबाटै सभा गर्ने भएको छ । बैंकले पुस ३० गते बिहान ११ बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंकेटमा भर्चुअल माध्यमबाट गर्न लागेको हो ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले पुस २९ गते अनलाइनबाटै आफ्नो नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त भर्चुअल माध्यमबाट नभई भौतिक रुपमै उपस्थित हुन चाहनेले कोभिड विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य लैजानु पर्ने कम्पनीले जनाएको छ ।

हिमालयन पावर पार्टनरले पुस ३० गते शुक्रबार सभा गर्दै छ । कम्पनीले पनि आफ्नो नवौं वार्षिक साधारण सभा काठमाडौंको लैनचौरस्थित लैनचौर बैंङक्वेट्मा बिहान ९ बजे अनलाइनबाट गर्ने जानकारी गराएको छ ।

साथै, उक्त सभामा भाग लिन इच्छुकले सम्बन्धित कम्पनीमा सम्पर्क गरी जुमको मिटिङ आईडी तथा पासकोड लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.