सहकारीमा पनि क्यूआर कोड राख्ने सोचमा छौंः सीईओ शर्मा

  २०७८ पुष २७ गते १३:११     विकासन्युज

केही समय अगाडि सनराइज बैंकले एक प्रकारको भिसा कार्ड प्रयोगमा ल्यायो । वाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरे जस्तै प्रयोग गर्न सक्ने गरी विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ । सहकारीका सदस्यहरुले यसरी कार्ड प्रयोग गरेर आर्थिक कारोबार गर्ने काम दक्षिण एशियामा नै पहिलो हो ।

सुरक्षा र प्रविधिको हिसावले मजबुत मानिएको यो कार्डको प्रयोगले प्रयोगकर्ताको आर्थिक कारोबार पारदर्शी हुनुको साथै नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई सहयोग गर्नेछ । सहकारीका सदस्यहरुले पनि नगदरहित कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको मान्नुपर्छ ।

यसै सन्दर्भमा नेपालमा यस प्रकारको कार्ड प्रयोगमा ल्याउने सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग हामीले संम्वाद गरेका छाैं । संम्वादमा प्रमुख कार्यकारी अधिकृत शर्माले सहकारीलाई पनि बैंकिङ प्रणालीमा ल्याउन सक्नु भनेको देशभर रहेका ८० लाख बढी सदस्य विस्तारै लाभान्वित हुने सम्भावना बढेको बताए । विश्वमा विकसित प्रविधिसँग नेपाल पछि छैन भन्ने सन्देश पनि प्रवाह भएको बताए । यस प्रकारको कार्ड सेवा-सुविधा लिने सदस्य ग्राहकले वाणिज्य बैंकले दिने सबै सेवा सुविधा प्रयोग गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । प्रस्तुत छ सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासँग गरिएको कुराकानी ।

सनराइज बैंकले केही दिनअघि सहकारीका सदस्यहरुले पनि एटिएम कार्ड जस्तै कार्ड प्रयोग गर्न सक्ने भन्ने समाचारहरुमा आयो, यो कस्तो कार्ड हो ?

सनराइज बैंकले सहकारीको लागि जुन डिजिटल कार्ड ल्याएका छौँ, त्यसलाई भिजा को-ब्राण्डिङ कार्ड भन्ने गरेका छौं । को-ब्राण्डिङ भनेको एउटा मात्रै संस्था होइन । मल्टिपल संस्थाहरु मिलेर ब्राण्ड बनाएर गर्ने कार्ड हो । यसमा सहकारी संस्था, सनराइज बैंक र भिसा तीन वटैको लोगो भएको कार्ड अर्थात् सनराइज बैंकको कार्ड तर सहकारीका ग्राहकहरुले खाताबाटै डेबिट भएर चल्ने गरी बनाएको कार्ड हो । धेरै समय यसमा काम गरेर अगाडि बढाएका हौं । यो कार्ड भिसाका अनुसार दक्षिण एशियामा नै पहिलो शुरुवात हो । जसले गर्दा सहकारीका ग्राहकहरुले सनराइज बैंकको कार्ड प्रयोग गर्नेछन् । ग्राहकले सहकारीको खाताबाट पैसा निकाल्न तथा सपिङ (किनमेल) को रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछन् । सहकारीका ग्राहकहरुले कुनै पनि इ-कमर्श (अनलाइन कारोवार) का पोर्टलमा गएर अनलाइन भुक्तानी गर्दा सनराइजका ग्राहकले पाउने सुविधा सरह सहकारीका ग्राहकले समेत पाउने किसिमको डिजिटल कार्ड हो ।

यो कार्ड सहकारीका सदस्यहरुले कसरी प्रयोग गर्न सक्दछन् ?

सनराइज बैंकको कार्ड होल्डरले सम्पूर्ण कामहरु कार्डको लागि सम्झौता गरेका सहकारीका ग्राहकले गर्न सक्छन् । सनराइज बैंकको एटिएमबाट पैसा निकाल्न सक्नेछन् । सनराइज बैंकका एटिएम सञ्जाल छन् । जसमा १५० भन्दा बढी एटिएम रहेका छन् । त्यसबाट र २७ वटै कमर्सियल बैंक र विकास बैंकहरुले पनि राखेका एटिएम मेसिनहरु छन् । ती कुनै पनि संस्थाका एटिएमबाट पैसा झिक्न पाउनु हुनेछ । त्यस्तै, विभिन्न स्थानमा सपिङ (किनमेल) गर्दा पस मेसिनबाट भुक्तानी गर्न सकिन्छ । विभिन्न बैंकहरुले राखेका एटिएम मेसिनहरुबाट सामान किनेको रकम भुक्तानी गर्न सक्नुहुनेछ । अनलाइनबाट पनि कुनै पनि सामान खरिद गरेमा, बस तथा हवाइ टिकट काट्नु परेमा लगायत अनलाइटबाट गर्ने सबै कामको रकम भुक्तनीको लागि यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । कुनै पनि कमर्सियल बैंकले ल्याएको एटिएम कार्डको इकुभ्यालेन्ट हो । त्यस्तो खालको कार्ड सहकारीका ग्राहकले प्रयोग गर्न सक्नुहुन्छ ।

यो कार्डको सुरक्षा र प्रविधि कस्तो छ ?

भिसा कार्डसँग जति पनि सुरक्षाका फिचरहरु रहेका छन् ती सबै सुरक्षाका फिचरहरु यो को-ब्राण्डिङ कार्डमा पनि रहेका छन् । अहिले सहकारी संस्थाका ग्राहकहरुले पाउने कार्डमा पनि त्यही सुरक्षा रहेको छ । जसमा अन्तर्राष्ट्रिय रुपमा नै चिप बेस्ड कार्ड भनिन्छ । इएमबी कम्पाइन चिप बेस्टकार्ड त्यही कार्ड नै सहकारीका ग्राहकले पाउनु हुन्छ । जसले गर्दा त्याे कार्ड धेरै सुरक्षित छ । अहिले ग्राहकले पहिलो कार्ड प्रयोग गर्दा ग्रिन पिन नम्बर पाउनु हुनेछ । ग्रिन पिन नम्बर भन्नाले पहिला पहिलो बैंकहरुले पेपरमा पिन नम्बर दिने गरिन्थो भने अब मोबाइलमा नै पिन नम्बर पाउनुहुन्छ । कार्ड कुनै पनि एटिएम मेसिनमा राखेर एक्टिभेट गर्दा ग्राहकलाई मोवाइलमा म्यासेज आउँछ । त्यो नम्बर उहाँहरुले एटिएम मेसिनमा राखेपछि ग्राहकको पासवर्ड हुन्छ । ग्राहकले पासवर्ड परिर्वतन गर्न सक्नुहुन्छ । त्यसरी पनि सुरक्षित रहेको हुन्छ ।

ग्राहकहरुले अनलाइन पोर्टलबाट कारोबार गर्दा ग्राहकको मोबाइल नम्बरमा म्यासेज आउँछ । हरेक पटकको कारोबारमा मोबाइलमा म्यासेज आउँछ । म्याजेस आएपछि मात्रै म्यासेजमा आएको नम्बर राखेपछि मात्रै कारोबार रकम भुक्तानी गर्न सक्नुहुन्छ । यसरी हेर्दा हरेक हिसावले यो कार्ड सुरक्षित छ । कसैको कार्ड हरायो, पिन नम्बर र मोबाइल समेत पायो भने मात्रै असुरक्षित हुनेहुन्छ । अन्यथा अरु कुनै हिसाबले असुरक्षित छैन ।

यो कार्डको प्रयोगले आर्थिक कारोबार र व्यवहारमा कस्तो परिवर्तन देख्न सकिन्छ ?

यो कार्डको प्रयोगसँगै सबैभन्दा पहिला सहकारी तथा बैंक वित्तीय संस्थामा पारदर्शी बनाउने काम गर्दछ । डिजिटल माध्यमबाट पैसाको कारोबार गर्दा परदर्शी हुन्छ । ग्राहकलाई पनि आफ्नो खाताबाट कारोबार गर्दा के-के मा आफूले कारोबार गरे भन्ने कुरा थाहा पाउन सक्छन् । ग्राहकले जसलाई भुक्तानी गरेको छ, उसले पनि कहाँबाट पैसा आयो भन्ने कुरा देखिन्छ । त्यसले गर्दा वित्तीय पारदर्शीमा महत्वपूर्ण भूमिका खेल्छ ।

हाम्रो जस्तो अल्पविकसित देश, जसमा पैसाको जहिले पनि अनियमिताता हुन्छ र नोट पनि विदेशबाट मात्रै छापेर सबै सुरक्षा राखेर ल्याउन सक्नुपर्छ । बजारमा नगद विस्तार गर्दा देशले पनि धेरै खर्च गरिरहेको हुन्छ । कार्डकाे प्रयोगले नोटकाे प्रयोग कमि ल्याउने पहिलो काम गर्छ । करिब ८३ लाख सहकारीका सदस्यहरुले कार्ड नै प्रयोग गर्नुभयो भने कारोबारको डिजिटल माध्यमबाट रकम प्रयोग हुन्छ । त्यसले गर्दा सबै क्षेत्रमा पारदर्शिता ल्याउनेदेखि सुरक्षा समेत हुन्छ । सहकारीका ग्राहकले कार्ड प्रयोग गर्दा सहकारीका ग्राहक समेत बढ्ने हुन्छन् । अहिले २७ वटा बैंक छन् । २७ बैंकका एक सयदेखि तीन सय शाखाहरु छन् । जसमा बैंकहरुको आउटलेट छ त्योभन्दा सहकारीको प्रयोग बढी रहेको छ । ग्राहकहरुले पैसा झिक्नको लागि निश्चित समयमा मात्रै पैसा झिक्न पाउने हुन्छन । कार्ड प्रयोग गर्दा यस्तो स्थिति पनि हुँदैन । बैंकहरु नपुगेको स्थानमा सहकारीको उपस्थिति छ । त्यस्तो ठाँउमा पनि ग्राहकहरुले जतिबेला सुकै पैसा झिक्न सक्छन्। सहकारीलाई पनि कार्ड प्रयोगमा ल्याउनको लागि ट्रान्सफोरेन्सी व्यवस्थापन गर्नुपर्छ । डिजिटल सवफ्टवेयरमा डाटाहरु राख्नुपर्छ ।

यस प्रकारको कार्ड प्रयोग गर्नेले अतिरिक्त शुल्क पनि बुझाउनु पर्छ, प्रविधिमा पनि खर्च गर्नु पर्छ ?

सनराइज बैंकका ग्राहकलाई एटिएम कार्ड दिँदा जति खर्च हुन्छ, सहकारीका ग्राहकलाई कार्ड दिँदा पनि त्यति नै खर्च हुन्छ । बैंकले सहकारीका ग्राहकलाई अन्य शुल्क लिदैन। अहिले बैंकहरु यति ठूलो भइसके कि आफैँले स्विच राख्ने क्षमता राख्छन्। स्विच मात्रै राखेर भएन । त्यसको व्यवस्थापन, त्यसको सुरक्षाको व्यवस्थाहरु पनि गर्न सक्नुपर्याे । त्यसैले बैंकलाई ठूलो सेटअप चाहिन्छ।

अब धेरै बैंकहरु मिलेर स्विच स्थापना गरेका छन् । लागत शेयरिङ बेसिसमा हुन्छ । अहिले केही बैंकले एक्लै गर्छौं भनेर गर्नुभएको छ । सबै लागत आफैँले लिनुभएको छ । धेरै बैंकहरुले शाझा स्वीच रहेको छ । जसमा सहकारीहरुले पनि यो सुविधा लिनको लागि नेप्ससँग जोडिएको हुन्छ । उहाँहरुले त्यसको लागि मिलेर खर्च गर्नुभएको छ । त्यति ठूलो लागत पनि लागि नसकेको अवस्था छ । जसले गर्दा ग्राहकहरुले पाउने कार्डमा अन्य लागत जोडिन्छ कि भन्ने हाेइन ।

यसको लागि सरकारले वित्तीय पहुँच, डिजिटल बैंकिङ बढाउने भनेकाे छ । मौद्रिक नीतिमा पनि याे विषय समेटिएकाे छ । सहकारीहरुलाई पनि वित्तीय कारोबारमा डिजिटल बनाउने कुरा मौद्रिक नीतिमा लेखिएको छ । त्यही सोच तथा पहिलेदेखिको अवधारणा भएकाेले सनराइज बैंकले यसमा प्राथमिकता दिएर केही गर्न सकिन्छ कि भनेर अध्ययन गर्दा अगाडि आएको कुरा हो ।

यो तत्कालै भएको कुरा होइन, धेरै समयको तयारी गरेर आएको हो ।अब यसको सहकारीका सदस्यहरुले कत्तिकाे प्रयोग गर्नुहुन्छ । उहाँहरुले जति प्रयोग बढाउँदै जानुभयो त्यति नै डिजिटलहरु कारोबार बढ्ने विश्वास रहेको छ। यही अवधारणा अनुसार बैंक अगाडि बढेको छ । जुन दक्षिण एसियामा नै पहिलो पटक नेपालमा ल्याइएको छ। पछिल्लो समय नेपालमा क्यूआर कोड मार्फत कारोबार गर्ने भने पश्चात् हाम्रो पैसा हाम्रै देशमा रहोस् भन्ने अवधारणा अनुसार सबै बैंकहरुले शुरुवात गरेका छन् । यसमा सनराइज बैंक पनि लागि परेको छ । डिजिटल कारोबार बढाउनको लागि नेटवर्क बनाउने काम गर्दै आएको छाै‌ । सहकारीमा पनि क्यूआर काेड राख्नु पर्छ भन्ने सुझाव आएको छ । यसलाई पनि बैंकले सोच बनाएको छ । डिजिटल बैंकिङ कारोबारको लागि सनराइज बैंकले महत्वपूर्ण योगदान पुर्याएकाे छ ।

सहकारीमा रहेका समस्याहरुमा उहाँहरुले आफ्नो संस्थाको पूरै तथ्याङ्कहरु सिस्टममा राख्नु पर्यो । सहकारी सिस्टमबाट चलाउनु पर्यो । सिस्टममा चल्ने सहकारीहरुले यस्तो किसिमको काम गर्नु सक्नुहुन्छ । यो कार्ड लागू हुँदा सहकारीमा खाता भएका ग्राहकले एटिएमबाट पैसा झिक्ने बित्तिकै सहकारीको खाताबाट पैसा काटिन्छ । त्यो किसिमको सहकारी संस्था हुनुपर्यो । त्यस्तो खालको सहकारी संस्थाहरु बैंकसँग जोडिएका छन्। अहिले चार वटाबाट शुरु गरे पनि चालु आर्थिक वर्षभित्र २४ वटामा गर्ने योजना बनाएका छौं। तर सहकारीहरु २४ वटा भन्दा धेरै छन् । सनराइज बैंकका सबै शाखाहरुले सहकार्य गरेर बैंकले यस्तो गर्नसक्छ भनेर सहकारीहरुको योजना भए बैंकले माग पूरा गर्ने तयारी गरेका छौं । सहकारीहरुबाट सकारात्मक कुरा आएका छन्।

तपाईहरुले सुरु गरेको यो सेवाले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई कसरी सहयोग गर्छ ?

सनराइज बैंकले बैंकिङ साक्षरताको काम निरन्तर रुपमा अगाडि बढाएको छ । राष्ट्र बैले पनि गर्नु भन्ने निर्देशन गर्नु भएको छ।त्यस्तै बैंकले सिएसआरमा केही रकम खर्च गर्नु पर्छ । डिजिटल कारोबारको कुरा गर्दा स्थान र मान्छे हेरेर हुन्छ। कस्तो खालको शिक्षा चाहिन्छ भन्ने हेरेर हुन्छ । त्यस्तै खालको बैंकिङ शिक्षा दिनको लागि बैंकहरुले मिलेर डिजिटल कारोबारको विषयमा कार्यक्रमहरु गर्ने योजना बनाएको छन् । शहरमा बसेका सहकारीका सदस्यहरुलाई कार्डको विषयमा शिक्षा दिनुपर्छ जस्तो लाग्दैन । उहाँहरु यो विषयमा धेरै जानकार हुनुहुन्छ। सहकारी भएका धेरै ठाउँहरुमा डिजिटल कारोबारको विषयमा थाहा नहुन सक्छ । उहाँहरुको लागि सुरक्षाको विषयमा जानकारी दिनुपर्छ । त्यसको लागि बैंक तयार छ। त्यही अनुसार योजना बनाइरहेको पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.