पाँच महिनामा थपियो ३९ ठूला उद्योगमा १ खर्ब १६ अर्ब लगानी, प्रभु डिजिटलले थप्यो १ अर्ब

  २०७८ पुष २२ गते १२:०८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ठूला उद्योगमा करिब सवा खर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि पुस १ गतेसम्ममा स्वदेशी लगानीका ३९ वटा ठूला उद्योगमा लागि एक खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो ।

चालु आर्थिक वर्षको ५ महिनामा स्वीकृत भएको लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो ।

विभागका अनुसार गत आर्थिक वर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म) १६ उद्योगमा ५६ अर्ब रुपैयाँ बराबरको मात्र लगानी स्वीकृत भएको थियो । २०७७ को साउनदेखि पुस १ गतेसम्ममा १६ ठूला उद्योगमा ५६ अर्ब ६३ करोड ७९ लाख २३ हजार बराबरको लगानी स्वीकृत भएको विभागले जानकारी दियो ।

चालु आर्थिक वर्षको ५ महिनामा भने ३९ वटा ठूला उद्योगमा लगानी थपिएको छ । विभागका अनुसार सो अवधिमा उर्जा क्षेत्रका १४ उद्योगमा लगानी थप भएको हो । उर्जाका १४ उद्योगमध्ये सोलारमा २ र बाँकी १२ उद्योग हाइड्रोपावर क्षेत्रका छन् ।

यस्तै, मनाङको नासोङ गाउँपालिकामा तीनवटा जलविद्युत आयोजना निर्माणको लागि लगानी स्वीकृत भएको छ । ती जलविद्युत आयोजनाहरुमा ४५ अर्ब १४ करोड रुपैयाँ लगानी हुने भएको हो । बुटबल पावर कम्पनीले चिनिखोला जलविद्युत आयोजनामा मार्फत नासोङमा १ अर्ब २९ करोड ६३ लाख ५७ हजार, सिता हाइड्रोपावरले १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ र बुटबल पावर कम्पनीले मनाङकै नासोङमा ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानी गर्ने स्वीकृति लिएका छन् ।

पुवाखोला वान हाइड्रोपावरले ओखलढुंगाको मोलुङ गाउँपालिकामा ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ, हिमाली हाइड्रो फन्डले ताप्लेजुङको पापुङ गाउँपालिकामा १ अर्ब ९० करोड, वाटर इनर्जीले इलामको देउमाई नगरपालिकामा हाइड्रोका लागि १ अर्ब ६५ करोड २२ लाख ६३ हजार र कोप्लाङ ईनर्जीले दोलखाको गौरीशंकर गापामा १ अर्ब २९ करोड २२ लाख २४ हजार रुपैयाँ लगानीको स्वीकृति पाएका छन् ।

यस्तैगरी, मेन्छिमय हाइड्रोले संखुवासभाको चैनपुर नगरपालिकामा १ अर्ब ३० करोड ५१ लाख, रुरुगाड पावर कम्पनीले कालीकोटको तिलागुफामा ४ अर्ब ३७ करोड ८८ लाख, रिभरसाईड हाइड्रो इनर्जीले ताप्लेजुङको फत्ताङलुङमा ५ अर्ब ९५ करोड ७० लाख, ठूलोखोला हाइड्रोपावरले म्याग्दीको रघुगंगा गाउँपालिकामा २ अर्ब ५५ करोड ६९ लाख र ब्रहयणी हाईड्रोपावरले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५ अर्ब ९५ करोड रुपैयाँ लगानी स्वीकृत गरेका हुन् ।

विभागको तथ्यांक अनुसार उत्पादनमुलक क्षेत्रका १७ वटा उद्योगमा २६ अर्ब ९० करोड ३३ लाख, पर्यटन क्षेत्रका ५ उद्योगमा ११ अर्ब ४९ करोड ६ लाख, सेवामूलक क्षेत्रका २ उद्योगमा २ अर्ब १३ करोड ६६ लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित उद्योगमा प्रभु डिजिटल लिमिटेडले १ अर्बको लगानी स्वीकृत गरेको छ ।

गत आर्थिक वर्षमा लगानी स्वीकृत भएका उद्योगहरुमा उर्जा क्षेत्रका ११ वटा, उत्पादनमूलक क्षेत्रका २, पर्यटनका २ र कृषि क्षेत्रको एक उद्योगमा उक्त लगानी स्वीकृत भएको थियो । गत आर्थिक वर्षमा जम्मा ४ क्षेत्रका उद्योगमा लगानी आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.