मानसिक रोग कम गर्न पनि कुकुर उपयोगी, के हो डग थेरापी ?

  २०७८ पुष १४ गते १७:२०     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्वमा मानसिक रोगका बिरामीहरु बढेको विभिन्न तथ्यांकहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४ जनामध्ये एक जना व्यक्ति कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित छन् ।

सुरुमा मानिसहरुमा ‘एन्जाइटी’ हुने र त्यसपछि ‘डिप्रेसन’ हुने देखिएको विश्व संगठनले जनाएको छ ।

मानसिक तनाव हुनुका पछाडि थुप्रै कारणहरू छन् । कसलाई कुन विषयले बढी तनाव दिन्छ भन्ने यकिन हुँदैन । हरेक व्यक्तिको मानसिक तनावको कारण बेग्लाबेग्लै हुन सक्ने मानसिक रोग विशेषज्ञहरुले बताउँदै आएका छन् ।

नेपालमा मानसिक रोगीहरुको यकिन तथ्यांक छैन । तरपनि ५० देखि ६० लाख नेपालीमा मानसिक समस्या हुन सक्ने अनुमान गर्छन्–त्रिवि शिक्षण (टिचिङ) अस्पतालका मानसिक रोग सेवा विभागका प्रमुख प्राडा सरोज ओझा ।

उनका अनुसार नेपालमा तनाव कम गर्न परामर्श बाहेक खासै कुनै पनि प्रकारको उपचार छैन । तर, विश्वमा भने मानिसहरुले जनावरहरुलाई थेरापीको रुपमा प्रयोग गरेको पाइन्छ ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य नेपालमा पहिलादेखि नै मानसिक समस्या हुने गरेपनि पछिल्लो समय सचेतना बढेका कारण खुलेर आउने र समस्या भएको थाहा हुने अवस्था रहेको बताउँछन् । उनले नेपालको कुल जनसंख्याको २० देखि ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको पाइएको छ ।

विश्वमा पनि मानसिक रोगीको संख्या बढ्दो छ । मानसिक रोगको उपचारको लागि विकसित देशहरुले कुकुरको प्रयोग गर्ने गरेका छन् । कुकुरको प्रयोगबाट हुने ‘डग थेरापी’ विश्वमा लोकप्रिय हुन थालेको छ ।

थेरापी डगको प्रयोग

कुकुर र मानिसबीच सधैं एउटा आत्मिय सम्बन्ध रहेको पाइन्छ । विभिन्न अध्ययनका अनुसार मानसिक तनाव कम गर्ने एउटा राम्रो विकल्प कुकुर पनि हो ।

अध्ययनहरुका अनुसार कुकुर पाल्नाले तनाव हार्मोन र्कोर्टिसोल कम गुर्नको साथै मानिसमा भएको फिलगुड हार्माेन अक्सिटोसिनको मात्रा बढाउँछ । कुकुरले तनावसँगैं मानिसको ब्लड प्रेसर कम गर्न, शारीरिक गतिविधि बढाउने र मुटुलाई स्वस्थ राख्ने काम पनि गर्छ ।

यही क्रममा डग थेरापी प्रयोगमा आएको विभिन्न अध्ययनहरुले उल्लेख गरेका छन् । यद्यपि, यो विधि नयाँ भने होइन । यसअघि पनि मानिसहरु जनावरहरुलाई तनाव कम गर्नको लागि प्रयोग गर्थे । सन् १६०० मा ग्रिकमा बिरामी मानिसहरुको आत्माविश्वास बढाउन घोडाको प्रयोग गर्थे । यस्तै, हाल आएर मासिनहरुले कुकुर, बिरालो, मुसा, खरायो जस्ता जनावरलाई यसको लागि प्रयोग गरेको पाइन्छ ।

हवाई कम्पनीहरुले समेत मानिसहरुको भावनात्मक रुपमा सहयोग गर्न जनावरहरुलाई मानिससँगै हवाई यात्राको अनुमति दिने गरेका छन् । तर, कुकुरहरुले तनाव कम गर्न मद्धत गर्छ भन्दैमा सबै कुकुरले थेरापी डगको काम भने गर्न सक्दैनन् । यसको लागि सामान्य कुकरभन्दा फरक हुनुपर्छ । जस्तै, तपाईंको कुकुरले तपाईलाई धेरै माया गर्छ भन्दैमा त्यसले थेरापी डगको रुपमा काम गर्छ भन्ने हुँदैन ।

थेरापी डगको रुपमा काम गर्नको लागि तपाईको कुकुर शान्त स्वाभावको, मिलनसार र अपरिचत व्यक्तिहरुलाई पनि माया देखाउने खालको हुनुपर्दछ । तपाईको घरमा ज्ञानी भएको कुकुर अन्य स्थानमा रहँदा फरक हुनसक्छ । त्यसैले तपाईंले पालेको कुकुर सबै थेरापी डगको रुपमा काम गर्न सक्दैन । थेरापी डगले छिट्टै रिसाउने र तनाव लिने हुनुहुँदैन ।

थेरापी डगले मानिसले छोएको मन पराउनुको साथै कुनै बिरामीले उसलाई मन नपर्ने तरिकाले छुँदा आक्रामक प्रतिकृया नदेखाउने स्वाभावको हुनुपर्छ ।

थेरापी डगहरुले मानिसहरुको जीवन सुधार गर्न आफ्नो मालिकहरुसँग विद्यालय, अस्पताल र नर्सिङ होमहरुमा गएर स्वयंसेवकको काम गर्दछन् । थेरापी डगहरुले धेरै चिन्ता लिने, शोक र एक्लो भएकाहरुलाई उनीहरुको दुःख कम गर्न मद्दत गर्दछ । उनीहरुले मानिसको आत्माबल बढाउन मद्दत गर्नुको साथै मुख्यत मानिसहरुसँग केही समय बिताएर उनीहरुलाई खुशी पार्छ ।

नेपालमा पनि कुकुर पाल्नेको संख्या समयसँगै निकै बढ्दो छ । समयले मानिसलाई व्यस्त बनाएको कारण मानिसहरु एक्लिदै गएका छन् । जसकारण मानिसहरुले कुकुरलाई साथी बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.