नयाँ वर्षमा पनि छैन होटलमा रौनक, पर्यटकको पर्खाइमा व्यवसायी

  २०७८ पुष १३ गते १८:३६     विकासन्युज

काठमाडौं । विगतका वर्षहरु अंग्रेजी नयाँ वर्षमा पनि नेपालका होटलहरु भरिभराउ हुने भएपनि विगत दुई वर्षदेखि भने नेपाली होटलहरुमा रौनक देखिएको छैन । अंग्रेजी नयाँ वर्ष सुरु हुन २ दिन मात्रै बाँकी रहँदा नेपाली होटलहरुमा कुनै रौनक छैन ।

यस वर्षपनि कोरोना भाइरसको जोखिम कायमै रहँदा होटलहरुमा पर्यटकको चहलपहल न्यून देखिएको हो । दुई वर्षदेखि बाह्य पर्यटक कम आउँदा आन्तरिक पर्यटकले धानेको नेपालको पर्यटन तथा होटल क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा खासै रौनक नदेखिएको व्यवसायीको गुनासो छ ।
पर्यटकीय नगरीको रुपमा चिनिने पोखरा, सौराहा लगायतका क्षेत्रमा पर्यटकको चहलपहल न्यून भएको पर्यटन उनीहरु बताउँछन् ।

अंग्रेजी नयाँ वर्षको समयमा पोखरामा अधिकाशं होटलहरु भरिभराउ हुने गरेका थिए । सडकमा नै खाउँ सडकमा नै रमाउँ भन्दै पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले नयाँ वर्षमा विभिन्न कार्यक्रमहरु समेत गर्दै आएका थिए ।

तर, कोभिडका कारण रोकिएको अभियान यस वर्षबाट सुरु गर्न थालिएको व्यवसायीहरुले बताएका छन् । होटल संघ पोखराले गत वर्षको तुलनामा यस वर्षको नयाँ वर्षमा आन्तरिक पर्यटकले न्यून मात्रामा होटल बुक गरेको जनाएको छ ।

संघका अध्यक्ष लक्ष्मण सुवेदी अंग्रेजी नयाँ वर्षको समयमा पोखरामा पर्यटकको चहलपहलमा कमी आएको बताउँछन् । ‘गत वर्ष कोभिडको समयमा पनि नयाँ वर्ष सुरु हुनु अगाडीदेखि नै चहलपहल बढेको थियो, अहिले सुनसान देखिएको छ’, उनले भने, ‘अहिलेसम्म नयाँ वर्षका लागि भनेर १५ प्रतिशत मात्र होटल बुक भएका छन् । अग्रिम बुक नभएपनि नयाँ वर्षको दिन होटलहरु भरिभराउ हुने अनुमान गरिएको छ ।’

गत वर्ष नयाँ वर्षको समयमा पोखरामा ६० प्रतिशतभन्दा बढी होटल बुकिङ भएका थिए । उनले आन्तरिक पर्यटकमा होटल बुक गर्ने प्रचलन विकशित नभइसकेको बताए ।

‘विदेशी पर्यटक आउनभन्दा अगाडि नै होटल बुक गर्ने गर्थे, अहिले पोखरामा न्यून मात्रामा विदेशी पर्यटकहरु छन्, पछिल्लो समय पोखराका पर्यटन क्षेत्र आन्तरिक पर्यटकले धानिएको छ । होटल बुक न्यून मात्रामा हुँदा पर्यटक नै नआउने हुन की भन्ने शंका व्यवसायीमा देखिएको छ’, उनले भने ।

‘हामीले अनुमान मात्र गर्ने हो, गत वर्ष पनि नयाँ वर्षकै दिन सबै होटल भरिएका थिए, अहिले पनि भरिन्छन भन्ने मात्र हो’, उनले भने ।

३० प्रतिशत छुट दिने

होटल संघ पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा होटलमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । यसअघि नै संघमा आवद्ध भएका होटललाई नयाँ वर्षमा ३० प्रतिशत छुट दिन संघले परिपत्र गरेको थियो ।

अध्यक्ष सुवेदीले कोभिडले थलिएको पर्यटन क्षेत्रलाई माथि उठाउन होटलमा छुट दिन लागिएको जानकारी दिए ।

होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले अंग्रेजी नयाँ वर्षमा समेत पर्यटन क्षेत्रमा उत्साह नदेखिएको बताए । उनले नयाँ वर्षमा पर्यटन तथा होटल क्षेत्रमा केही होला भन्ने अनुमान गरेका व्यवसायीलाई ओमिकोनले धक्का दिएको बताए ।

चितवनमा ४५ प्रतिशत होटल बुक

नयाँ वर्षका लागि चितवनका ४५ प्रतिशत होटलहरु बुक भएका व्यवसायीहरुले बताएका छन् । होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले नयाँ वर्षका लागि ४५ प्रतिशत होटल बुक भएको बताए ।

उनले गत वर्षको तुलनामा आधा मात्र होटल बुक भएको बताए ।

‘गत वर्ष कोभिडको समयमा समेत ९० प्रतिशतसम्म होटल बुक भएका थिए, तर अहिले न्यून मात्रामा बुकिङ भएको छ’, उनले भने । नेकपा एमालेको महाधिवेशन पछि किष्मश र नयाँ वर्षमा उल्लेख्य मात्रामा होटल बुक हुने अनुमान गरेका थियौँ, तर सोचे अनुसार बुकिङ नभएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.