नबिलसहित ८ वाणिज्य बैंकको सेयर किन्नेले लाभांश पाउने (सूचीसहित)

  २०७८ पुष ९ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न १० वटा वाणिज्य बैंकले पुस महिनाभित्र साधारण सभा गर्ने तयारी गरेका छन् । साधारण सभा गर्न बाँकी रहेका १२ वाणिज्य बैंकमध्ये १० वटाले यही महिनाभित्रै सम्पन्न गर्ने गरी मिति तय गरेका हुन् ।

सनराइज, प्रभु, नेपाल एसबिआई, एनएमबि, एनसीसी, कृषि विकास, नबिल, सिद्धार्थ, सेञ्चुरी कमर्शियल र सिभिल बैंक यही महिनाभित्रै  सभा गर्ने तयारीमा रहेका छन् । उनीहरुले सार्वजनिक सूचना जारी गर्दै अबको २१ दिनभित्रमा सम्पन्न गर्ने गरी गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभा डाकेका हुन् ।

पुसको महिनामा अधिकांश कम्पनीहरुलाई साधारण सभाको चटारो हुन्छ । कम्पनी ऐन अनुसार सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा सभा गरिसक्नु पर्ने प्रावधान रहेकोले पनि उनीहरु सभा गर्नमै व्यस्त हुन्छन् ।

उनीहरुले सभाको मितिसँगै सभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति समेत तय गरिसकेका छन् । जसमध्ये केहीको बुक क्लोज भइसकेको छ भने केही हुन बाँकी छ ।

साधारण सभा हुन बाँकी तर बुक क्लोज भने भइसकेकोमा सनराइज, प्रभु, नेपाल एसबिआई र एनएमबि बैंक रहेका छन् । यससँगै अब यी बैंकको सेयर किन्नेले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पाउँदैनन् ।

लगानीकर्ताले अझै ८ वाणिज्य बैंकको लाभांश खान पाउने

लगानीकर्ताले अझै ८ वाणिज्य बैंकको लाभांश खान पाउने भएका छन् । सभाको मिति तय गरिसकेका ६ वटा र मिति तय गर्न बाँकी रहेका २ बैंक ९एनआईसी एशिया र हिमालयन० गरी ८ वटाको सेयर किन्नेले गत वर्षको लाभांश पाउने छन् । साधारण सभा बोलाइसकेका एनसीसी, कृषि विकास, नबिल, सिद्धार्थ, सेञ्चुरी कमर्शियल र सिभिल बैंकको पनि हालसम्म बुक क्लोज भएको छैन । बुक क्लोज भइ नसकेकाले यी कम्पनीको सेयर किन्नेलाई लाभांश खाने अवसर छ ।

जसमध्ये एनसीसी बैंकले पुस १२ गते बुक क्लोज गर्दै छ । यससँगै बैंकको लाभांश पाउन इच्छुक हुनेले अब पुस ११ गते आइतबार बैंकको सेयर खरिद गर्न सक्नेछन् । बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, कृषि विकास बैंक र नबिल बैंकले आगामी पुस १६ गते एकैदिन बुक क्लोज गर्ने निर्णय गरेका छन् । यससँगै यी दुई बैंकको प्रस्तावित लाभांश खान इच्छुकले आगामी पुस १५ गते भित्रमा सेयर किन्नु पर्ने हुन्छ । सो अवधिभित्रमा कृषि विकास बैंकको सेयर किन्नेले २१.०५ प्रतिशत र नबिलको सेयर किन्ने तथा होल्ड गर्नेले ३८ प्रतिशत लाभांश पाउने छन् ।

त्यस्तै, सिद्धार्थले पुस १८, सेञ्चुरीले पुस १९ र सिभिलले पुस २० गते बुक क्लोज गर्दै छन् । यससँगै, पुस १७ गतेसम्म सिद्धार्थको, पुस १८ गतेसम्म सेञ्चुरीको र पुस १९ गतेसम्म सिभिल बैंकको सेयर किन्नेले प्रस्तावित लाभांश पाउने छन् ।

एनसीसी र कृषि विकास बैंकको साधारण सभा पनि एकैदिन परेको छ । यी दुबै बैंकले पुस २९ गते सभा गर्न लागेका हुन् ।

४ बैंकको साधारण सभा एकैदिन

चार वटा वाणिज्य बैंकको साधारण सभा एकैदिन परेको छ । नबिल, सिद्धार्थ, सेञ्चुरी कमर्शियल र सिभिल बैंकले एकैदिन अर्थात पुस ३० गते सभा बोलाएका हुन् ।

त्यस्तै, पुस महिनायता एभरेष्ट, लक्ष्मी, प्राइम कमर्शियल र नेपाल बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् ।

मंसिरअघि साधारण सभा गरिसकेका बैंकहरु

वाणिज्य बैंकमध्ये माछापुच्छ्रे, सानिमा, सिटिजन्स, कुमारी, नेपाल बङ्गलादेश, ग्लोबल आईएमई, मेगा, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड र बैंक अफ काठमाण्डू गरी १० वटाले मंसिर महिना अघि नै साधारणसभा सम्पन्न गरी लाभांशसमेत पारित गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.