किन घट्यो डिजिटल भुक्तानी कारोबार ?

  २०७८ पुष १ गते १७:१३     विकासन्युज

काठमाडौं । केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए ।

अधिकारीको पहलमा गत पुस १० गतेबाट सानिमा बैंकले काठमाण्डौं स्थित नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी कार्यक्रम सुरु भएको थियो । तरकारी बजारमा क्यूआर कोड मार्फतको भुक्तानीको सुरुवात नै यहिबाट भएको हो ।

प्रविधिको प्रयोग अन्तर्गत पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेका छन् ।

तरकारी बजारबाट सुरु भएको डिजिलट भुक्तानी अवधारण अनुसार अधिकांश सार्वजनिक स्थानमा विभिन्न सेवा प्रदायक कम्पनीले क्यूआर कोड जडानलाई तीव्रता दिँदै आएका छन् ।

गत असोज महिनासम्म डिजिटल भुक्तानी मार्फत हुने कारोबार रकम र कारोबार संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको थियो । तर कात्तिक महिनामा डिजिटल भुक्तानी मार्फत हुने कारोबार रकमसँगै कारोबार संख्यामा ठूलो रकमले अन्तर देखिएको छ ।

केही समयसम्म आक्रामक रुपमा बढेको डिजिटल कारोबार रकम एकै पटक ठूलो संख्यामा घट्दा गर्भनरले सञ्चालन गरेको अभियानले निरन्तरता नपाएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको (गत साउनदेखि कात्तिकसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत असोज महिनाको तुलनामा कात्तिक महिनामा आईपिएस, कनेट आईपिएस, मोबाइल तथा इन्टरनेट बैंकिङ, वालेट, क्युआरमा आधारित भुक्तानी र अनलाइन (इ–कमर्श) बाट हुने कारोबारमा कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकमा क्युआरमा आधारित भुक्तानी मार्फत पाँच अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत असोज महिनामा यस्तो भुक्तानी ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको भएको थियो ।

आईपिएम मार्फत गत असोज महिनामा २ खर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा कात्तिक महिनामा जम्मा १ खर्ब ३७ अर्ब ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै, गत असोज महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा कात्तिक महिनामा २ खर्ब तीन अर्ब तीन करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार क्यूआर कोर्ड मार्फत गत असोजमा ६ अर्ब ९ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा कात्तिक महिनामा ५अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत असोज महिनामा मोबाइल बैंकिङ मार्फत ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकोमा कात्तिक महिनामा ७८ अर्ब १५ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

त्यस्तैगरी, गत असोज महिनामा बालेट मार्फत १५ अर्ब १८ करोड ७० लाख बराबरको भएकोमा कात्तिक महिनामा १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले असोज कात्तिकमा चाडपर्व भएको र मानिसहरुले नगद बोकेकोले पनि डिजिटल भुक्तानी बढी भएको बताए । उनका अनुसार डिजिटल भुक्तानी कारोबार घट्नुको अन्य कारण भने छैन ।

‘चाडपर्वको समयमा धेरै मानिसहरु शहरभन्दा बाहिर जान्छन्, शहरी क्षेत्रहरुबाट अर्धशहरी क्षेत्र र ग्रामिण क्षेत्रहरुमा नगद प्रवाह पनि बढ्छ, यसले पनि डिजिटल कारोबार घटेको होकि भन्ने हाम्रो बुझाई छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.