अर्थमन्त्रीले सोधेः तरलताको अभाव नहुन बैंकहरुलाई के गर्दिनु पर्याे ?

  २०७८ मंसिर २९ गते १२:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलता अभाव नहुनका बैंकहरुका लागि सरकारले के गर्दिनु पर्याे भनेर प्रश्न गरेका छन् ।

नेपाल उद्योेग वाणिज्य महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले यस्तो प्रश्न गरेका हुन । बैंकिङ क्षेत्रमा लगानी योग्य रकम (तरलता) अभाव भइरहेको सन्दर्भमा मन्त्री शर्माको यस्तो धारण आएको हो ।

बैंकर्स तथा व्यवसायीहरुले सरकारको पुँजीगत बजेट समयमै खर्च हुन नसकेको कारण बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या चर्किरहेको बताईरहेकोे समयमा मन्त्री शर्माले खास समस्या समाधानको बाटो फुकाउनुको सट्टा प्रश्न गरेर पन्छिएका छन् ।

उनले हाल तरलता अभावकाे ठूलो समस्या कायमै रहेकोले बैंकहरुले कर्जामा लिने व्याजदरमा थप चाप पर्ने बताउँदै संकटको घडिबाट अगाडि बढ्ने प्रयत्न गरिरहेका बताए ।

आजको बजारको माग र विकसित प्रविधि हिजोको भन्दा बढेको बताउँदै उनले आजको आवश्यकता र उपलब्धतालाई ध्यान दिएर अर्थतन्त्रलाई नयाँ उचाईमा पुर्याउन सबैले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै, उनले बैंक तथा वित्तीय क्षेत्रमा ३ महिनामा गरेको कर्जा विस्तार सकारात्मक वा नकारात्मक के रहेको भन्दै प्रश्न समेत गरेका थिए । उनले बैंकहरुको डाटा हेर्दा औद्योगिक क्षेत्रमा लगानी गरेको देखिएको जनाउँदै तरलता कमिको कारण व्यादर बढ्ने खतरा देखिएको बताए ।

ब्याजदर बजारलाई छोड्नु पर्ने र नियमनकारी निकायले नियमन गर्ने विषय पनि आइरहेको छ ।

उनले उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थालाई सरकारको नीतिले समस्या पारेको भए सरकार तत्काल समस्याको समाधानतर्फ लाग्ने आश्वासन दिए ।

उनले पुँजीगत बजेट खर्च नहुनुको मुख्य कारण सरकारको फेरबदल र प्रतिस्थापन बजेट भएको जनाउँदै सरकार पुँजीगत बजेट खर्च गर्नतर्फ लागेको जानकारी गराए । उनले अर्थ मन्त्रालय आफै खर्च गर्ने मन्त्रालय नभएको जनाउँदै त्यसका लागि अन्तरमन्त्रालयसँग छलफल भईरहेको समेत बताए ।

उनले नेपालमा पर्याप्त मात्रामा विद्युत भएको भन्दै उद्योगले मागेजति विद्युत दिन सरकार तयार रहेको बताए । स्वेदशी विद्युतको उपयोग गर्नका लागि नै सरकारले मोबाईल तथा गाडी स्वदेशमा उत्पादन गर्न जोड गरिएको उनले बताए ।

मन्त्री शर्माले सरकारको मातहतमा रहेका तर बन्द भएका उद्योग सञ्चालन गर्ने तयारी भइरहेको भन्दै यस्ता उद्योग संचालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने गरी नीति निर्माण भएको बताए । मन्त्री शर्माले सरकार मातहत रहेका तर बन्द अवस्थामा रहेका उद्योग पुनः संचालनको लागि सहभागी हुन निजी क्षेत्रलाई आग्रह पनि गरे ।

यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थमन्त्री शर्माको प्रश्नको जवाफ दिँदै सरकारले सरकारी खर्च बढाउनु पर्ने, नीतिहरु सहज बनाइनु पर्ने बताए।

उनले छोटै समयमा समृद्धि गर्न लगानीमैत्री निति आवश्यक रहेको बताए । सरकारको नीतिहरु लगानीमा प्रोत्साहन गर्ने खालका हुनु पर्ने उनको भनाई छ ।

‘सरकारले विकास निर्मामा सहयोग गर्ने हो भने नीति सहज बनाउनु पर्छ, यसले छोटै समयमा आर्थिक सम्वृद्दि गर्न सकिन्छ,’ उनले भने ।
उनले सरकारी खर्च कम भएकोले नै तरलताको समस्या होकि भन्ने निजि क्षेत्रको बुझाई रहेको बताए ।

फरक प्रसंगमा उनले सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा रोखेको भन्दै चैसम्म शतप्रतिशत जनतालाई खोप लगाउने योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.