शिवम, घोराही सिमेन्ट, हुलास स्टिल र गोल्डस्टारसहित ४० प्रडक्टमा सीएनआईको ‘स्वदेशी’ लोगो

  २०७८ मंसिर २१ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले सञ्चालन गरेको मेकइन नेपाल स्वदेशी अभियानमा हालसम्म ४० वटा कम्पनीहरु जोडिएको बताइएको छ । परिसंघले ४० वटै कम्पनीहरु मेकइन स्वदेशी अभियान अन्तर्गतको सदस्यहरुको रुपमा जोडिएको बताएको हो ।

अब ती ४० वटै कम्पनीहरुबाट उत्पादन हुने वस्तुहरुमा सीएनआईको मेकइन नेपाल स्वदेशी अभियानको लोगो हुनेछ ।

परिसंघका अनुसार हालसम्म शिवम सिमेन्ट, घोराही सिमेन्ट, गोल्डस्टार जुत्ता, डिजिटल वालेट खल्ती, सेन्चुरी मसला, हिलटेक इन्ड्रस्टीज, गार्खा इको प्यानल, हुलास स्टिल लगायत ४० वटा कम्पनीहरु यस अभियानको सदस्यको रुपमा जोडिएका छन् ।

स्वदेशी वस्तु उत्पादन गर्ने कम्पनीले आवेदन दिए अनुसार मापदण्ड पुरा गरेकाहरुलाई स्वदेशी लोगो राख्न अनुमति दिएको परिसंघको भनाई छ ।

सदस्यताका लागि प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्याङ्कन गरी मापदण्ड पूरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाएको परिसंघका अध्यक्ष विष्णु प्रसाद अग्रवालले बताए ।

उनका अनुसार वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्नसक्ने गरी अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याइएको छ । सोही अनलाइन मार्फत आएका आवेदकहरुलाई स्वदेशी लोगो प्रयोग गर्न अनुमति दिइएको हो ।

केही महिना अगाडि मात्रै परिसंघले स्वदेशी डटकम डट एनपी वेब पोर्टल सञ्चालनमा ल्याएको थियो । अध्यक्ष अग्रवालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिई निर्यात बढाउन मद्दत पुर्याउनका लागि यो अभियान कोषेढुङ्गा सावित हुने बताए ।

उनले विश्वका विभिन्न देशले यस्तै अभियानहरू सञ्चालन गरेर स्वदेशी उत्पादन, खपत र निर्यातलाई बढाएको बताउँदै सीएनआईले पनि मेकइन नेपाल स्वदेशी अभियान मार्फत रोजगारी बढाउन, देशको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्न महत्वपूर्ण भूमीका खेल्ने बताए ।

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा उत्पादन र उपभोगतर्फ ७ वटा लक्ष्यहरू तय गरिएका छन् । अभियानको पहिलो खम्बामा नेपाली उद्योगका लागि बिजनेसमैत्री वातावरण सिर्जना गर्ने रहेको छ । जसमा ५ वर्षभित्र डुइङ बिजनेस इन्डेक्समा ३० अंकको सुधार गर्ने लक्ष्य लिइएको छ ।

यस्तै, वार्षिक एक हजार उद्योग दर्ता तथा सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गर्ने परिसंघको योजना छ । यस्तै, कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने लक्ष्य लिइएको छ ।

परिसंघले नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, सोको प्रवद्र्धन एवं उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्ने उद्धेश्यका साथ ०७७ फागुन २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको सञ्चालन गरेको थियो ।

स्वदेशी एप पनि सार्वजनिक

परिसंघले मंगलबार पत्रकार सम्मलेनको आयोजना गरी ‘स्वदेशी’ एप पनि सार्वजनिक गरेको छ । सो एप मार्फत पनि मेकइन नेपाल स्वदेशी अभियान अन्तर्गतका सबै गतिविधि र सदस्यस्ताका ककामहरु पनि हुने बताइएको छ ।

सो एपमा पहुँच भने सदस्यहरुको मात्रै हुनेछ । परिसंघबाट स्वदेशी अभियानको सदस्यमा रुपमा अनुमति पाइसकेपछि परिसंघले सदस्यहरुलाई सो एपका लागि एक्सेस दिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.