हिमालयन रिले रेमिट्यान्सपछिको बढी विदेशी मुद्रा भित्र्याउँछः शेखर गोल्छा (भिडियोसहित)

  २०७८ मंसिर १३ गते १४:४८     विकासन्युज

यतिबेला हिमालयन रिइन्स्योरेन्स कम्पनीले बीमा बजार तताएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सम्भव भएसम्म नेपाली पुनर्बीमा कम्पनीहरुमा नै पुर्नबीमा गराउन निर्देशन दिएपछि यसको पक्ष र विपक्षमा विचारहरु सार्वजनिक भैरहेका छन् । कतिपयले बीमा समितिको निर्देशनले बीमा क्षेत्रलाई ठूलो जोखिममा पारेको बताइरहेका छन् भने कतिपयले नयाँ व्यवस्थाको कारण पुनर्बीमा मार्फत विदेशीले ठूलो मात्राको विदेशी मुद्रा देशभित्रै रहने बताइरहेका छन् । आलोचकहरुले बीमा समितिको पछिल्लो निर्देशन हिमालयन रिइन्स्योरेन्सलाई फाइदा हुने गरी जारी गरेको भन्दै बीमा समितिको आलोचना पनि गरिरहेको छन् । वास्तविकता के हो त ? उक्त कम्पनीको अध्यक्ष शेखर गोल्छासँग हामीले सोधेका छौं ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ?

हिमालयन रिन्स्योरेन्स कम्पनी अहिले नेपालमा थप एउटा पुनर्बीमा कम्पनीका रुपमा स्थापना भएको छ । पहिले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी मात्रै थियो । नेपालमा अर्को पुनर्बीमा कम्पनीको आवश्यकता महसुस गरेर नै हामीले हिमालयन रिन्स्योरेन्सलाई सञ्चालनमा ल्यायौं । अहिले वार्षिक २३ अर्ब रुपैयाँ नेपालबाट बाहिरिरहेको छ । सोधान्तर स्थिती गम्भीर रुपमा घटिरहेको छ । यस्तो अवस्थामा हामीले विदेशी मुद्रालाई बचाउन सक्ने हरेक उपायलाई प्रोत्साहन गर्नु पर्ने अवस्था छ । सोही कारणले पनि हिमालयन रिइन्स्योरेन्स नेपाली बजारमा आएको हाे । बीमा समितिले पनि विभिन्न प्रक्रियाबाट हामीलाई लाइसेन्स दियो । अहिले काम पनि सुरु गरिसकेका छौं ।

यो कम्पनीको व्यवस्थापन टीममा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त व्यक्ति आउनु भएको छ । उहाँहरुले नै यो कम्पनीको नेतृत्व गरिरहनु भएको छ । हामी कम्पनीका रुपमा नयाँ भएपनि अनुभवका आधारमा पूरानो कम्पनी भएका छौं । हाम्रो व्यवस्थापनमा १०/१५ वर्ष अनुभव भएका व्यक्तिहरु हुनुहुन्छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले नै पुनर्बीमामा ३०/४० वर्ष काम गरेको अनुभव छ ।

वार्षिक बाहिरिरहेको २३ अर्ब रुपैयाँलाई रोक्नको लागि यस्ता कम्पनीहरुले महत्वपूर्ण काम गर्न सक्छन् भन्ने हाम्रो बुझाई छ । हामीले बाहिरको पुनर्बीमा विजनेस गर्नको लागि प्रयास गरिरहेका छौं । हाम्रो टीम अनुभवी छ । भारत लगायतका देशबाट हामी विजनेश ल्याउन सक्छौं । र नेपालको सोधान्तर घाटाको अवस्थालाई कम गर्न सक्छौं । हामीले ठूलो लक्ष्य लिएका छौं ।हामीले लक्ष्य लिए अनुसारको काम गर्न सक्यौं भने रेमिट्यान्सपछि बढी विदेशी मुद्रा नेपाल ल्याउन सहयोग गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स बन्न सक्छ ।

कन्ट्री रेरिटङ बिनै विदेशबाट विजनेस ल्याउन सम्भव छ, रेटिङ पाउन सहज छ ?

कन्ट्री रेटिङ नपाउनु हाम्रो पनि कमजोरी छ । कन्ट्री रेटिङ बिना विजनेस अगाडि बढाउन चुनौति नै हुन्छ । तर, मलाई आशा छ, हामी चाँडै नै कन्ट्री रेटिङ पनि पाउँछौं । हिमालयन रिइन्स्योरेन्सले रेटिङको प्रक्रिया थालिसकेको छ । जनवरीसम्म हामी रेटिङ पाउन सक्छौं ।

गत साता मात्रै बीमा समितिले बीमा कम्पनीहरुलाई नेपालको पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नु भनेर निर्देशन दियो, त्यसको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई कत्तिको असर पर्छ ?

यो बीमा समितिको निर्णय हो । उनीहरुले आफ्नै किसिमबाट यो निर्णय गरेका होलान् । जस्तै, मैले तपाईंलाई वार्षिक २३ अर्ब रुपैयाँ विदेश जान्छ भन्ने जुन कुरा गरेँ । उनीहरुले पनि यो विषयलाई मनन् गरे होलान् । नेपालमा भएको सम्पूर्ण बीमा कम्पनीहरुको बीमा गर्ने क्षमता दुई पुनर्बीमा कम्पनीमा मात्रै छैन । यो हाम्रो देशका लागि राम्रो विषय पनि होइन। भारत बंगलादेशमा पनि यस्तो अभ्यास छ । यो विषयको विज्ञ भने म पक्कै पनि होइन ।

बीमा समितिको निर्देशनपछि बिमकहरुले यसको विरोध गरिरहेका छन्, उनीहरु पुनर्बीमा भनेको जोखिम विविधिकरण गर्ने व्यवसाय हो, यस्तो निर्णय गर्दा जोखिम केन्द्रिकृत हुन्छ र महाविपत्ति आउँदा बीमा उद्योगलाई नै थेग्न नसक्ने अवस्था आउँछ भन्ने छ, यसलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ?

अहिले नेपालमा दुइटा मात्रै पुनर्बीमा कम्पनी छन् । उनीहरुले पनि जोखिम विविधिकरणको लागि पुनर्बीमा गर्न बाहिर नै जाने हो ।सबै जोखिम नेपालमा पनि राख्न सकिँदैन । हिमालयन रिन्स्योरेन्सले पनि विदेशका ठूला पुनर्बीमा कम्पनीहरुसँग नै विजनेस गर्ने हो । हामी सबैले बीमा कम्पनीको नीति निर्देशन अनुसार नै चल्नु पर्छ । हामीले धेरै जोखिम लिन सक्दैनौं । हामीले हामीमा भएको जोखिम पनि अन्य पुनर्बीमा कम्पनीहरुलाई हस्तान्तरण नै गर्नु पर्छ ।

जोखिम वहनका लागि पूँजी पनि हुर्नु पर्ने हुन्छ, हिमालयन रिइन्स्योरेन्सको १० अर्ब मात्रै पुँजी छ, पुँजी वृद्धिबारे कम्पनीले के सोचिरहेको छ ?

हामीले आईपीओमा जाने योजना पनि बनाएका छौं । साधारणसभाले पनि आईपीओको लागि प्रक्रिया गर्न भनिसकेको छ । बीमा समितिबाट हामीले प्रारम्भिक स्वीकृति पाइकसेका छौं । स्वीकृतिका लागि धितोपत्र बोर्डमा पनि जानु पर्ने आवश्यकता छ । अन्य देशको कम्पनीको पूँजी र हाम्रो देशको बजार अनुसार हिमालयन रिन्स्योरेन्स कम्पनीको पूँजी अहिलेको लागि ठीकै छ जस्तो मलाई लाग्छ । अब पब्लिकमा गएपछि आवश्यक पर्यो भने प्रमोटरहरुले पनि पूँजी थप्न सक्नु हुन्छ ।

अहिले तपाईंहरुको प्रतिस्पर्धीका रुपमा नेपाल सरकारको स्वामित्वमा हरेको नेपाल पुनर्बीमा कम्पनी पनि छ, हिमालयन रिन्स्योरेनस कम्पनी पनि पुनर्बीमा गर्ने भनेर आएको छ, बजारमा जान केही जोखिम देख्नु भएको छ ?

हामी प्रतिस्पर्धीभन्दा पनि समकक्षी हो । नेपाल पुनर्बीमा कम्पनीलाई हामीले प्रतिस्पर्धीका रुपमा हेरेका छैनौं। कसरी नेपाली बीमा बजारलाई बढाउने भन्ने उद्धेश्यका साथ हामी काम गर्छौं । विज्ञहरुका अनुसार बीमा कम्पनीहरुको लगानी पुनर्बीमा हुँदैन । हामी सबैका साझा उद्धेश्य भनेको नेपाली बीमा बजार बढाउने हो । जोखिम वहन गर्ने हो । चुनौति त जहाँ पनि हुन्छन् नै ।

बीमा कम्पनीहरुमा त्यसका प्रवद्र्धकहरुले लगानी गर्न पाइँदैन, तर, पुनर्बीमा कम्पनीमा प्रमोटरहरुले नै बीमा गर्ने गरेको पाइन्छ, यो अभ्यासलाई तपाईंले कसरी लिनु भएको छ ?

अन्य देशहरुमा पाइँदैन । नेपालमा पनि यसको जोखिम विश्लेषण गर्न आवश्यक छ । यो अभ्यास गर्यो भने हाम्रो बीमा बजार बलियो हुन्छ कि कमजोर हुन्छ, त्यो विषय अध्ययन गर्न आवश्यक छ । तर,अन्य देशहरुमा पुनर्बीमा कम्पनीहरुमा बीमा कम्पनीहरुको लगानी हुँदैन ।

भिडियाे:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.