एसियाली विकास बैंकद्वारा नेपाललाई ऊर्जा क्षेत्रको लागि ७ अर्ब ऋण सहयोग

  २०७८ मंसिर १० गते १५:३७     विकासन्युज

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ ।

शुक्रबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैंक (एडिबी) र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायता सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र एडिबीकोतर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गरे ।

सम्झौतापछि अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको जलविद्युतको क्षेत्रमा एशियाली विकास बैंकले ठूलो लगानी गर्दै आएको बताए । सचिव मरासिनीले नेपालमा विद्युत ग्रिडलाई आधुनिक बनाँउदै थप सेवा सुविधा र विस्तार गर्नु पर्ने भएकाले एडिबीसँग विद्युत ग्रिड आधुनिक परियोजनाको लागि थप आर्थिक सहयोगको लागि सम्झौता भएको बताए ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले मुलुकभर विद्युतीय लाइन विस्तार गर्दै आएको अवस्थामा एडिबीले विद्युत ग्रिड आधुनिक परियोजनाको लागि गरेको सहयोग महत्वपूर्ण भएको बताए । उनले प्राधिकरणले स्मार्ट बिलिङ प्राणलीको तिव्र विकास गरिरहेकाे पनि बताए ।

एडिबीले उपलब्ध गराउने ऋण सहायताको रकम विद्युत प्राधिकरणमार्फत विद्यूत ग्रिड परियोजना कार्यान्वयनका लागि खर्च गरिने भएको छ । एडिबीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत, प्रसारण लाइन तथा वितरण लाइनको निर्माण तथा स्तरोन्नतिका लागि ऋण सहायता उपलब्ध गराउँदै आएको छ ।

एडिबीसँग दुधकोशी जलविद्युत तथा बुटवल पश्चिमको ट्रान्समिसन लाइनको लागि समेत अर्थमन्त्रालयले सहयोग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.