मोदी गाउँपालिकाले घरेलु उत्पादनको प्रदर्शनी मेला सुरु

  २०७८ मंसिर १० गते १२:०३     विकासन्युज

काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर पालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा अन्य उद्यमको प्रदर्शनी गरेको हो ।

मङ्सिर ९ देखि ११ गतेसम्म सञ्चालन हुने गरी आयोजना गरिएको प्रदर्शनीमा विभिन्न २० भन्दा बढी कक्षमा स्थानीय उत्पादन, खानाका परिकार, घरबासको आतिथ्यता, स्थानीय संस्कृति झल्किने गरी प्रदर्शनी राखिएको छ ।

जिल्लाका सबैभन्दा धेरै घरबास सञ्चालन रहेको उक्त गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउरालीलगायतका स्थानबाट स्थानीय संस्कृतिसहितको घरबास झल्किने गरी खाना तथा परिकार प्रदर्शनीस्थलमा राखिएको छ । उच्च भूभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्री प्रदर्शनीमा आकर्षणका रूपमा राखिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेषगरी स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीलाई प्रोत्साहन दिलाउने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसनबहादुर क्षेत्रीले बताए ।

प्रदर्शनीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले पालिकालाई समृद्ध बनाउनका लागि स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन महत्वपूर्ण रहेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.