८३ रुपैयाँमा किनेको पेट्रोल १३६ रुपैयाँमा बेच्दा कसरी घाटामा गयो निगम ?

  २०७८ कार्तिक २६ गते १२:२४     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले बुधबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्छन र खाना पकाउने एलपी ग्यास) को मूल्य बढाएको छ ।

इण्डीयल आयल कर्पाेरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पछिल्लो १२ दिनको अबधिमा २ पटक सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बुधबार पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ वृृद्धि गरेको थियो । १२ दिनमा मूल्य बढाएको निगमले घाटा खाएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको जनाउँदै आएको छ ।

बढेको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३६, डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५७५ पुगेको छ । यसैगरी, आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको निगमले जनाएको छ ।

ग्यासको १५७५ र डिजेलको ११९ रुपैयाँ मूल्यि हालसम्मकै उच्च हो । निगमका अनुसार आन्तरिक बजारमा मूल्य बढ्ने क्रममा खाना पकाउने ग्याँसको मूल्य हालसम्मै उच्च बिन्दुमा पुगेको हो ।

प्रतिलिटर ८३ मा खरिद

नयाँ मूल्य सूची अनुसार निगमले इण्डीयन आयल कर्पाेरेशनबाट पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गर्ने गरेको छ । ८३.४९ रुपैयाँमा खरिद गरेको पेट्रोल निगमले काठमाडौं उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ ।

खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा समेत निगमले प्रतिलिटर १७.५८ रुपैयाँ घाटा खाएर बिक्री गर्दा १५ दिनको अवधिमा ६१ करोड २५ लाख रुपैयाँ नोक्सान भएको जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दावी गरेको छन् ।

घाटा पूर्ति गर्न आयल निगमले बैंकहरूबाट पैसा झिकिरहेको बताउँदै उनले सरकारले नै यसलाई व्यवस्थित बनाउन लाग्नुपर्ने सुनाए । उनले पेट्रोलियम पदार्थको विकल्प नहुँदासम्म मूल्य समायोजनको विकल्प नभएको बताए ।

निगमको तथ्यांकअनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ । त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ जोडिन्छ ।

यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३.७७ रुपैयाँ, पेट्रोलियम बिक्रेता मुनाफास्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.