सेबोन अध्यक्ष खोज्ने समितिप्रति माओवादी कर्मचारीको असहमति, अर्थमन्त्रीले नसुनेपछि प्रचण्ड गुहारिँदै

  २०७८ कार्तिक २१ गते १३:१०     विकासन्युज

काठमाडौं । सरकारले पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोड (सेबोन) का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको छ । सेबोन पुँजी बजारको नियामक निकाय हो भने नेप्से ‘फ्रन्ट लाइन रेगुलेटर’ हो ।

सेबोनका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर आफ्नी छोरीको नाममा खरिद गरेको र केही कम्पनीहरुको सेयर खरिद गर्नु बढी जोखिम हुने भन्दै अपारदर्शी कार्य गरेको जस्ता आरोप लागेको थियो । सो आरोपका विषयमा सरकारले छानविन समिति गठन गरेको थियो भने समितिले ढुंगानालाई दोषी पाइएकोले कार्वाही गर्न सिफारिस सहितको प्रतिवेदन बुझाएपछि गत असोज १९ गते उनलाई सेबोन अध्यक्ष पदबाट हटाइएको थियो ।

यस्तै, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमाथि पनि सर्वाेत्तमको सेयर अपारदर्शी रुपमा खरिद गरेको आरोप लागेको थियो । यस्तो आरोप लागेपछि साउदले गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए ।

पुँजी बजारका दुबै नियामक निकायहरु प्रमुख विहिन बनेपछि सरकारले दुबै निकायको प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको छ । सेबोन अध्यक्ष नियुक्तिको लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको छ ।

सो समितिले कात्तिक ११ गते सार्वजनिक सुचना प्रकाशित गरी सेबोन अध्यक्ष नियुक्तिको लागि आवेदन मागेको छ ।

सरकारले सेबोन अध्यक्ष नियुक्तिको लागि गठन गरेको छनोट तथा सिफारिस समितिप्रति सेबोनका माआवोदी निकट कर्मचारीहरु असन्तुष्ट बनेका छन् । छनोट समितिको संयोजक राष्ट्रिय योजना आयोगका अर्थतन्त्र हेर्ने सदस्यको संयोजकत्वमा बन्नुपर्ने भएपनि सरकारले उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर गलत गरेको उनीहरुको आरोप छ ।

सेबोनका माओवादी निकट कर्मचारीहरु भने अर्थमन्त्रालय माओवादीको भागमा परेकोले सेबोन अध्यक्ष पनि माओवादी निकट व्यक्तिले पाउनु पर्ने अपेक्षामा छन् । तर, छनोट तथा सिफारिस समितिको संयोजक नै काँग्रेस (राष्ट्रिय योजना आयोगका उपाध्यक्ष) निकटकालाई बनाइएपछि केही गडबडी हुन सक्ने भय सेबोनमा कार्यरत माओवादी निकट कर्मचारीहरुको छ ।

‘अर्थमन्त्रालय माओवादीले पाएको छ, जुन मन्त्रालय जसको भागमा पर्छ त्यो मन्त्रालय अन्तरगतका निकायहरुमा नियुक्ति पनि सोही पार्टी निकटकाले पाउने हो तर, सेबोन अध्यक्ष छनोट र सिफारिस समितिको संयोजक आयोगका सदस्य बनाउनु पर्नेमा काँग्रेसी उपाध्यक्षलाई संयोजक बनाएर गडबडी गर्न लागिएको छ, हामी यसको खबरदारी गरिरहेका छौं,’ सेबोनका माओवादी निकट एक कर्मचारीले विकासन्युजसँग भने ।

सेबोनमा कार्यरत माओवादी निकट कर्मचारीहरुले डेपुटी कार्यकारी निर्देशक डा. नबराज अधिकारीलाई लिएर अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, संचार तथा जनसम्पर्क सल्लाहकार गोविन्द रोका ‘सचिन’ लगायतलाई तिहार अघि नै मन्त्रालय गएर भेटेका थिए । अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटेको सो टीमले अर्थमन्त्री शर्माले छनोट तथा सिफारिस समितिको संयोजक नयाँ बनाउन सम्भव नहुने बताएपछि उनीमाथि दबाब बढाउन यस्तो भेटलाई निरन्तरता दिएको हो ।

सेबोनका माओवादी निकट कर्मचारीहरुले सेबोनकै डेपुटी कार्यकारी निर्देशक डा. अधिकारीलाई नयाँ अध्यक्ष बनाउन दबाब दिइरहेका छन् । अर्थमन्त्री शर्माले आफूहरुलाई आश्वस्त पार्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर आफूहरुको धारणा राख्ने प्रयास भइरहेको एक कर्मचारीले जानकारी दिए ।

यस्तै, नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस गर्नको लागि अर्थमन्त्रालयले अर्काे एक समिति गठन गरेको छ । सो समितिले कात्तिक १३ गते नै १५ दिनको म्याद दिएर उम्मेदवारहरुलाई आवेदन दिन सार्वजनिक सुचना प्रकाशित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.