खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

  २०७८ कार्तिक १४ गते १५:१६     विकासन्युज

खोटाङ । दस स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएका सबै सङ्क्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष सङ्क्रमित निको भएसँगै सङ्क्रमितको सङ्ख्या शून्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएसँगै दसवटै स्थानीय तहमा निर्माण गरिएको २३४ शय्याको संस्थागत आइसोलेसन खाली बनेको छ ।

जिल्लामा कोरोना सङ्क्रमित नभएपछि स्थानीय तहहरुमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून देखिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

यसअघि जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीसँगै जिल्लाका सबै मठमन्दिर तथा हाटबजार खुला गरिएको थियो । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिर खुला भएसँगै अहिले भक्तजन तथा पर्यटकको चहलपल सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यहाँ ५२ हजार ५२५ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लाका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गरी दसवटै स्थानीय तहमा खोप कार्यक्रम जारी राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.