एक बैंकरको घरः कोरोना कालको व्यवहार, दशैं तिहार र नयाँ नोट

  २०७८ कार्तिक ६ गते १२:०४     सुशिल घिमिरे ‘त्रैलोक्य’

दशैं भर्खर सकिएको छ । दशैं नेपालीको महान र सबैभन्दा ठूलो चाड पर्व हो । त्यसमा पनि हामी बैंकरहरुलाई बैंकमा अरु वेला हत्तपत छुट्टी नपाउने अत्यावयक पेसा भएकोले दशैं र तिहार जस्तो चाडपर्वमा छुट्टी पाउँदा खुब रमाउछौं ।

मिठो मिठो खान र नयाँ नयाँ लुगा लगाउनभन्दा पनि यो कोरोनाको बेलामा पाइरहेको फोर्स लिभ विदा पनि काटिएकोले र भनेको बेला बिदा नपाइने हुनाले दशैं र तिहारको पाँच छ दिनको विदामा म र मजस्तै समस्त बैंकरहरु साच्चै मख्ख पर्दछन् ।

सधैंको कामको तनाव, हैं, हैं गर्दै बैंकिङ पेशाको भागदौडको जिन्दगी, बिहान नौ नबज्दै अफिस जानुपर्ने । बेलुका सात आठ वजेसम्म काम गरेर अबेर घर आउनु पर्दा र टार्गेटको प्रेसर वास्तवै यो चार पाँच दिनको दशैं छुट्टी मलाई असाध्यै मिठो लाग्छ ।

अरुवेला यो त बैंकमा काम गर्दछ, यसलाई त फुर्सदखनै हुदैन, योसँग भेट नै हुदैन, के यसको घर जानु ? अत्यावश्यक क्षेत्रमा काम गर्छु भन्छ, व्यस्तताको वहाना बनाउँदछ । टोलको सामाजिक काममा पनि भ्याइन है, अफिस जानुछ भन्दै गाउँ टोल आफन्त कोही मर्दा पनि मलामी समेत जादैन । कोरोनाको बेला पनि मेरो बैंक खुल्या छ, मलाई जानु छ भन्दै लखर लखर हिड्छ । यसैले कोरोना सार्ने भयो भन्दै मलाई तिरस्कार र हेयको नजरले हेर्ने मेरा आफन्त, छिमेकी र साथीभाइहरु घटस्थापनादेखि तिहारसम्म दशैमा कहाँ लाइनमा घन्टौं उभिनु, नयाँ नोट तिम्रो बैंकबाट मलाई ल्याइदेउ ल, भन्दै एकविहानै आफन्तजन छरछिमेक घरमै आई नयाँ नोटको डिनेमेशन सहित पैसा मलाई र म नभए मेरो श्रीमतीलाई दिँदा हासो पनि उठ्दछ ।

झन यो पल्ट त दशैंमै क्वाटर्ली क्लोजिङ परेर दशैंको मात्र विदा पाइयो । दुई तीन दिन थप विदा लिएर सपरिवार कही घुम्न जाम भनेको, त्यो पनि पाइएन ।

होइन, पण्डितहरुले पनि हामी बैंकरको मर्म वुझेर बैंकको क्लोजिङमा दशैंको साइत नपार्नु नि, जस्तो पनि लाग्यो यो पल्ट ।

यो पल्ट दशैको छुट्टीमा पनि बसेँ भनेर के भन्नु ? विदामा मोज गरेँ भनेर के भन्नु ? क्लोजिङ परेर टिका थाप्दै गर्दा पनि दिमागमा भने फलानोले लोनको किस्ता हाल्छ कि हाल्दैन, फलानोले गत महिना पनि व्याज हालेन यो पल्ट के गर्छ भनेर बैंकिङ काम मेरो मानसपटलमा घुमिरहयो ।

आखिर हुनपनि भोलि दशैं विदा सकिएपछि उठाउने त किस्तै हो, गर्ने त बैकिङ काम नै हो । धन्न, तिहार चाहीँ बैकिङ क्लोजिङमा परेको छैन र दिमागी प्रेशर तिहारमा हुदैन कि ।

आज पनि घर आइपुग्दा अवेर भयो । राति आठ बज्यो । घर छिर्दै गर्दा श्रीमती फतफताउदै थिइन् । मैले बुझिहालें, आज श्रीमतीजीको मुड खराव छ । जिस्कनु ठिक हुदैन । म चुपचाप हात खुट्टा धोइ भान्सामा सघाउन छिरे । तर, उ एक्लै फतपताएको देखेर भान्सामा सघाउन आँट आएन । र, चुपचाप डाइनिङ कुर्सीमा बसेँ ।

एकछिनपछि उनले मेरो मौनता तोडदै आफै भनिन्, हजुरलाई जसको पनि काम गर्नु पर्ने ? सबैसँग राम्रो हनु पर्ने ? त्यत्रो कोरोनाको बेला सवै जना कोरोना लाग्छ कि भनेर डरले सुरक्षित घरमा बस्दा हजुर चाहीँ बैंकिङ भनेको अत्यावश्यक क्षेत्र हो र यसमा काम गरेपछि डराउनु हुँदैन भन्दै बैंक गइरहनु भयो । हजुरलाई र मलाई यी टोलका र आफन्त जनले केसम्म भनेनन् ? के मैले विर्सिएकी छु र ? लखर लखल हिडछ, कोरोना यसैले सार्दछ भने । किराना पसलमा पनि यो बैंकमा काम गर्दछ, यसलाई सामान नदिनु, यो दोकानमा आयो भने हामी आउदैनौंसम्म भने ।

तपाइलाई थाहाँ छ ? हामीलाई मात्र होइन, हाम्री छोरी आभ्यालाई पनि उनीहरुको केटाकेटीसँग खेल्न दिएनन् । यसको बाबु बैंकमा काम गर्दछन्, यसको बाबुको बैकमा नानाथरिका ग्राहक आउँछन्, त्यही भएर यसको छोरीसँग नखेल्नुसम्म भने । हजुरले विर्सेपनि मैलै कहाँ बिर्सेको छु र ? कोरोनाको समयमा यो समाजका मान्छेहरुले वोलेको हामीमा तिखो बचन ।

मैले हास्दै भने, के भयो ? सबै मान्छे एकै थरिका हुदैनन् नि, मान्छेले विस्तारै बुझ्दछ नि, नरिसाउन ।

उनले जवाफमा मलाई कर्के आँखाले खाउला झै गरेर हेर्दै भनिन्, त्यो छिमेकी रत्न दाइ भन्ने छन् नि, कोरोना सर्दछ भन्दै हाम्रो छोरीसँग उसको छोरी खेल्न दनिने, हेर्नु न आज दिउँसो आएर मलाई तिहारको लागि नयाँ नोट चाहियो भन्दै पो घर आएका । दशैमा यत्रो दुनियाको नयाँ नोट साटियो । अव तिहारमा पनि पो चाहिने रे नयाँ नोट । मलाई त उसले नयाँ नोट चाहियो भन्दा झनक्क रिस उठेको थियो । मेरो बुढा सामाजिक छैन, समाजको काम गर्दैन भनेको होइन ? मेरो बुढाले कोरोना सार्दछ भनेको होइन ? अनि के जम्मैको दशैंमा र तिहारमा नयाँ नोट साट्ने र घरसम्म पुर्याउने मेरो बुढा भरिया हो ? भनिदिउँ कि जस्तो पनि लाग्यो । हजुरको अनुहार हेरेर चुप्प लागेँ । साटनु पर्दैन है त्यो रत्न दाइको नयाँ नोटसोट भन्दै उनले मलाई रिसाउदै आदेश दिइन् । र, फेरि फतफताउँदै खाना पकाउन लागिन् ।

उसले फतफताउदै गर्दा मैले भने विर्षिसकेको थिएँ । कोरोनाको वेला हामी बैंकरलाई छर छिमेकी र आफन्तजनले गरेको र वोलेको दुव्र्यवहारको भाषा । विर्सिसकेको थिएँ, उनीहरुको तिखो वचन । सवै मानिस एकैथरिका हुदैनन् । यो समाजको बैंकरलाई हेर्ने नजर विस्तारै सकारात्मक अवश्य हुनेछ ।

फेरि हामी बैंकर सहनशील हुनु पर्दछ । स–साना कुरामा हामी बैकरले इख गर्नु हुदैन । अवगुणलाई गुणले जित्नु पर्दछ ।

मैले यी कुरा सोच्दै गर्दा मेरी श्रीमतीले एक्कासी फेरि भनिन्, मैले भनिदिएको छु है, अरुको लागि नयाँ नोट साटे पनि हाम्रो छोरी आभ्यासँग खेल्दा कोरोना सर्दछ भनेर खेल्न नदिने उसको छोरी त्यो रत्नदाइको चाहि मरे पनि नयाँ नोट नसाट्नु है । आफै दुई तीन घन्टा बैंकमा वसेर लाइन लागेर साट्छन् । खवरदार है भन्दै श्रीमती फतफताउदै थिइन् ।

यता म भने उसले अवोध वालकले झै जिद्दी गरेको देखेर मुसुमुसु हास्दै, हुन्छ, साट्दिनँ भन्दै उत्तर दिदै थिएँ । तर, मनमा भने त्यसो गर्नु हुँदैन, पैसाको वदला पैसा नै त मागेको हो नि, नयाँ नोट त मागेको हो नि । दशैं तिरहारमा ऊ जस्तै सेवाग्राहीले पुरानो नोट दिई नयाँ नोट लिई उसको दशैं नयाँ र राम्रो हुन्छ भने के फरक पर्दछ ? हामी बैंकरले नयाँ नोट साटिदिन । के फरक पर्दछ नयाँ नोटको भरिया हुन ?

मनमनै कुरा खेलाउदै थिए । यता श्रीमतीले खवरदार नसाट्नु भन्दै गर्दा म भने मेरी श्रीमतीले पनि थाहा नपाउने गरि रत्न दाइलाई सुटुक्क नयाँ नोट साटिदिने निधोमा पुगिसेको थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.