बढी भाडा लिनेलाई यात्रु बनेर कारवाही गर्दै ट्राफिक प्रहरी, आज ७ जना पक्राउ

  २०७८ असोज २५ गते १२:२५     विकासन्युज

काठमाडौं । उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा महानगरीय ट्राफिक प्रहरीले ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ७ जनालाई प्रहरीले आज बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

सो आरोपमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङका भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खुको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् ।

भट्टराईले दशैं-तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने पनि बताए ।

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाईरहेको छ ।

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.