सिजनमै खुल्यो अनअराइभल भिसा, पर्यटन व्यवसायीमा छायो खुशी

  २०७८ असोज ८ गते १४:१६     विकासन्युज

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेसँगै पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । झन्डै १९ महिनादेखि शर्तसहित विदेशी पर्यटकलाई नेपाल खुला गरेसँगै सिजनमा उल्लेख्य मात्रामा विदेशी भित्रने अपेक्षा गरिएको व्यवसायीहरु बताउँछन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईं सरकारले ढिलै भएपनि पर्यटन व्यवसायीको माग सम्बोधन गर्दै अनअराइभल भिसा खुला गरेको बताउँछन् ।

‘हामीले पर्यटकको मुख्य सिजनका रुपमा मानिने सेक्टेम्बर, अक्टुबर र नोभेम्बरका लागि धेरै विदेशी ल्याउने योजना बनाएका थियौं, सेक्टेम्बर सकिसक्यो, अब बाँकी २ महिनामा उल्लेख्य विदेशी आउने अपेक्षा गरिएको छ, उनले भने, नाट्टाका सदस्य व्यवसायीहरुले धेरै पर्यटकहरुले बुकिङ गरिसकेको जनाएका छ । अब विस्तारै पर्यटकीय क्षेत्रहरुले गति लिनेछन् ।

उनले सरकारले नेपाल आउने विदेशीका लागि विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरेसँगै टर, ट्रेकिङ र ट्राभल्सका लागि रुचि राख्ने अमेरिका, युरोप, भारत, बंगलादेशी र श्रीलंकाका विदेशीहरु नेपाल आउने भन्दै होटल बुक गरिसकेको जानकारी दिए ।

गुरागाइका अनुसार अन्य देशका विदेशी सँगै अष्ट्रेलियाका नागरिकले पनि नेपालको बारेमा चासो देखाए तापनि अष्ट्रेलियाले आप्ना नागरिकलाई बाहिर जाने अनुमति नदिदा उनीहरु रोकिएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष भरत सापकोटा धेरै विदेशीहरुले नेपाल आउने तयारी गरेको जानकारी गराएका बताउँछन् । उनका अनुसार झन्डै २ वर्षपछि बिना झन्झट विदेशी नेपाल आउन पाउने भएसँगै धेरैले इच्छा देखाएका छन् ।

नेपालको बारेमा सोधपुच्छ गरेकामध्ये अधिकाशंले होटल बुक समेत गरिसकेको जानकारी आएको छ, लामो समयदेखि सिथिल बनेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिने अपेक्षा गरिएको उनको भनाई छ ।

हिमालय आउटरडोर टुर्स पालिका सञ्चालक राममणी रिजाल सरकारले अनअराइभल भिसा खुला गरेसँगै विदेशी आउने तयारीमा रहेको जानकारी दिए ।

उनले बुधबार मात्रै आप्नो कम्पनीमार्फत ४० भन्दा बढी विदेशीहरुले नेपाल आउने भन्दै बुक गरिसकेको जानकारी दिए । ट्रेकिङ र टुरमा रुचि राख्ने विदेशीका लागि अहिले सिजन नै हो । सिजनकै समयमा सरकारले विदेशीका लागि अनुमति नदिदा नेपाल आउने तयारी गरेका विदेशीहरु अन्य देशमा गए, उनले भने ।

विदेशीका लागि नेपाल खुला भएसँगै युरोप अमेरिका लगायतका विदेशीहरुले उनको कम्पनीमार्फत नेपाल आउन बुक गरेका छन् ।

सम्बन्धित समाचार

विदेशीका लागि १८ महिनापछि खुल्यो नेपाल, अब विमानस्थलबाटै अनअराइभल भिसा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.