आज प्रतिनिधिसभा बैठक, बजेट पास हुन सक्ने

  २०७८ असोज ४ गते १०:१५     विकासन्युज

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बस्ने बैठकमा शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन बजेटलाई पारित गर्ने सम्भावना रहेको छ ।

राज्य कोषको रकम खर्च नहुँदा अर्थतन्त्र नै ‘सटडाउन’ को अवस्थामा पुगेपछि सरकारले आज विनियोजन विधेयक पारित गराउने तयारी गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

आर्थिक विधेयकको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले दिन तोकेलगत्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची तयार पारिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

आर्थिक वर्ष सुरू भएको ६० दिनसम्म अध्यादेश बजेटकै आधारमा खर्च गरिरहेको सरकारले बजेट अध्यादेश निष्क्रिय भएसँगै एक हप्ताभन्दा लामो समयदेखि खर्च गर्न पाएको छैन । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्कृय भइसकेको छ ।

नयाँ सरकारले अघि सारेको प्रतिस्थापन विधेयकसंसदबाट पास र राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । सदनबाट अर्थ विधेयक पनि पारित नभएकै अवस्थामा विपदलगायत स्थिति निम्तिए निकै अप्ठ्यारो पर्ने अर्थविद्हरु बताउँछन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि बजेट पास नभए नेपालको अर्थतन्त्र अधोगतिमा लाग्ने उनीहरुको विश्लेषण छ । प्रतिस्थापन विधेयक पारित नभए सरकारले खर्च नगर्दा सरकारले खर्च गर्न पाउँदैन । त्यससँगै, आर्थिक गतिशीलता नै अन्त्य हुनसक्छ । देशको अर्थतन्त्रले अर्बौैैं रुपैयाँ गुमाउनेछ । यसले समग्र देशको आर्थिक गतिविध ठप्प हुन गई अर्थतन्त्रमै खराब असरहरू देखापर्ने विज्ञहरूले बताइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.