शिखरका पाण्डे र एनएलजीका पन्त प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित

  २०७८ असोज ३ गते १४:०१     विकासन्युज

काठमाडौं । सरकारले बीमा कम्पनीका दुई प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सम्मानित गर्ने भएको छ । सरकारले संविधान दिवसको अवसरमा शिखर इन्स्योरेन्सका सीईओ दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तलाई सम्मान गर्ने घोषणा गरेको हो ।

सरकारले बीमा क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई प्रबल जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने भएको हो । यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सीईओ पन्त र पाण्डेलाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नेछिन् ।

शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले हाल कम्पनीमा आफ्नो दोश्रो कार्यकाल सम्हालिरहेका छन् । भारतको सेन्ट जेभियर कलेजबाट बीबीएस र त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष बढी काम गरेका छन् । नेपाल बीमक संघको अध्यक्ष समेत रहेका पाण्डे अझै बीमा क्षेत्रमा धेरै योगदान गर्ने अठोटका साथ अगाडि बढेका छन् ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सका सीईओ पन्त तीन दशकदेखि सो कम्पनीमा कार्यरत रहेका छन् । यससँगै उनले सोहि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेको तीन वर्ष पुरा हुँदै छ ।

सरकारले असोज ३ गते मात्रै विभिन्न क्षेत्रका कूल ९०३ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । जसमध्ये बीमकको तर्फबाट दुई जना रहेका छन् । नेपालमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.