असल बैंकर, कमसल बुहारी !

  २०७८ भदौ ३१ गते १७:१८     सुशिल घिमिरे ‘त्रैलोक्य’

मलाई काठमाडौंबाट विराटनगर जानु थियो । माइक्रो बस छुट्ला कि भनेर समयमै ब्याग बोकेर हतार हतार कोटेश्वरतिर लागें ।

आफूलाई बोलिरहनु पर्ने । बानी नै त्यस्तै । मेरो सिटमा को पर्ला ? केटा मान्छे पर्ला कि केटी मान्छे भन्ने कौतुहलता पनि थियो मनमा ।

अनि फेरि रजनी गन्धा वा गुट्खा खाने मान्छे छेउको सिटमा पर्यो भने त बर्बादै हुन्छ, गन्हार हैरान् । वान्ता नै आउँछ भन्ने कता कता डर पनि थियो ।

आज मेरो भाग्य दह्रो रहेछ । मेरो सिट यहि होला भन्दै एउटा तीस बत्तिस वर्षको महिला टुप्लुक्क आइपुगिन् र मेरो छेउमै बसिन् ।

अनायसै म पनि उनीतिर हेरेर मुसुक्क हाँसें । म केटी मान्छे भएकोले र छेउको आजको यात्रामा मेरो साथी पनि केटी मान्छे नै परेकोले मन ढुक्क भयो ।

एकछिन पछि माइक्रो भरियो । र, सहचालकले जाउँ, जाउँ भन्दै गुरुजीलाई कुदाउने संकेत दिएपछि माइक्रो पनि विस्तारै कौशलटार हुँदै हाम्रो गन्तव्यतिर लाग्यो ।

जोसँग पनि चाँडै खुलिहाल्नु पर्ने र बोलिहाल्नु पर्ने कारणले मलाई उनीसँग बोलुबोलु लाग्यो । मलाई थाहा छ, यो माइक्रो विराटनगर जान्छ र हामी सबै जना पूर्वै जाने हो । तर, पनि औपचारिकता निभाउदै मैले नै उनीसँग कुरा झिकें । हजुर कहाँसम्म नि ? उनले विस्तारै पुलुक्क मतिर हेदै विराटनगर भन्ने जवाफ दिइन् ।

सामान्य कुराकानीपछि थाहा भयो, उनी बैंकमा काम गर्दिरहिछिन् ।

वाउ ! कस्तो राम्रो ठाउँमा काम गर्नुहुँदो रहेछ हजुर त भन्दै मैले उनको तारिफ गरे । म त गृहणी मात्र हो भन्दै आफ्नो परिचय पनि दिन भ्याएँ ।

तपाई त बैंकमा काम गर्नुहुँदो रहेछ, पैसा कमाउनु हुँदो रहेछ, घर परिवारमा काम गर्ने भएपछि इज्जतै बेग्लै है । हजुरलाई त क्या आनन्द होला है ? मैले पुन: प्रश्न गरे ।

उनको अनुहार एक्कासि मलिन भयो । उनी मौन भइन् ।

उनी चुप लागेको देखेर म पनि चुप लागें । मन मनै सोचें– मैले त केही नराम्रो भनिनँ । तर, पनि उनका मलिन र निन्याउरो अनुहारले मलाई आफैमा कौतुहलता जगायो ।

एकछिन पछि खै के सोचेर हो कुन्नि, उनले मतिर हेर्दै भनिन्– हजुर यो साल कति वटा आफन्तको विवाहमा सरिक हुनुभयो ?

मलाई आश्चर्य लाग्यो । एक्कासि मतिर ठाढो प्रश्न तेर्साइन उनले ।

मैले उत्तर फर्काउँदै भने– पाँचवटा जति विवाह खान भ्याएँ, एउटा देवर, भान्जा, छिमेकी…। पुनः सम्झँदै भनें– पाँच वटा होइन, छ वटा ।

उनले फेरि प्रश्न गरिन्– अनि कतिवटा मरणमा पुग्नुभयो नि ? कतिवटा आफन्तको पुजामा जानु भयो यो साल ? श्रीमानसँग घुम्न कहाँ कहाँ जानुभयो नि ?

– पोखरा, मुक्तिनाथ, बराह क्षेत्र …। यो साल बनारस पनि गएको, मैले हाँस्दै भने ।

उसले मलाई हेर्दै भनिन्– तपाई गृहणी, जागिर गर्नुहुन्न । तर, जीवन जिउनु भएको छ । तपाई गृहणी, पैसा कमाउनु हुन्न तर घुम्नु भएको छ । तपाई छोराछोरीसँग जिस्कन पाउनु भएको छ । श्रीमानसँग सिनेमा हेर्न पाउनु भएको छ । बच्चालाई फनपार्क लान पाउनु भएको छ ।

तर, म बैंकर । मसँग जागिर छ, धेरथोर पैसा छ । तर, घुम्न पाएको छैन । छिमेकको विवाहको के कुरा, आफ्नै भाइको विवाहमा पनि क्वाटर्ली क्लोजिङको पिढाले छुट्टी नपाएर सरिक हुन पाइनँ । वर्षमा एउटा विवाहमा सरिक भइयो भने भाग्य हो मेरो ।

विवाह गर्दा त जम्मा तीन दिनको छुट्टीमा हतार हतार गरेको । हनिमुनसम्म जान भ्याइएन । झन् कोरोनाले अस्तिको साल र यो साल फोर्स लिभ पनि पाइएको छैन । अति आवश्यकीय सेवा भएकोले छुट्टी पाइदैन । नेपाल राष्ट्र बैकले नै प्रत्येक क्वाटरको पच्चिस गतेपछि शनिबार वा सार्वजनिक बिदा परे पनि कार्यालय खोल्नै पर्ने बाध्यता थपिदिएको छ हामी बैंकरलाई । भनाईमा दश बजेदेखि पाँच बजे भन्छौं । तर, राति सात आठ बज्छ । ओभर टाइमको पैसा पाइदैन तर गरिन्छ । कसले बोलिदिने बैंकरको पिडा ? खै सरकार ? खै नेपाल राष्ट्र बैंक ?

तपाई त गृहणी भाग्यमानी महिला हो । हामी बैंकरको पेशा दुःखी छ । हाम्रो आफ्नै पिडा छ बहिनी भन्दै उनी मतिर फर्केर पुन भन्न थालिन् । त्यसमा पनि महिला बैंकरको अलि धेरै र छुट्टै पिडा हुन्छ । सबैको परिवार बुझ्ने र राम्रो हुँदैन बहिनी । मेरो बुहारीलाई सेलरोटी पकाउन आउँदैन, बत्ति काट्न आउँदैन, दुना टपरी गास्न आउँदैन भनेर नबुझ्ने सासुहरु पनि हुन्छन् ।

बुहारी बैंकमा काम गर्छे । पैसा गन्न आउँछ, कमाउन आउँछ चाँहि भन्दैनन् सासुहरुले । श्रीमती थाकेकी होलिन्, उसको पनि शरीर हो, म जस्तै थाक्दी होलिन्, भान्सामा सघााउनु पर्यो भन्दैनन् श्रीमानले ।

अझ अफिसबाट लखतरान राति अबेर घर फर्कियो । विहानको जुठा भाडा हाँसिरहेका हुन्छन् । मलाई नै पर्खिरहेका हुन्छन् । खाना पकायो, लोत गलिन्छ । अझ राति… भो नभनौं ।

खै ककसलाई खुसी राख्नु ? मामुको कहिल्यै छुट्टी हुँदैन कहिल्यै, फनपार्क, जू लानु हुँदैन भनेर छोराछोरीको गुनासो । अलि सामाजिक हुनु पर्यो, टोल विकासको मिटिङमा सामेल हुनुपर्यो भनेर टोलवासीको गुनासो । खै यो हप्ता खाता खोलेको ? खै डिपोजिट ल्याएको ? यस्तो पाराले त हुँदैन है भन्दै मेनेजरको गुनासो । मेरो काम चाँडाे गरिदिनु पर्यो भनेर सेवाग्राहीको गुनासो । गुनासै गुनासो मात्र छ मसँग भन्दै उनी मलिन भइन् ।

कुरा गम्भिरतातिर गएकोले मैले कुरालाई अन्यत्र मोड्न जिस्कदै भने– अनि पैसा त टन्नै हुन्छ नि, होइन ?

उनले अलि अलि हाँस्दै भनिन्– त्यस्तो पनि हुँदैन । हामी धेरै बैंकरहरुले सस्तो व्याज र सुविधा भन्दै लोभमा परेर होम लोन लिन्छौं । अलिअलि पैसा हुँदैमा लोन लिएर बाइक कार लिन्छौं । अनि तलवको पे रोलमा धेरै आम्दानी देखिए पनि होम लोन र गाडीको किस्ता तिर्दै र सरकारलाई ट्याक्स बुझाउँदै हातमा थोरै मात्र पर्छ । अनि के पैसा छ भन्नु र ? म उनको कुरा सुनेर ट्वा.. परें ।

माइक्रो अघि बढ्दै थियो । बैंकर सहयात्री साथीको कुरा सुनेर मेरो मन भावुक भएर आयो । मनमनै सोचें– वास्तवमै बैकिङ्ग पेसा हामी बाहिरबाट आम सर्वसाधारणले देख्नेभन्दा निक्कै गाह्रो रहेछ । जोखिम पनि उत्तिकै । बिदाका दिनमा पनि अफिस जानु पर्ने पिडा । टार्गेटको दवाव । बेलुका अवेरसम्मको खटाई । आफूलाई अपडेट राख्न नेपाल राष्ट्र बैंकको नीति नियम पढिरहनु पर्ने । सम्बन्धित बैंकको सर्कुलर हेरिरहनु पर्ने । सम्बन्धित कर्मचारीलाई समय अनुकुल अपडेट र दक्षता बनाउन जाँचमा सामेल भइरहनु पर्ने ।

घर परिवार र कार्यालयको सामान्जस्यता मिलाउन बैंकरलाई साह्रै गाह्रो रहेछ । मलाई किन किन आज बैंकरप्रति माया लागेर आयो । पिडै पिडामा बाँचेका तमाम बैंकर र त्यसमा पनि महिला बैंकरप्रति नतमस्तक हुन मन लाग्यो । बैंकर महिला वास्तवमै महान हुन् ।

यति लामो बाटो पनि आज उनीसँग गफ गरेर कटेकाे पत्तै भएन । माइक्रो विराटनगर आइपुग्यो । हजुर कहाँ झर्ने ? मैले प्रश्न गरें । उनी विराटनगरको कन्चनवारीमा झर्ने रहिछिन् ।

अव छुट्टिने पनि बेला भो, ल ल धेरै नसोच्नुस्, यो चोटी तपाईंको बैंकले धेरै नाफा कमाउला नि हैन ? अनि बोनस पनि धेरै पर्ला नि तपाईंको भागमा । मैलै माइक्रोबाट उनी झर्ने बेलामा ठट्टा गरें ।

उनले हाँस्दै भनिन्– त्यहि बोनसको मायाले त अल्झेको छ नि बैंकको नोकरी । नभए त बैंक नाफामा गएपनि जीवन त घाटामै चलेको छ । गुनासो यत्ति हो, मैले काम गर्ने बैंक राम्रो होला । मेरो बैंकको सेयर नेप्सेमा सधै हरियो होला । तर, हामी बैंकरको जिन्दगीको नेप्से सधैँ रातै । हामी समाजको लागि राम्रो र असल छिमेकी होइनौं । छोराछोरीको लागि असल मामु होइनौं । म बैंकको लागि राम्रो बैंकर हो । तर, घरमा सासुको लागि असल बुहारी चाहि पक्कै होइन । यति भन्दै उनी बिदा भइन् । मेरो मानसपटलमा उनको अन्तिम वाक्य गुन्जिरहयो– म बैंकको लागि राम्रो बैंकर हो तर घरमा सासुको लागि असल बुहारी चाहि पक्कै होइन ।

4 comments on "असल बैंकर, कमसल बुहारी !"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.