साहस उर्जाको आईपीओ विश्लेषणः अर्को वर्ष नै १ अर्ब जति नाफा, गृहणीदेखि महाविर पुनसम्मको लगानी

  २०७८ भदौ ३० गते १३:४३     विकासन्युज

काठमाडौं । साहस उर्जाले अगामी असोज ६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्दैछ । पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर निष्काशन गरिसकेको संस्थाले दोश्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । कम्पनीको आईपीओ असोज ६ गतेदेखि १० गतेसम्म भर्न पाइने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सोलु खोला दुध कोशी हाइड्रो परियोजनाबाट ८६ मेगावाटको बिद्युत निर्माण कार्य गरिरहेको आयोजनामा इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन् । साहस सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीको बारेमा

साहस उर्जा लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट वि.स २०७० माघ १९ गतेमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७१ भदौ २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रालि बाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेडको नामबाट दर्ता भएको कम्पनी हो ।

कमपनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं.१ हात्तीसारमा छ । कम्पनीको आयोजनास्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा छन् ।

संगठित संस्थाको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१ फागुन १३ गते सम्झौता भएको थियो । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहने उल्लेख छ ।

कम्पनीले २०७१ असोज २ गते विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने मिति २१०६ असोज १ गतेसम्म अर्थात २९ वर्ष सम्मका लागि दिइएको छ । कम्पनीले विद्युत उत्पादन हुने सम्भावित मिति २०७९ जेठ २० तोकेको छ ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड १ लाख रुपैयाँ रहेको छ । जुन निर्माण अवधिको व्यवाज सहित हो । गत असारसम्म आयोजनाको निर्माण कार्य ७२ प्रतिशत सकिएको छ । इकरा नेपालले साहज उर्जाको आइपीओ लाई बिबि प्लस रेटिङ दिएको छ । परियोजनालाई नेपाल इन्भेष्टमेन्ट बैंकसहित नौं बैंक वित्तीय संस्थाको ८ अर्ब ६५ करोड रुपैयाँ लगानी छ ।

उद्धेश्य

कम्पनीले नेपालका बिभिन्न भागमा रहेका नदी, नाला, ताल, तलैया, झरना र खोलाहरुबाट जलविद्युत उत्पादन तथा बिक्री गर्ने उद्धेश्य राखेको छ । यसका साथै जलविद्युत उत्पादन सम्बन्धमा सम्भाव्यता अध्ययन, अनुसन्धान सम्बन्धी कार्य गर्ने गराउने पनि कम्पनीको उद्धेश्य रहेको छ ।

विद्युत उत्पादनसंग सम्बन्धित विषयहरुमा परामर्श सेवा उपलव्ध गर्ने गराउने, विद्युत उत्पादन तथा प्रशारणको लागि सिभिल, इलेक्ट्रो मेकानिकल एवं प्रशारण तथा वितरण लाईन निर्माण सम्बन्धी सामान तथा औजार उपकरणहरुको आपूर्ति विक्री वितरण गर्ने गराउने, विद्युत आयोजनाहरुको विभिन्न स्ट्रक्चर तथा प्रशारण एवं वितरण लाईन र सव–स्टेशनहरुको सञ्चालन एवं संभार कार्य गर्ने उद्धेश्य पनि कम्पनीको छ ।

यस्तै, साहस उर्जाले समान उद्देश्य भएका अन्य कम्पनी तथा संस्थाहरुसंग संयुक्त रुपमा विद्युत उत्पादन, प्रशारण सम्बन्धी कार्य गर्ने तथा त्यस्ता संस्थाहरुमा लगानी गर्ने, जलविद्युत उत्पादनको लागि सरकार, सार्वजनिक निकाय तथा कम्पनीबाट निष्कासन भएको ऋणपत्र, वचतपत्र, म्युचुअल फण्ड, धितोपत्रहरुमा लगानी गर्ने गराउने र जलविद्युत क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने गराउनुका साथै जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी प्रशिक्षक तथा विशेषज्ञहरुको संलग्नतामा गोष्ठी, सेमिनार सभा सम्मेलन आयोजना गर्ने गराउने उद्धेश्य पनि राखेको छ ।

साढे ५ अर्बको सम्पत्ति

साहस उर्जा लिमिटेडले निर्माण तथा संचालन अनुमती पाएको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । उक्त आयोजनाको संरचनाहरु प्रदेश १ को सोलुखुम्बु जिल्लामा अवस्थित छ । हालसम्म कम्पनीको नाममा सृजना भै सकेको चल अचल सम्पत्ति ५६ करोड रुपैयाँको छ ।

कम्पनीसँग सोलुखुम्बु जिल्ला स्थित आयोजना निर्माणस्थल सोलुदुधकुण्ड नगरपालिका वडा न. ११ तथा थुलुङ्ग दुधकोशी गाउँपालिका वडा नं. ३ मा ४ करोड ४६ लाख रुपैयाँको जग्गा रहेको छ । यस्तै, सोलुखुम्बु जिल्ला स्थित आयोजना निर्माणस्थल सोलुदुधकुण्ड नगरपालिका वडा न. ११ तथा थुलुङ्ग दुधकोशी गाउँपालिका वडा नं. ३ मा ४ करोड बराबर रकमको घर तथा अफिस संरचना रहेको छ ।

कम्पनीकै नाममा ३५ लाख रुपैयाँ बराबरकै फर्निचर, अफिस इक्युपमेण्ट, कम्प्यूटर रहेका छन् भने ८९ लाख रुपैयाँ बराबरका सवारी साधन रहेका छन् । यस्तै, ५ अर्ब ४४ करोड रुपैयाँ लागतमा सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ ।

सञ्चालक समितिमा को–को छन् ?

कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका वासिन्दा र २० प्रतिशत सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारी र अन्य शेयरधनीहरुको लागि छुट्टयाइ बांडफांड गर्ने व्यवस्था रहेको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा हिम प्रसाद पाठक रहेका छन् । उनको कम्पनीमा ११ लाख रुपैयाँ लगानी रहेको छ । उनी हाल साउथ वेष्टर्न स्टेट कलेजका सञ्चालक पनि हुन् । यस्तै, कम्पनीको प्रबन्ध निर्देशकमा शुसिल थापा छन् । उनी नयाँ प्रकाशनका कार्यकार निर्देशक, लिवर्टी ईनर्जी र इनर्जी इन्जिनियरिङ्ग कम्पनीका पनि सञ्चालक हुन् ।

यस्तै, कम्पनीको सञ्चालकमा मुक्तिराम पाण्डे, भोज बहादुर शाह, मिनराज कँडेल, महेन्द्र कुमार गिरी, परितोष पौड्याल रहेका छन् ।
कम्पनीमा कुल ५३ जना स्थायी कर्मचरीहरु मात्रै कार्यरत छन् ।

महाविर पुनको पनि लगानी

कम्पनीमा राष्ट्रिय आविस्कार केन्द्रको पनि लगानी रहेको छ । जसकाे अध्यक्ष महाविर पुन ह्न् । कम्पनीमा हाल ८०८७ जना संस्थापक शेयरधनी रहेका छन् । वि.सं. २०६९ कात्तिक २४ मा स्थापना भएको राष्ट्रिय आविस्कार केन्द्रले यो कम्पनीमा कति लगानी गरेको छ भन्ने खुलाएको छैन ।

केन्द्रको मुख्य उद्येश्य सामाजिक सेवा गर्नु रहेको छ । कम्पनीको सञ्चालकमा अर्थविद् रामेश्वर खनाल पनि सञ्चालक सदस्य छन् । उनी यस कम्पनीको सल्लाहकार पनि हुन् । कम्पनीमा गृहणी र विद्यार्थीहरुको पनि लगानी रहेको छ ।

वित्तीय विवरण

हाल कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आइपीओ जारि गरे पश्चात कम्पनीमा सेयर संरचना ७०ः३० रहनेछ भने चुक्ता पुँजी ३ अर्ब ५० करोड पुग्नेछ । ऋण भुक्तानी बैंकहरुसँग भएको सम्झौता अनुसार गरिएको छ । व्याजदर ९ प्रतिशत अनुमान गरिएको छ । साथै, बैंक शुल्क ऋण रकमको ०.१ प्रतिशत प्रक्षेपण गरिएको छ ।

हाल कम्पनीको जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले कुल २ अर्ब ४३ करोड रुपैयाँको जगेडा कोष खडा गर्ने अनुमान गरेको छ ।

हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४३ रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०८०/८१ मा १६९.७१ रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कुल ५४ करोड रुपैयाँ नाफा गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ९८ करोड रुपैयाँ नाफा गर्ने प्रक्ष्येपण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २८.२८ रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ मा १३.२९ प्रतिशत नेटवर्थमा भएको प्रतिफल दिने अनुमान गरेको छ । कम्पनीले लाभांश भने दिने उल्लेख गरेको छैन ।

कम्पनीको जोखिम

कम्पनीले दैबि प्रकोप तथा काबु बाहिरको परिस्थीति उत्पन्न भइ आयोजना निर्माण कार्यमा ढिलाई भएमा आयोजनाको लागत बढ्नुका साथै आम्दानीको श्रोत पर सर्ने जोखिमको अनुमान गरेको छ ।

यस्तै, जलविद्युत आयोजना निमार्ण गर्दा हुने जोखिमहरु मध्ये भुकम्प, बाढी पहिरो जस्ता कारणले हुने क्षति र यसवाट विद्युत उत्पादनमा पर्ने प्रभावलाई न्यूनिकरणका गर्नका लागि परियोजनाको सम्पूर्ण सम्पत्तिलाई खाम्ने गरी विमाको व्यवस्था गरिएको पनि उल्लेख गरेको छ ।

कम्पनीले जलवायु परिर्वतनवाट खोलामा पानीको बहावमा थप घट हुनगई तद्अनुरुप विद्युत उत्पादनमा घटबढ हुन सक्ने भएकोले विद्युत उत्पादनमा कमी आएमा हर्जना मिनाहा हुने व्यवस्था कायम रहेको, देशको राजनैतिक अस्थिरताबाट जोखिम आउन सक्ने, पुँजीबजारको अवस्थामा आउने उतार चढावबाट पनि कम्पनीमा जोखिम पर्न सक्ने प्रक्ष्येपण गरेको छ ।

यस्तै, शेयर बजारमा प्रति शेयरको मुल्य १०० रुपैयाँभन्दा घटेमा शेयर मुल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको जनाएको छ । यस परियोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भै सकेको हुनाले परियोजनाको आय निश्चित भएकाले सो जोखिम नरहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.