बेँसीशहर–चामे सडकखण्ड मर्मतमा ढिलाइ, मस्र्याङ्दी नदीमाथिको पुल बगाउँदा हिँडडुलमा समस्या

  २०७८ भदौ २३ गते १४:२०     विकासन्युज

मनाङ । अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेकोे छ ।

सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यसवर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको उठिबास भएको छ भने विभिन्न पूर्वाधार बगाएको छ ।

बाढीले सदरमुकामस्थित मस्र्याङ्दी नदीमाथिको पुल बगाउँदा हिँडडुल गर्न समेत समस्या भएको छ । बाढीबाट पु¥याएको क्षति हेरेर सरकारले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ ।

स्थानीयवासीलाई राहत उपलब्ध गराउन तथा पूर्वाधार निर्माण गर्न समस्या भएको छ । चामे सडक मर्मतका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको छ । सडक मर्मत गर्न एक करोड ९२ लाख रुपैयाँ खर्च हुने कार्यालयका इन्जिनियर सुमन अधिकारीले जानकारी दिए । साउन अन्तिममा सूचना जारी गरेपछि उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित ९१ लाखमा काम गर्ने जिम्मा लिएको छ ।

असोजसम्म मर्मतको काम सक्नेगरी ठेकेदारसँग सम्झौता भएको हो । अहिलेसम्म कामको प्रगति हुन सकेको छैन । नासों गाउँपालिका–३ खोत्रोदेखि तिमाङसम्मको सडक खण्डमा सबैभन्दा बढी क्षति भएको छ । उक्त सडकखण्डमा ठेकेदारले काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङ बताउँछन् ।

सडक पूर्णरुपमा अवरुद्ध भएकाले बेँसीशहर–मनाङम्म खण्डमा सवारीसाधन चल्न सकेका छैनन् । यातायात ठप्प भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न सकिएको छैन् । “खच्चड र भरियाको भरमा सामान ढुवानी गर्नुपरिरहेको छ । त्यही पनि सहज छैन । बाढी पहिरोको जोखिम छ,” नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने,“सकड ममर्तको काममा ढिला हुँदा जनजीवन प्रभावित बनेको छ ।”

समयमै सडक मर्मत नुहँदा खाद्यान्न सङ्कट हुने अवस्था छ । सडक मर्मतका लागि ठेक्का लगाएपनि काम भए÷नभएको हेर्ने कुनै निकाय छैन । बाढीपहिराबाट पुगेको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले हालै निरीक्षण समेत गरेका थिए ।

स्थानीयवासी राम गुरुङ भन्छन, “सडक छिटो बनाउनुपर्छ भन्नेतर्फ कसैको चासो छैन । सडक सञ्जाल नहुँदा आवतजावत मात्रै होइन विकास निर्माण र भौतिक संरचना निर्माणका सामग्री ल्याउन सकिएको छैन । कसले बुझिदिने होला खै ।”

कम मूल्यमा ठेक्का लगाउने र काम नगर्ने प्रवृत्तिले सडक मर्मतमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । तर सडक मर्मतको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले दाबी गरे । “वर्खाका कारण समयमै काम पूरा गर्न कठिन भएको छ । एक ठाउँमा बनायो अर्को ठाउँमा भत्किने समस्या छ” उनले भने,, “दशैं अगावै मनाङ सदरमुकामसम्म सवारीसाधन सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ ।”

माथिल्लो र तल्लो मनाङलाई जोडनका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माण गर्न थालिएपछि भने स्थानीयवासी खुशी छन् । माथिल्लो मनाङमा खाद्यान्न अभाव हुँदा मुस्ताङको मुक्तिनाथबाट थोराङ्ला पास (५५४८ किमी अग्लो स्थान) हुँदै खाद्यान्न सामग्री ल्याइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.