२ महिनादेखि कर्मचारी आन्दोलनमा लागेपछि निगमले तलब पनि दिएन

  २०७८ भदौ २० गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी बिना तयारी निगमलाई निजीकरण गर्न लागिएको भन्दै २ महिनादेखि आन्दोलनरत छन् । उनीहरुले निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको नेतृत्वमा निगमलाई निजीकरण गर्न लागिएको भन्दै पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै आन्दाेलन गर्दै आइरहेका हुन् ।

निजीकरणको विषयमा आन्दोलन गर्दै आएका कर्मचारीको सेवासुविधा रोकिएको छ । असार १८ गतेयता आन्दोलन गर्दै आएका कर्मचारीको निगम व्यवस्थापनले साउन महिनाको सेवासुविधा रोकिदिएको हो ।

निगममा कार्यरत करार, दैनिक ज्यालादारी कर्मचारी तथा निगमको बोर्ड सदस्यका लागि बैठक भत्ता विनियोजन गरेर स्थायी कर्मचारीको तलब रोकिएको भन्दै कर्मचारीहरु थप आन्दोलित बनेका छन् ।

कर्मचारीका तीन वटा यूनियनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नियोजित रुपमा कर्मचारीको सेवासुविधा रोकिएको भन्दै तत्काल रकम नदिए कार्यालयको सम्पूर्ण काम ठप्प पार्ने सम्मका धम्की दिएका हुन ।

आन्दोलनरत कर्मचारीको मागलाई निस्तेज पार्न नालापानीको युद्धमा दुश्मनले खानेपानीको पाईप काटेजस्तो शैलीमा संस्था बेच्न खोज्ने जत्थाका अगुवा डिमप्रकाश पौडेलको कडा निर्देशनमा आप्नो प्राबधान अनुसार गरिएको विषयमा संयुक्त ट्रेड युनियनको ध्यानाकर्षण भएको जनाईएको छ ।

‘प्रचलन अनुसार २५ प्रतिशतसम्म पेश्की बजेट पास हुनुपर्ने देखिन्छ, तसर्थ पेश्की बजेट मार्फत कर्मचारीको तलब जस्तो आधारभुत आवश्यकता रोक्का गर्न गरेको निर्देशन अनुसार तलब रोक्का भएकोमा कोठा भाडामा लिई दैनिक जिविकोपार्जन गर्नुपर्ने कर्मचारीहरुको आवश्यकतालाई समेत वेवास्ता गरेकोले आम कर्मचारीहरु मर्माहत भएका छन्’, विज्ञप्तीमा भनिएको छ ।

‘प्रचलित व्यवस्था अनुरुप व्यवस्थापनबाट पछी पारित हुनेगरी कर्मचारीको तलव निकासा गर्न सकिने व्यवस्थाको बाबजुत सम्बन्धित विभाग र व्यवस्थापन प्रतिको उदासिनता प्रति खेद प्रकट गर्दै तत्काल आम कर्मचारीहरुको साउन महिनाको तलव माग गर्न आग्रह गरिन्छ, अन्यथा भोकोपेट काम गर्न नसकिने यर्थात अनुरुप कार्यालयको सम्पूर्ण काम कारवाहीहरु ठप्प पार्ने जानकारी गराउँछौ,’ विज्ञप्तीमा उल्लेख छ ।

कर्मचारीको आन्दोलनले बोर्ड बैठक प्रभावित

यता निगमका अधिकारीहरुले भने लामो समयदेखिको कर्मचारीको आन्दोलनका कारण निगम सञ्चालक समितिको बैठक बस्न नसकेको जनाएका छन् ।

निगमका एक उच्च कर्मचारीले विकासन्युजसँग भने, ‘२ महिनादेखि कर्मचारी आन्दोलनरत छन्, जीएमलाई कार्यालयमा प्रवेश गर्न दिइएको छैन, जीएम नै कार्यालयमा आउनुभएको छैन, कसरी कर्मचारीको तलव निकासा हुन्छ, बोर्डले निर्णय गरेर बजेट पारीत गर्नुपर्नेमा लामो समयदेखि बोर्डको बैठक नै बस्न पाएको छैन ।’

यता निगमको अर्थ विभागले भने प्रशासनिक कार्यमा ढिलासुस्तीका कारण कर्मचारीको तलव वितरणमा ढिलाई भएको जनाएको छ ।

कर्मचारी विनियमावली विपरित तलब रोकियो: पन्थी 

आन्दोलनरत कर्मचारीहरु भने निगम व्यवस्थापनले सुनियोजित रुपमा कर्मचारीको रकम रोकिएको जनाएको छ । आधिकारीक ट्रेड यूनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थी भने आन्दोलनरत कर्मचारीसँग प्रतिसोध साध्न जीएम डिमप्रकाशले करार, दैनिक ज्याला मजदुर तथा बोर्डले बैठक भक्ता लिएर स्थायी कर्मचारीको सेवा सुविधा रोकेको बताए ।

‘हामी स्थायी कर्मचारी, निगमको अहितमा हुन लागेको काममा खबरदारी गर्दै आएका छौँ, हाम्रो मागको विषयमा वेवास्ता गर्दै उल्टै कर्मचारी विनियमावली सेवासुविधा रोकियो’, उनले भने, ‘निगमको कर्मचारी सेवा सुविधा विनियमावली २०५८ को २८ औं संशोधनमा महिना मरेको एक साताभित्र दिनुपर्ने उल्लेख छ, तर निगममा स्थायी रुपमा रहेका ९५० जना कर्मचारीको साउन महिनाको सेवासुविधा रोकेर जीएमले बैठक भक्ता लिए ।’

उनले निगममा कार्यरत ९५० जना कर्मचारीले डिमप्रकाशले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नगर्ने बताए । ‘एक महिना मात्र हैन, हामी बरु एक वर्षसम्मको सेवा सुविधा लिदैनौँ, तर, निगमको हितमा काम नगर्ने डिमप्रकाश पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै राजीनामा नदिएसम्म ओन्दोलन स्थगीत हुँदैन’, उनले भने ।

असार १८ गतेदेखि आन्दोलन गरेका कर्मचारीले असार २० गते पौडेलको कार्यकक्षमा ताल लगाउदै उनलाई प्रवेशमा रोक लगाउँदै आएका छन् । २ महिनादेखि कर्मचारीको आन्दोलन र महाप्रबन्धक कार्यालय नजाँदा निकै महत्वपूर्ण कामहरु रोकिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.