उपभोग्य वस्तुमा कालोबजारी बढ्यो, अनुगमनको जिम्मा पाएका निकायको काम अर्थहिन

  २०७८ भदौ १४ गते १७:१८     विकासन्युज

काठमाडौं । पछिल्लो समय तेलका लागि आवश्यक कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै वृद्धि भएको भन्दै तेल उद्योगीले तेलको मूल्य बढाएका छन् । कोरोना महामारी सुरु भएयता बजारमा खाने तेलको मूल्य झन्डै दोब्बरले बृद्धि भएको हो ।

यस्तै, नेपालमा चिनी उत्पादन कम भएकोभन्दै चिनी व्यवसायीले पछिल्लो समय झन्डै प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म मूल्य बढाएका छन् । अहिले चिनी, तेल चामल, दाल मात्रै होइन अन्य उपभोग्य वस्तुको मूल्य वृद्धि अत्याधिक भएको छ ।

बजार अनुगमनकै लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुणस्तर विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय निकायलाई बजार अनुगमनको जिम्मा दिइएको छ ।

यी चार विभागले आफूसँग सम्बन्धित निकाय तथा प्रशासन र स्थानीय तहले आवश्यकता अनुसार बजार अनुगमन गर्ने जिम्मा पाएका छन् । तर, जति धेरै बजार अनुगमन गर्ने सरकारी निकाय भएतापनि उपभोक्ताले कुनै राहत पाएका छैनन् ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरी दशैँ अगाडि बजार अनुगमनलाई प्राथमिकतामा राखिएको जनाएको छ । विभागले मूल्य र उपभोग्य मिति केन्द्रीत भएर दैनिक तीन समूहबाट बजार अनुगमन गर्ने गरिएको जनाएपनि प्रभावकारी बजार अनुगमन नहुँदा खाद्यान्नको मूल्य आकाशिएको हो ।

सीमित व्यवसायी र राजश्व संकलनतर्फ विभागले ध्यान नदिन्दा प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । चाडपर्वमा मात्र सरकारी निकायले बजार अनुगमन गर्नेगर्दा बजारमा कालोबजारी वृृद्धि भएको उनीहरुको भनाई छ ।

अधिकांश खाद्यान्नको मूल्यवृद्धि

कोरोना महामारी यता उपभोक्ता बजारमा अधिकांश खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार पछिल्लो समय तेल, चिनी, अण्डा तथा दालको मूल्य आकाशिएको छ ।

करिब एक साताको अवधिमा मात्रै खाने तेलको मूल्य प्रतिलिटर न्यूनतम १५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म वृद्धि भएको छ । एक वर्षको अवधिमा खाने तेलको मूल्यमा अत्याधिक वृद्धि भएको छ । एक वर्षअघि भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २२० रुपैयाँ रहेकोमा हाल ३३० रुपैयाँ पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर ११५ रुपैयाँबाट बढेर २२० रुपैयाँ र सनफ्लावर १२५ बाट २३० रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा १५३ रुपैयाँदेखि २५६ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।

यस्तै, हाल खुद्रा बजारमा ३ सय ६० देखि ३९० रुपैयाँसम्म बिक्री भएको छ । नेपाल अन्डा उत्पादक संघको तथ्यां अनुसार हाल ठूलो अन्डाको मूल्य प्रतिक्रेट ३ सय ९० र सानो अन्डाको प्रतिक्रेट ३ सय ६० रुपैयाँ रहेको छ । गत वर्ष ठूलो अन्डाको प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ र सानो अन्डाको प्रतिक्रेट मूल्य २ सय ५५ रुपैयाँ रहेको थियो । हाल खुद्रा बजारमा ४९० रुपैयाँसम्ममा अण्डाको बिक्री वितरण हुँदै आएको छ ।

मासको दालको मूल्य १३० बाट १६० रुपैयाँ प्रतिकेजी, मुंग दाल १३० रुपैयाँबाट १६५ रुपैयाँ, मुसुरो र रहरको दालमा क्रमशः ४० र ६० रुपैयाँले मूल्य बढेको छ । चारै प्रकारका दालको मूल्यमा प्रतिकिलो औसत मूल्य १२० रुपैयाँ रहेकामा बढेर १६१ रुपैयाँ पुगेको छ ।

कारवाही गरेपनि प्रतिफल छैन

यहि भदौ ८ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा शिलबन्दी गरेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु स्थित अगद नेपाल भेन्चर प्रालिले खाद्य वस्तुहरुमा उपभोग्य मिति तथा मूल्य सम्बन्धि नयाँ लेबल लगाई बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले संयुक्त रुपमा छापा मारेको थियो ।

विभागले भारत लगायतका देशमा उपभोग्य मिति सकिएका पास्ता, सेबइ, कुकिज, चक्लेट, सोयाबिन एवम् बिस्कुुट लगायतका करिब एक दर्जन जति खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने गरेको पाइएको जनाएको छ ।

गत साउन पहिलो साता विभाग र प्रहरीकै टोलीले सानो भर्याङस्थित समिट कमर्सियल प्रालिले कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग वस्तुहरुमा नयाँ मिति राख्ने गरेको भन्दै गोदाममा शिलबन्दी गरेर सञ्चालकलाई प्रक्राउ गर्यो ।

सो पसलले समेत उपभोग्य मिति सकिएका बस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको पाइएको थियो । यसअघि पनि विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट रिलेबलिङ (म्याद सकिएका वस्तुमा पुनः नयाँ मिति राख्ने) गर्नेहरुलाई प्रक्राउ गरी कारवाही गरेतापनि रिलेबलिङ घटेको छैन ।

प्रभावकारी बजार अनुगमन र उचित कारवाही नहुँदा रिलेबलिङ गर्नेहरुको मनोबल उच्च हुँदै गएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष प्रवित्र बजाचार्य बताउँछन् । चार्डपर्व नजिकिएसगैँ ठूला उद्योगीले आफूखुशी मूल्य बढाउनु र विभागको प्रभावकारी बजार अनुगमन नहुँदा कालोबजारी र मूल्य बृद्धि बढेको उनको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.