प्रदेश २ मा घरजग्गा रजिष्ट्रेसनमार्फत साढे १ अर्ब राजश्व संकलन, औद्योगिक सम्भावना पनि बलियो

  २०७८ भदौ १३ गते १७:१६     विकासन्युज

काठमाडौं । प्रदेश २ मा घरजग्गा रजिष्ट्रेसनमार्फत साढे ३१ प्रतिशत बढी राजश्व वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका अनुसार गत आर्थिक वर्षमा प्रदेश दुईमा घरजग्गा रजिष्ट्रेसनमार्फत राजश्वमा ३१.६२ प्रतिशतको वृद्धि भएको हो ।

समीक्षा अवधिमा समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा ९.४५ प्रतिशतले वृद्धि भई ९९ हजार १ सय ५१ पुगेको नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्यामा ५.०२ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा घर जग्गा रजिष्ट्रेशन राजस्व ३१.६२ प्रतिशतले वृद्धि भई रु.१ अर्ब ४१ करोड पुगेको छ । कोभिड– १९ रोकथाम गर्न लगाइएको बन्दाबन्दीका कारण बन्द रहेका मालपोत कार्यालयहरु बन्दाबन्दी पश्चात खुल्न गई घरजग्गा रजिष्ट्रेशनमा भएको वृद्धिले गर्दा यस्तो राजस्वको वृद्धिदर उच्च रहन गएको हो । समीक्षा अवधिमा नक्शा पास स्वीकृत संख्यामा ४.५२ प्रतिशतले कमी आई १ हजार ८ सय ६० रहन गएको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १ हजार ९ सय ४८ रहेको उल्लेख गरिएको छ ।

समीक्षा अवधिमा प्रदेश नं.२ मा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ४.२८ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा १.६९ प्रतिशत र मसला बालीले ढाकेको क्षेत्रफलमा १.२९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

यस्तै, समीक्षा अवधिमा अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४४.८५ प्रतिशत रहेको छ । २०७७ पुस मसान्तमा प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक कर्जा अन्तर्गत ९३ अर्व २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जाको ३०.२० प्रतिशत हुन आउँछ ।

अध्ययनले प्रदेश दुईमा औद्योगिम सम्भावना पनि राम्रै रहेको उल्लेख गरेको छ । कृषियोग्य भूमिको उपलब्धता, यातायात लगायतका पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता तथा वैदेशिक व्यापारको लागि प्रस्थान विन्दु समेत भएको कारणले यस प्रदेशमा कृषिका अतिरिक्त औद्योगिक क्षेत्रको विकासको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.