बीमा कम्पनीहरुलाई समितिको पत्रः निर्देशन हुबहु लागू गर्नुहुन्छ कि कारबाही भोग्ने ?

  २०७८ भदौ १३ गते १३:५४     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ट्यारिफ विजनेसमा अस्वस्थ प्रतिस्पर्धा गरेपछि बीमा समितिले कारबाहीको चेतावनी दिएको छ ।

समितिले तोकेका दरमा फरक पारेर अस्वस्थ प्रतिस्पर्धा गरेको फेला पारेपछि समितिले कम्पनीहरुलाई पत्राचार गरी कारबाहीको चेतावनी दिएको हो । समितिले तोकेको दरमा फरक पारेमा बीमा ऐन अनुसार कारबाही हुने पत्रमा उल्लेख गरिएको छ ।

कतिपय निर्जीवन बीमा कम्पनीहरुले ट्यारिफ विजनेसमा दर फरक पार्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ने गरेको पाइएपछि पत्र पठाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘कतिपय निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा, मोटर बीमा जस्ता ट्यारिफ विजनेसमा अस्वस्थ्य प्रतिस्पर्धा गरेको भेटियो, कतिपयले क्यासब्याक जस्ता अफर गरेर दर नै परिर्वतन गर्ने गरेको पनि पाइयो, यस्तो तथ्य फेला परेपछि समितिले तोके अनुसार दर हुबहु लागू गर्न गराउन हामीले पत्राचार गरेका छौं,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

समितिले गत साउन पहिलो साता नै कम्पनीहरुलाई यस्तो पत्र पठाएको थियो । समितिको पत्र प्राप्त भएपछि निर्जीवन बीमा कम्पनीहरुकाे संस्था नेपाल बिमक संघले नै संस्थागत रुपमा छलफल गरेको थियो ।

संघको छलफलमा समितिले तोके अनुसारको दर हुबहु लागू गर्ने सहमति भएर सोही अनुसार समितिमा पत्राचार गरिएको एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘बीमा समितिले तोकेको भन्दा दर फरक गरी अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै समितिले पत्राचार गरेको थियो, यस्तो पत्रको बारेमा हामीले संस्थागत छलफल गरेर नै समितिलाई संस्थागत रुपमै आश्वस्त पार्दा उचित हुन्छ भन्ने लाग्यो, त्यसो भएपछि हामीले संघको बैठक बसेर ट्यारिफ विजनेसनमा समितिले तोकेका दर हुबहु लागू गर्ने प्रतिबद्धता जनाएर पत्र पठाएका छौं,’ ती प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने ।

संघले पत्र पठाएको भएपनि समितिले स्थलगत निरीक्षण गरी सोको अध्ययन गर्ने समितिले जानकारी दिएको छ ।

‘संघको तर्फबाट पत्र आएको छ, अब हामी सो विषयलाई स्थलगत अध्ययनको क्रममा गम्भीरतापूर्वक हेर्छौं, दरमा फरक पारिएको फेला पर्यो भने बीमा ऐनको व्यवस्था अनुसार कारबाही हुन्छ, जुन कुरा हामीले पत्र पठाएकै बेलामा पनि स्पष्ट पारिसकेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.