१३ कम्पनीको एक अर्बको बोनस सेयर दर्ता, सबैभन्दा बढी लगानी कोषको (कसको कति ?)

  २०७८ भदौ ७ गते १७:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएसँगै नेपाल धितोपत्र बोर्डमा १३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७८/७९ शुरु भएयता विभिन्न १३ कम्पनीको एक अर्ब रुपैयाँ बढीको सेयर बोर्डमा दर्ता भएको हो ।

गत साउन ३ गतेदेखि एक महिनाको अवधि (हालसम्म) मा कूल एक करोड ७ लाख १९ हजार ७५ कित्ता बोनस सेयर दर्ता भएका छन् । उनीहरुले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर दर्ता गराएका हुन् ।

नेप्सेमा सूचीकृत विभिन्न समूहमध्ये हालसम्म माइक्रोफाइनान्स, इन्स्योरेन्स, फाइनान्स, हाइड्रो र अन्य समूह अन्तर्गतका केही कम्पनीको मात्रै सेयर दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी माइक्रोफाइनान्स अर्थात लघुवित्त समूहका रहेका छन् ।

बोनस दर्ता गराएका १३ कम्पनीमध्ये ८ कम्पनी माइक्रोफाइनान्स समूह अन्तर्गतका रहेका छन् । त्यस्तै, फाइनान्सका १, हाइड्रोका १, अन्य समूहका १ र बीमा समूहका २ कम्पनी कम्पनीले आव २०७६/७७ को बोनस सेयर दर्ता गराएका हुन् ।

८ माइक्रोफाइनान्स कम्पनी, कसको कति ?
फर्वाड माइक्रोफाइनान्सले अघिल्लो आवको २५ प्रतिशत बोनस सेयर दर्ता गराएको हो । कम्पनीले गत साउन ३ गतेनै सो मात्रा अर्थात १२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता गराएको हो ।

त्यस्तै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजीको १४ प्रतिशत अर्थात ८ करोड २१ लाख रुपैयाँ बराबरको बोनस दर्ता भएको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाले पनि गत साउन ३ गते नै अघिल्लो आवको बोनस सेयर दर्ता गराइसकेको छ । संस्थाले सो आवको चुक्ता पुँजीको १२ प्रतिशत अर्थात १ लाख ४६ हजार ८९ कित्ता अर्थात एक करोड ४६ लाख ८ हजार ९०१ रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको हो ।

त्यसैगरी, सबैको लघुवित्त वित्तीय संस्थाको १०.५० प्रतिशत अर्थात एक करोड ९५ लाख ७७ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । कम्पनीले गत साउन ११ गते सो मात्राको बोनस सेयर दर्ता गराएको हो ।

त्यसैगरी, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको १ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएका छन् । संस्थाले गत साउन २२ गते आर्थिक वर्ष २०७६/७७ को ८.१३ प्रतिशत बोनस सेयर दर्ता भएको हो ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाको पनि सोही आवको १५.३५ प्रतिशत अर्थात ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता भएको छ ।

त्यस्तै, स्वावलम्बन नेरुडे लघुवित्त वित्तीय संस्थाको क्रमशः १९.०१ र ८ प्रतिशत बोनस सेयर दर्ता भएका छन् । जसमध्ये स्वावलम्बन लघुवित्तको १५ करोड ६ लाख ६१६ रुपैयाँ र नेरुडेको ३ करोड ६५ लाख ८३ हजार ५२४ रुपैयाँ बराबरको बोनस सेयर रहेका छन् ।

२ इन्स्योरेन्सको १३ करोड ९२ लाख रुपैयाँको

चालु आवमा बोनस सेयर दर्ता गर्नेमा हालसम्म दुई इन्स्योरेन्स रहेका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आव शुरुभएसँगै अघिल्लो आवको बोनस सेयर दर्ता गरेका हुन् । उनीहरुले कूल १३ करोड ९२ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर दर्ता गराएका छन् ।

जसमध्ये सबैभन्दा बढी प्रुडेन्सियल इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सले सोही आवको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत अर्थात ८ लाख २१ हजार १४५ कित्ता बोनस सेयर दर्ता गराएको हो ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको पनि सोही आवको ५ प्रतिशत अर्थात ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरका ५ लाख ७० हजार ९०० कित्ता बोनस सेयर दर्ता भएको हो ।

फाइनान्स समूहमध्ये रिलायन्स फाइनान्सको बोनस सेयर बोर्डमा दर्ता भएको छ । बोर्डमा फाइनान्सको १० प्रतिशत अर्थात ८ करोड ३२ लाख १४ हजार ६०६ रुपैयाँ बराबरको बोनस दर्ता भएको हो । संस्थाले अघिल्लो आवको सो मात्राको सेयर गत साउन ७ गते बोर्डमा दर्ता गराएको हो ।

हाइड्रो समूह अन्तर्गतको राधी विद्युत कम्पनीको ३६.५० प्रतिशत बोनस सेयर दर्ता भएको छ । संस्थाले गत साउन १४ गते अघिल्लो आवको १७ करोड २८ लाख ४८ हजार १२२ रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता गराएको हो ।

सबैभन्दा बढी लगानी कोषको
साथै, अन्य समूह अन्तर्गतको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (नागरिक लगानी कोष) ले पनि अघिल्लो आवको बोनस सेयर गत साउन २८ गते दर्ता गराएको छ । कम्पनीको ९ प्रतिशत अर्थात २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता बोनस सेयर दर्ता भएको हो । जुन चालु आवमा हालसम्म दर्ता गराएकामध्ये सबैभन्दा बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.