मासिक ३ लाख पेन्सन बाढ्न थाल्यो सामाजिक सुरक्षा कोष, २ महिना योगदान गरेका परिवारले पनि पाउँदै

  २०७८ साउन १४ गते ११:३३     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषबाट नियमित पेन्सन पाउनेको संख्या ३३ पुगेको छ । कोषमा आवद्ध भएका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवार गरी सो संख्यामा पेन्सन पाउन थालेका हुन् ।

कोषका अनुसार २ महिना (दुई किस्ता) मात्रै कोषमा रकम योगदान गरेका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवारले पेन्सन पाइरहेका छन् । यस्तै, योगदानकर्ताको सन्ततिले शैक्षिक बृत्ति अन्तरगतको सुविधा पनि पाइरहेका छन् ।

कोषले दिएको जानकारी अनुसार योगदानकर्ता प्रकाश तामाङ मोक्तानले कोषमा २ महिना मात्रै योगदान गरेका थिए । उनको निधनपछि कोषले २०७६ असोजदेखि उनका बाबु आमालाई ‘आश्रित बाबु आमाले पाउने सुविधा’ अन्तरगत मासिक १० हजार २ सय रुपैयाँ रकम दिइरहेको छ ।

यस्तै, २ महिना मात्रै रकम योगदान गरेका रुपेन्द्र थापाकी श्रीमतीले पनि कोषबाट मासिक पेन्सन पाउँदै आएकी थिइन् । योगदानकर्ता थापाको निधनपछि उनकी श्रीमतीले २०७६ असोजदेखि मासिक १७ हजार १ सय रुपैयाँ पेन्सन पाउँदै आएकी थिइन् । थापाकी श्रीमतीको पनि केही समय अघि निधन भइसकेको छ ।

कोषका योजना अनुसार योगदानकर्ताका परिवारले लाभ प्राप्त गरिरहेको कोषको तथ्यांकले देखाएको छ । कोषका अनुसार योगदानकर्ता अनिता रिजालको निधनपछि उनका श्रीमान्ले २०७७ असारदेखि मासिक २३ हजार ५२२ रुपैयाँ र उनका एक सन्तानले शैक्षिक वृत्ति योजना अनुसार मासिक १५ हजार ६८२ रुपैयाँ पाउँदै आएका छन् । रिजालले कोषमा ११ महिना योगदान गरेकी थिइन् ।

योगदानकर्ता आइतसिंह लोप्चनको निधनपछि उनकी श्रीमतीले २०७६ पुसदेखि मासिक १४ हजार २०५ रुपैयाँ पेन्सन पाइरहेकी छन् । लोप्चनले कोषमा ५ महिनाको रकम योगदान गरेका थिए । अर्का योगदानकर्ता उत्तरबहादुर थिङको निधनपछि उनकी श्रीमतीले मासिक १२ हजार ३ सय ९० रुपैयाँ पेन्सन पाइरहेकी छिन् । थिङले कोषमा जम्मा ४ महिना मात्रै कोषमा रकम जम्मा गरेका थिए ।

अर्का योगदानकर्ता कामेश्वर यादबको निधन भएपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ५ हजार ८२० रुपैयाँ पेन्सन पाइरहेकी छन् । यादबले कोषमा १५ महिनाको रकम जम्मा गरेका थिए ।

कोषमा १२ महिना मात्रै रकम जम्मा गरेका तेजबहादुर शाक्यको निधनपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ८ हजार ९७४ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ४ किस्ता मात्रै रकम योगदान गरेका दलबहादुर खड्काकी श्रीमतीले मासिक ४ हजार ८७७ रुपैयाँ पेन्सन लिइरहेकी छन् भने उनका २ सन्तानले मासिक ४ हजार ८७७ रुपैयाँ नै शैक्षिक बृत्ति वापतको रकम पाइरहेका छन् ।

कोषमा १७ महिना योगदान गरेका ध्रुवकुमार कार्कीको निधन भएपछि उनकी श्रीमतीले २०७७ पुसदेखि कोषबाट मासिक ८ हजार ८९२ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ७ महिना योगदान गरेका निर्मल कुमार थापाको निधनपछि उनकी श्रीमतीले मासिक ५ हजार १ सय रुपैयाँ पेन्सन र उनका एक सन्ततिले मासिक ३ हजार ४ सय रुपैयाँ शैक्षिक बृत्तिवापत पाइरहेका छन् ।

कोषले अहिले मासिक ३ लाख ४ हजार रुपैयाँभन्दा बढी आश्रित परिवारलाई पेन्सन र सन्ततिलाई शैक्षिक वृत्ति वापतको रकम दिइरहेको छ । यो संख्या बढिरहेको कोषले जानकारी दिएको छ । कोषका अनुसार थप ३७ जना योगदानकर्ताको आश्रित परिवार कोषबाट सुविधा लिने प्रक्रियामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.