सेयर बजारमा रेकर्ड ब्रेक, बैंकिङ्ग समूहमा देखिन थाल्यो रौनक

  २०७८ साउन १० गते १५:४१     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार नयाँ उचाईमा पुगेको छ । आज कारोबार खुलेदेखि उकालोको बाटो तय गरेको बजारले अन्ततः यसअघिको रेकर्डलाई पछि पार्दै नयाँ कीर्तिमान राख्न सफल भएको छ ।

बजारमा नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ बिन्दुमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.८१ प्रतिशतले बढी हो भने हालसम्मकै दैनिक क्लोजिङ्को ऐतिहासिक बिन्दु हो ।

तर, यो बिन्दु दैनिक क्लोजिङ्को ऐतिहासिक भएपनि नेपाली पुँजीबजारको ऐतिहासिक बिन्दु भने होइन । किनभने यसअघि गत असार १ गतेको बजारमा (इन्ट्राडे मै) नेप्से परिसूचक ३०६४.०७ बिन्दुको उचाईसम्म पुगेको थियो । तर, पछि कारोबार बन्द हुँदा भने परिसूचक ३०२२.११ बिन्दुमा फर्केकाे थियाे ।

एक महिना यताकै उच्च कारोबार

आजको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन २२३ कम्पनीको १४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत एक महिना यताकै उच्च कारोबार हो भने अघिल्लो कारोबारको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँले बढी हो । गत एक महिना अघि अर्थात असार २ गतेको बजारमा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता हालसम्म सो मात्राको सेयर किनबेच भएको थिएन ।

बढी कारोबार गर्नेको टप टेनमा अधिकांश वाणिज्य बैंक

पछिल्लो समय बजारमा बैंकिङ्ग समूहमा रौनक देखिन थालेसँगै कारोबार रकममा टेवा पुगेको छ । आइतबार बढी कारोबार गर्नेको टप टेनमा अधिकांश वाणिज्य बैंक रहेका छन् । उक्त सूचीमा वाणिज्य बैंक मात्रै ७ वटा रहेका छन् । जसमध्ये पनि तीन वाणिज्य बैंक बढी कारोबार गर्नेको शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंकको ४९ करोड ७६ लाख, ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख र एनसीसी बैंकको ३४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एशिया, प्रभु, कुमारी र मेगा बैंक पनि बढी कारोबार गर्नेको टप टेनमा रहेका छन् । जसको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, बजारमा ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.