वार्षिक २ खर्ब १७ अर्ब डलरको कोभिड खोप बजार, नेपाल नै ७३ अर्ब ७८ करोड रुपैयाँको

  २०७८ असार २७ गते १२:२०     विकासन्युज

काठमाडौं । सन २०१९ को अन्तिम महिनादेखि देखापरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप तयार भइसकेको छ ।

खोप निर्माणमा विश्वका महाशक्ति देश अमेरिकादेखि बेलायत, रसिया, भारत, चीन, दक्षिण कोरिया जस्ता देशहरु खोप निर्माण गरिरहेका छन् । भारत र कोरियाले अक्सफोर्ड विश्वविद्यालयको एस्ट्रेजेनेकाको खोप उत्पादन गरिरहेका छन् भने अन्य देशले आफ्नै खोप बनाइरहेका छन् ।

अहिले विश्वभर फाइजर बायोटेक, मोडेर्ना, एस्ट्रेजेनका (कोभिशिल्ड लगायत), जोन्सन एण्ड जोन्सन, स्पुतनिक–५, सिनोभ्याक्स (भेरोसेल), नोभाभ्याक्स र भारत बायोटेकका खोप प्रयोगमा छन् ।

कोभिड महामारीले विश्वमा ठूलो परिमाणको जनधनको क्षति पुर्याइसकेको छ । कोभिड महामारीबाट मुक्ति पाउने एकमात्र उपाय यस विरुद्धको खोप हो भन्नेमा अब दुईमत छैन ।

तर, खोप खरिदका लागि ठूलो परिमाणको धनराशी खर्च गर्नुपर्ने बाध्यता पनि आइलागेको छ । खोप उत्पादक कम्पनीहरुमध्ये केहीले अझै पनि खोपको मूल्य सार्वजनिक गरिरहेका छैनन् । संसारभरकै सरकारहरु खोप किनेर आफ्ना नागरिकलाई लगाउन हतारिएका भएपनि खोपको उपलब्धता र मूल्यमा पारदर्शिता नभएको कारण अन्योलको अवस्था कायमै छ ।

कोभिड विरुद्धको खोपमध्ये केहीको दुई मात्रा र केहीको एक मात्रा लगाए पुग्ने बताइएको छ । एक पटक मात्रा पुर्याएर खोप लगाएपछि फेरि कति समयपछि खोप लगाउनु पर्छ वा दोहोर्याउनै पर्दैन भन्ने बारेमा पनि यकिन भइसकेको छैन ।

विश्व बजार २ खर्ब १७ अर्ब डलरको

पपुलेसन म्याटर्स डट ओआर्जीका अनुसार अहिले विश्वको जनसंख्या ७ अर्ब ८८ करोड ४९ लाख भन्दा बढी छ । यस्तै, स्टाटिस्टा डटकमका अनुसार १४ वर्षभन्दा कम उमेरको जनसंख्या १ अर्ब २ करोडको हाराहारीमा छ ।

कोभिड विरुद्धको खोप १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई मात्रै लगाइएको छैन । यो तथ्यांकलाई हेदा विश्वको करिब ७ अर्ब मानिसलाई कोभिड विरुद्धको खोप लगाउनु पर्ने देखिन्छ ।

बायोस्पेस डटकमले अहिले लगाइरहेको कोभिड विरुद्धका खोपको मूल्य उल्लेख गरेको छ । बायोस्पेस डटकमका अनुसार फाइजरको मूल्य प्रतिडोज १९.५ अमेरिकी डलर, मोडेर्नाको प्रतिडोज २५ देखि ३८ (औसतमा ३१) डलर, एस्ट्रेजेनेकाको प्रतिडोज ५ डलर, जोन्सन एण्ड जोन्सनको प्रतिडोज १० डलर, स्पुतनिक–५ को प्रतिडोज १० डलर, सिनोभ्याक्स (भेरोसेल) को प्रतिडोज ३० डलर र भारत बायोटेकको प्रतिडोज २ अमेरिकी डलर मूल्य रहेको छ ।

यीमध्ये जोन्सन एण्ड जोन्सनको एक डोज मात्रै खोप लगाए पुग्छ भने अन्य सबै खोप २ डोज लगाउनु पर्छ । एक डोजका दरले मात्रै हिसाब गर्दा पनि विश्वभरका करिब ७ अर्ब मानिसलाई कोभिड विरुद्धको खोप लगाउन १४ अर्ब डोज खोप चाहिन्छ, जसको मूल्य करिब २ खर्ब १७ अर्ब अमेरिकी डलरभन्दा बढी हुन आउँछ । खोपको मूल्य प्रतिडोज औसतमा ३१ अमेरिकी डलरका दरले हिसाब गर्दा २ खर्ब १७ अर्ब अमेरिकी डलर बराबर निस्किएको हो ।

नेपाल नै ७३ अर्ब रुपैयाँको बजार

केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या करिब ३ करोड छ । यसमध्ये १४ वर्षभन्दा कम उमेर समहुको जनसंख्या करिब ९२ लाख छ । करिब २ करोड जनतालाई प्रतिडोज ३१ अमेरिकी डलरका दरले किनेर दिने हो भने ६२ करोड डोज खोप आवश्यक पर्छ ।

यो खोपको मूल्य प्रतिडोज ३१ अमेरिकी डलरका दरले आजको विनियमदर (प्रतिडलर ११९ रुपैयाँ) अनुसार ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुन आउँछ । तर, नेपालले विभिन्न मित्रराष्ट्र तथा छिमेकी दशहरुबाट सित्तैमा पाएको र कोभ्याक्स सुविधा अनुसार पनि निःशुल्क खोप पाएकोले सो बराबरको रकम खर्च गर्नु नपर्ने हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.