भारत–नेपालबीच रेल सेवा सम्झौता पत्रमा हस्ताक्षर, तेस्राे मुलुकबाट सामान ल्याउन सजिलाे हुने

  २०७८ असार २६ गते ९:२७     विकासन्युज

काठमाडाैं । नेपाल र भारत सरकारबीच शुक्रबार ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच भर्चुअल कार्यक्रममा सो हस्ताक्षर भएको हो ।

भारतका तर्फकाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले तथा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नेतृत्व गरेका थिए ।

‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालकलगायत सबै अधिकार प्राप्त कार्गाे रेल सञ्चालक नेपाल आउन सक्नेछन् ।

कन्टेनरमा भारत र नेपालबीच मालसामान ओसारपसार हुने र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने बताइएको छ ।

यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नाका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाउनेछ ।

यो आदानप्रदानपत्रमा हस्ताक्षरपछि भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालवाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्नेछन् ।

मापदण्ड र प्रक्रियाअनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका मालडिब्बाले भारतीय रेल सञ्जाल (कलकत्ता/हल्दियादेखि विराटनगर/वीरगञ्ज रुट) मा नेपाल आउने मालसामान बोक्न पाउनेछन् ।

पत्रले भारत–नेपाल रेल सेवा सम्झौताका अन्य थुप्रै पक्षलाई अद्यावधिक गर्नाका साथै भारतीय र नेपाली रेल्वेका परिचालन र पूर्वाधारसम्बन्धी नवीन पक्षलाई पनि समेट्छ ।

‘छिमेकी पहिलो’ नीतिअन्तर्गत क्षेत्रीय ‘कनेक्टिभिटी’ विस्तार गर्न हेतुले यो प्रयास गरिएको भारतीय दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.