कोरोनाका कारण नेपाल आउने विदेशी पर्यटक घटे, तर लम्बियो बसाई अवधि

  २०७८ असार १६ गते ११:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छन् । सन् २०१९ को तुलनामा सन् २०२० मा मात्र करिब ८० प्रतिशतले विदेशी पर्यटक घटेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोरोना महामारीसगैँ विदेशी पर्यटक घट्न थालेका हुन । उक्त तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई मार्ग हुँदै ८१.६ प्रतिशत तथा स्थल मार्ग हुँदै ७६.७ प्रतिशतले विदेशी पर्यटक घटेका हुन् ।

सन् २०२० मा हवाईमार्गहुँदै एक लाख ८३ हजार १३० जना र स्थलमार्ग हुँदै ४६ हजार ९५५ गरी एक वर्षमा दुई लाख ३० हजार ८५ जना नेपाल भित्रिएका हुन । सन् २०१९ मा हवाई मार्ग हुँदै नौ लाख ९५ हजार ८८४ जना तथा स्थलमार्ग हुँदै दुई लाख १ हजार ३०७ जना विदेशी नेपाल भित्रिएका थिए ।

सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई मार्गबाट आउने पर्यटकमा ८१ दशमलव ६ र स्थलमार्गबाट आउने पर्यटकमा ७६ दशमलव ७ प्रतिशतले कमी आएको छ ।

गत वर्ष १ लाख २४ हजार ४८ पुरुष र १ लाख ६ हजार ३७ महिला पर्यटक आएका थिए। अघिल्लो वर्ष ६ लाख २६ हजार ८ सय ६६ पुरुष र ५ लाख ७० हजार ३ सय २५ महिला पर्यटक नेपाल आइपुगेका थिए ।

मन्त्रालयका अनुसार २०२० मा नेपाल आएकामध्ये सबैभन्दा धेरै भारतबाट आएका थिए। भारतबाट ४० हजार ३ सय ६६ जना आएका थिए ।
त्यसपछि म्यानमार, थाइल्यान्ड, चीन र अमेरिकाबाट धेरै पर्यटक आएका थिए। भारतबाहेक तेस्रो मुलुकबाट गत वर्ष १ लाख ८९ हजार ७ सय ४९ पर्यटक आएका थिए ।

पर्यटन मन्त्रालयका अनुसार बिदा मनाउन १ लाख ३९ हजार २ सय २, धार्मिक यात्राका लागि २८ हजार ५ सय ३०, पदयात्रा तथा पर्वतारोहणका लागि ३५ हजार ८ सय ९३ र अन्य उद्देश्यले २६ हजार ४ सय ६० पर्यटक नेपाल आएका थिए ।

बसाई दर लम्बियो

पर्यटक आगमन घटे पनि उनीहरूको नेपाल बसाइ दर भने लम्बिएको देखिएको छ । सन् २०२० मा नेपाल आएका पर्यटकको औसत बसाइ दर १५.१ दिन रहेका छ । सन् २०१९ मा बसाई अबधि १२.७ दिन थियो । सन् २०१९ को तुलनामा ३.६ दिन बसाई अबधि लम्बिएको छ ।

बढी यात्रु बोक्ने निगम

२०२० मा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने वायुसेवा कम्पनीमध्ये सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम पहिलो नम्बरमा परेको छ । त्यसपछि क्रमशः कतारको कतार एयरवेज, दुबईको फ्लाई दुबई, भारतको एयर इन्डिया र सारजहाँको एयर अरेबियाले बढी पर्यटक ल्याएका थिए।

सन् २०१९ मा समेत सबैभन्दा धेरै यात्रु बोक्ने पहिलो नम्बरमा निगम नै रहेको थियो ।

५७ वर्षमा करिब २ करोड विदेशी भित्रिए

नेपालमा ५७ वर्षकोे अवधिमा करिब दुई करोड विदेशी पर्यटक भित्रिएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् १९६५ देखि २०२० को अवधिमा विभिन्न देशबाट १ करोड ९३ लाख ९३ हजार ८७२ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

उक्त अवधिमा जहाजबाट १ करोड ५६ लाख १० हजार ९२७ र स्थल मार्गबाट ३७ लाख ८२ हजार ९४५ आएका थिए । नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १९१ आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.