दैनिक ३० केजी सुन बिक्री वितरण गर्ने व्यवस्था मिलाउन महासंघको माग

  २०७८ असार ८ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० केजी सुन बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । महासंघले हाल बिक्री वितरण भइरहेको सुनको परिमाणलाई बढाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको हो ।

महासंघका अनुसार हालसम्म दैनिक २० केजी सुन बिक्री वितरण हुँदै आएको थियाे । लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड-पर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री-वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै महासंघले बैंक समक्ष उक्त अनुरोध गरेको हो ।

साथै, गहना व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने हुँदा सोको लागि सम्बन्धित निकायमा निर्देशन हुन महासंघले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै असार ८ गतेदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि सञ्चालनमा आएका छन् ।

यसअघि कोभिड-१९ को नियन्त्रणको क्रममा विगत २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.